ओलीको दाबीः

‘एमाले सरकार छोड्छ, देशलाई तलमाथि हुन दिँदैन’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले नभएको भए १७ साल दोहोरिसक्ने बताएका छन् । १७ सालमा राजा महेन्द्रले प्रजातन्त्रको हत्या गर्दै पञ्चायती व्यवस्था लादेकोतर्फ लक्षित गर्दै ओलीले यसो भनेका हुन् । ‘यदि एमाले नभइदिएको भए १७ साल उहिल्यै दोहोरिसक्थ्यो,’ काठमाडौँमा आयोजित एक कार्यक्रममा ओलीले भने, ‘तर, एमाले छ त्यस्तो केही पनि हुँदैन ।’

एमाले सरकारबाट बाहिरिए पनि सधैँ देशको पक्षमा रहेको ओलीको भनाइ थियो । ‘एमालेले सरकार छोड्न सक्छ, तर देशलाई तलमाथि हुन दिँदैन,’ ओलीले थपे, ‘सरकार छोड्न सक्छ, संविधानको रक्षाका लागि लडिरहन्छ, लोकतन्त्रका लागि लडिरहन्छ ।’

सत्तासीन गठबन्धनलाई संविधानका भक्षक भनेका ओलीले भने, ‘अझै प्रतिगामी परमादेशहरू आइरहन्छन् । प्रतिक्रियावादी शक्तिहरू चुप बसेका छैनन् । तर एमाले रहेसम्म यस्ता शक्तिहरू परास्त हुन्छन् । सधैँ परास्त हुन्छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *