एमसीसी पास हुन्छ : प्रधान मन्त्री देउवा
काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसद्बाट प्रक्रिया पूरा गरेर पास हुने बताएका छन् । बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका पत्रकारसँग कुरा गर्दै उनले एमसीसी ऋण नभई अनुदान भएकाले यसलाई प्रक्रिया पूरा गरेर अगाडि बढाउने बताएका हुन् ।
प्रधान मन्त्री देउवाले एमसीसीलाई नआत्तिन आग्रह गरेको बताएका छन् । पत्रकारको जिज्ञासा देउवाले भने, ‘सहमति गरेर हामी एमसीसी हामी पास गर्छौँ, संसद् अधिवेशन अर्कै कारणले बन्द गरेका हौँ, आत्तिन पर्दैन भनेको छु ।’
बेलायतमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)की डेपुटी सीईओ एलेक्सिया लाटोर्टुले प्रधान मन्त्री देउवासँग भेट गरी नेपाललाई प्रदान गरेको एमसिसी कम्प्याक्ट अनुदानका विषयमा छलफल गरेकी थिइन् । यस अगाडि एमसीसीले विज्ञप्ति जारी गर्दै सम्झौतालाई अघि बढाउने-नबढाउनु अब नेपालकै हातमा रहेको स्पष्ट पारेको थियो । एमसीसी सम्झौता अनुमोदन नगरी संसद् अधिवेशन अन्त्य गरिएको भन्दै एमसीसी मुख्यालयले निराशा व्यक्त गरेको थियो ।
अर्को प्रसङ्गमा देउवाले पाँच दलीय सत्ता गठबन्धन आगामी चुनावसम्मै कायम रहने सङ्केत गरे । ‘गठबन्धन पुरै समयसम्म रहन्छ । गठबन्धनबारे कुनै किसिमको शङ्का नगर्नु भए हुन्छ,’ उनले भने ।
देउवा संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत दुई दिने विश्व नेताहरूको शिखर सम्मेलनमा सहभागी भएर बेलायतबाट फर्किएका हुन् ।