बाढी-पहिरो प्रभावित जिल्लालाई सङ्कटग्रस्त जिल्ला घोषणाका लागि पहल गर्छु : गृहमन्त्री खाण

बझाङ । कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाणले बाढी-पहिरो प्रभावित जिल्लालाई संकटग्रस्त जिल्ला घोषणाका लागि पहल गर्ने बताएका छन् । बाढीपहिरोले पुर्‍याएको क्षतिको निरीक्षण गर्न सुदूरपश्चिमका बाढी प्रभावित जिल्लामा पुगेका गृहमन्त्री खाणले बताएका हुन् ।

बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको जिल्ला बझाङ पुगेका बेला उनले बझाङसहित सुदूरपश्चिमका डडेल्धुरा र बैतडी जिल्लालाई सङ्कटग्रस्त जिल्ला घोषणा गर्न पहल गर्ने बताए । उनले यी जिल्लाहरूलाई तत्कालै सङ्कटग्रस्त जिल्ला घोषणा गरी पूर्वाधार निर्माणमा जोड दिइने बताए ।

उनले प्रधानमन्त्री विदेशबाट फर्केपछि मन्त्री परिषद्को निर्णयबाट तीन जिल्लालाई विपद्‌ग्रस्त क्षेत्र घोषण गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे ।

हेलिकप्टरमार्फत बझाङ पुगेका मन्त्री खाँणले खप्तड छान्नाको ऐचेली बगरमा बाढीपहिरोबाट प्रभावित स्थानीय नागरिकसँगको भेटका क्रममा यहाँ पुर्‍याएको क्षतिले आफू निकै स्तब्ध भएको बताए ।

उनले प्रभावित परिवारलाई तत्काल राहत लिन प्रक्रिया पुर्‍याएर प्रमुख जिल्ला अधिकारीमार्फत राहत लिनसमेत आग्रह गरे ।

बाढी-पहिरो पीडित नागरिकलाई तत्काल सरकारले राहतका कार्यक्रम ल्याउन कुनै पनि कसर बाँकी नराख्ने बताए ।

गृहमन्त्री खाणले मृतक परिवारका साथै घरसमेत पहिरो तथा बाढीबाट नष्ट भएका परिवारका लागि तत्कालै सरकारले प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णयसमेत गरिसकेकाले सो रकम लिनका लागि स्थानीयलाई आग्रह गरे ।

उनले बुधबार जिल्लाको खप्तड छान्ना गाउँपालिका र थलारा गाउँपालिकामा भएको बाढी पहिरोले पुर्‍याएको क्षतिको निरीक्षण गरे ।

असोज ३१ गते देखि कात्तिक ३ गतेसम्म भएको बाढी पहिरोबाट जिल्लामा १२ जनाको मृत्यु भएको थियो भने १९ जना बेपत्ता भएका थिए ।

बाढी पहिरोबाट सयौँ हेक्टर जमिन बगरमा परिणत भएको छ भने एक सयभन्दा बढी परिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *