देउवाको दाबीमा प्रचण्डकाे खण्डन : बिनासंशोधन एमसीसी पास हुँदैन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संशोधन नभइ एमसीसी पास नहुने प्रष्ट्याएका छन् । ‘हामीले भनेको के हो भने देशमा सबै दलहरूसँग छलफल नगरी राष्ट्रिय सहमति नबनाइकन हामीले यसलाई पारित गर्न सकिँदैन,’ देउसी खेल्न आफ्नो निवास आएका सञ्चारकर्मीको टोलीसँग प्रचण्डले भने, ‘त्यसका निम्ति हामीलाई समय चाहिन्छ । हामी छलफल गर्छौँ । समस्या कहाँ छ त्यसको निदान के हुन्छ भनेर । पास गरिहाल्ने भनिएको होइन । संशोधनबिना पास हुँदैन ।’

प्रधान मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘एमसीसी पास हुन्छ’ भनेपछि तरङ्ग आएको उल्लेख गर्दै प्रचण्डले थपे, ‘हिजो शेरबहादुरजीले के बोलिदिनुभएछ । प्रचण्डजी र मैले चिठ्ठीसमेत पठाइसकेका छौँ भनेर बोल्नुभएन । त्यो चिठ्ठी पठाइएको छैन । पहिले राष्ट्रिय सहमति बन्नुपर्यो हमीले भनेका छौँ ।’

देउवाले एमसीसी संसद्‌बाट पारित भइहाल्नुपर्छ भन्ने मान्यता राख्छन् भने प्रचण्ड राष्ट्रिय सहमति बनाइकन पारित हुन नहुने अडानमा छन् । यसअघि सरकारलाई ‘लीडिङ्ग’ गर्नेगरी बनाइएको न्यूनतम साझा कार्यक्रममा समेत एमसीसी राखिएको छैन । त्यसबेला पनि देउवालगायतका कांग्रेस नेताहरूले कार्यक्रममा एमसीसीसमेत राख्नुपर्ने बताएका थिए भने प्रचण्डसँगै माधवकुमार नेपाललगायतका नेताहरूले त्यसलाई रोकेका थिए ।

यसबीचमा आफ्नो नेतृत्वमा सरकार बनेयता नै देउवाले ‘एमसीसी पास हुन्छ’ भनेर धेरैपटक बोलिसकेका छन् । यद्यपि सत्तासीन दलका प्रमुख नेताहरूले एमसीसीलगायतका दलमा विभाजन ल्याउने विषयहरूलाई परै राखेर गठबन्धनलाई कम्तीमा चुनावसम्म लाने नीति अख्तियारी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *