टोपी लगाएकोले बाइडेनले परैबाट चिनिहाले-देउवा

काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवाले नेपालबारे अमेरिकी राष्ट्रपति जो बाइडेनदेखि बेलायती र भारतीय प्रधान मन्त्रीको राम्रो सद्भाव आफूले पाएकाे बताएका छन् । स्कटल्यान्डको ग्लास्गोमा सम्पन्न २६औं कोप सम्मेलनमा सहभागी भएर बिहीबार स्वदेश फर्किएका प्रधान मन्त्री देउवाले यस्तो बताएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रधान मन्त्रीले आफूले विश्व नेताहरूले नेपालप्रति राम्रो सद्भाव र सहिष्णुता राखेको पाएकाे बताए । ‘जो बाइडेनसँग पनि रिसेप्सनमा राम्रोसँग कुरा भयो,’ प्रधान मन्त्री देउवाले भने, ‘टोपी लगाएर गएको हुनाले उनले टाढैबाट मलाई चिनिहाले ।’

प्रधान मन्त्री देउवाकाअनुसार भेटमा राष्ट्रपति बाइडेनले आफू नेपाल आएको र नेपालबारे प्रशस्तै जानकारी भएको बताएका थिए । ‘उनी नेपाल आएका रहेछन् । नेपालप्रति राम्रो सद्भाव छ । बोरिस जोन्सनको पनि नेपालप्रति राम्रो सद्भाव पाएँ,’ प्रधान मन्त्री देउवाले भनेका छन् ।

यस्तै प्रधान मन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको पनि नेपालप्रति राम्रो सद्भाव रहेको पाएको प्रष्ट्याए । ‘मैले उनलाई भ्रमणको निम्तो पनि दिएँ,’ प्रधान मन्त्री देउवाले भने, ‘उनले मलाई पनि निम्तो दिए । उनकाे पनि नेपालप्रति राम्राे सद्भाव छ ।’

कोप २६ मा देउवाले नेपालले चाँडै नै सगरमाथा संवादको आयोजना गर्ने बचन दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *