काठमाडाैँमा छठका लागि घाट बनाउन शुरू

काठमाडौँ । सूर्यकाे आराधना र उपासना गरिने  छठ पर्व मनाउन नदी, पोखरीलगायत जलाशयका किनारमा घाट बनाउन शुरू भएको छ । यसपटक कात्तिक २४ र २५ गते छठ पर्व मनाइँदैछ ।

छठमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर नदी तथा तलाउ किनारमा बसी भजनकिर्तन गरिन्छ । भाेलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ्य दिएपछि  ब्रत समापन हुन्छ ।

खासगरी तराईमा विशेष हर्षोल्लासका साथ मनाइने यो पर्व पछिल्ला बर्षहरूमा काठमाडौँका साथै पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ । छठ पूजाका लागि नदी, पोखरीलगायत जलाशयलाई रङ्गीचङ्गी बनाएर सजाइन्छ भने किनारमा पूजाआजाका लागि घाट बनाइन्छ ।

यसपटक छठका लागि काठमाडाैँकाे गुह्येश्वरीस्थित गौरीघाटमा ६५० वटा घाट निर्माण हुँदैछन् । घाट छठ सेवा समितिका सदस्य अनिल सिंहकाअनुसार छठमा घाट प्रयोग गर्न यसपटक प्रतिघाट ११ सय रुपैयाँ शुल्क तिर्नुपर्दछ । उनकाअनुसार ३० वटा घाट भने निःशुल्क दिइने छ ।

छठको लागि घाट तयार गर्न करिब १६ लाख खर्च हुने उनले मकालुखबरलाई जानकारी दिए । घाट बनाउन पशुपति क्षेत्र विकास कोषले ६ लाख रुपैयाँ सहयोग गरेको छ ।

कोष र समितिले संयुक्त रुपमा निर्माण गर्ने घाटका लागि कोषले उपलब्ध गराएको रकमले मात्र नपुग्ने भएकाले भक्तजनसँग शुल्क उठाउन लागिएको  समितिका सदस्य सिंहले बताए ।

काठमाडौँ उपत्यकामा गुह्येश्वरी, कमलपोखरी, थापाथलीका साथै बागमती गोदावरीलगायत नदी किनारमा घाट बनाउने गरिएको छ। छठको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि जलासयमा पुगेर सूर्यकाे पूजाआजा गर्ने परम्परा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *