पार्टीभित्रकाे गुटबन्दीले कार्यकर्ता उपेक्षामा परे : गच्छदार

विराटनगर । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले न्यायालय स्वतन्त्र हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन माेरङले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा उनले न्यायालयका बारेमा चिन्ता व्यक्त गरेका छन् ।

हाम्रो संविधानले शक्ति पृथकीकरणको सिद्धान्तअनुसार न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाबीचको शक्ति सन्तुलनको स्पष्ट व्यवस्था गरेको उनले बताए ।

‘प्रधानन्यायाधीशको भूमिकामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतकै बहालवाला न्यायाधीशहरू र कानून व्यवसायीहरूले जारी राखेका गतिविधिले पनि उपरोक्त विषयलाई अझ प्रष्ट गरिरहेकै छ,’ उनले भने, ‘जसलाई सामान्य घटना भनेर मान्न सकिँदैन । सर्वोच्च न्यायालय आज यसरी सार्वजनिक बहस र सडक प्रदर्शनको विषय बन्दा कसैलाई पनि हर्ष लागेको छैन होला । यो पक्कै पनि दुःखलाग्दो कुरा हो ।’

शक्ति सन्तुलनको संवैधानिक व्यवस्थामा कार्यपालिकाको तर्फबाट अनावश्यक दखल र हस्तक्षेप गरिएकाले यस किसिमको समस्या आएको भनेर टिप्पणी गर्नेहरू पनि भएकाले संवैधानिक अंगहरूमा भएका नियुक्तिमा गरिएका राजनीतिक त्रुटी पनि यसको एउटा कारण भएकाे उनले बताए ।

गच्छदारले संवैधानिक अङ्गहरूलाई स्वतन्त्र रुपमा व्यवसायिक कार्य गर्ने क्रममा कतैबाट पनि हस्तक्षेप हुनु नहुने बताए । पछिल्लो निर्वाचनपछि बनेको बलियो सरकारले यस मान्यताको उल्लंघन गरेको उनकाे आराेप छ ।

उनले अहिलेकाे अवस्था आउनुमा दलहरू नै दाेषी रहेकाे बताउँदै नागरिकको समस्यामा दलहरू गम्भीर हुन आग्रह गरेका छन् । ‘सबै दलका नेताहरूसँग मेरो अपील छ, कुनै बाधा‚ व्यवधान छन् भने पनि संविधान संशोधन गरेर भए पनि जनताका उचित मागहरूको सम्बोधन हुनुपर्छ,’ उनले भने, ‘जनतालाई संवैधानिक अधिकारबाट वञ्चित गरिनुहुँदैन । कतिपय क्षेत्रका जनताले सहर्ष आत्मसात् नगरेको संविधान कसरी जनताको संविधान बन्न सक्छ भनेर कसैले प्रश्न गर्दा हामी सबैको मुख बन्द हुने अवस्था रहिरहनु हुँदैन भन्ने मेरो धारणा हो ।’

विधान कार्यकर्तालाई उपेक्षा
विधान मिचेर काखापाखाकाे व्यवहार भएको आराेप लगाएका गच्छदारले विधानविपरीत जाँदा कांग्रेस बलियो नहुने बताए । यसका साथै उनले पार्टीले आफ्ना कार्यकर्तालाई उपेक्षा गरेकाे आरोप लगाए ।

‘नेतृत्व चयन प्रक्रियाप्रति असन्तोष र गुनासो पनि उत्तिकै प्रकट भइरहेको छ,’ उनले भने, ‘पार्टीको विधान, नियमावली र निर्देशिकालाई एकातिर पन्छाएर खासखास व्यक्तिको रुचि र छनौटलाई आधार मानेर स्थानीय तहमा नेतृत्व चयन गरिएको देखिन्छ ।’ जहाँ आफ्नै पार्टीका कार्यकर्ताहरूलाई नै काखापाखाको पूर्वाग्रही व्यवहार गरिएको उनकाे भनाइ छ ।

उनले नेपाली कांग्रेसको वर्तमान विधान, नियमावली र निर्देशिका नै एकाङ्गी, खास उद्देश्यबाट प्रेरित र पूर्वाग्रही रहेको भनेर गरिँदै आएको विरोधको पुष्टि भएको देखिएकाे बताए ।

‘खास समूहलाई लक्षित गरी जथाभावी चलाइँदा पार्टीको विधानको स्वरुप नै आज उँटजस्तो बन्न पुगेको भनेर स्थानीय नेता कार्यकर्ताले टिप्पणी गरेको सुन्नुपरिरहेको अवस्था छ,’ गच्छदारले भने, ‘कुनै स्वार्थ समूहको निहीत स्वार्थमात्र पूरा हुनेगरी विधान, नियमावली र निर्देशिका संशोधन हुँदा त्यसले सिंगो पार्टीलाई हानी गरिरहेको भन्ने कुरातर्फ नेतृत्त्ववर्ग अकर्मन्य र उदासीन भइरहेको पाइएको छ ।’

आफ्नो स्वार्थ अनुकूलका प्रावधानहरु विधानमा अनावश्यक तवरले राखिएर निष्ठावान कार्यकर्ताहरूलाई पार्टीको तहगत निर्वाचनमा भाग लिनबाट वञ्चित गर्ने उद्देश्यले विधानमा राखेको व्यवस्था पार्टी पंक्तिभित्र अत्यन्त नै आलोचनाको विषय बनेको बताए ।

‘गहिरो बन्दै गएको गुटबन्दीले पार्टीलाई दिनदिनै कमजोर बनाउँदै लगेको पक्षलाई बिर्सन मिल्दैन,’ उपसभापति गच्छदारले भने, ‘विद्यमान विधानलाई व्यापक छलफलबाट परिमार्जन गरिएन भने यसले गुटबन्दीको समस्यालाई थप गहिरो बनाउँदै लाने निश्चित छ । जसले पार्टीलाई कदाचित पनि हित गर्नेछैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *