ओलीलाई भट्टराईकाे जबाफ- ‘तथ्यहीन उडन्ते कुरा नगर्नुस्’

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उडन्ते कुरा नगर्न आग्रह गरेका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले भट्टराई जनयुद्धमा हुँदा उनका छोरीहरूले बेलायत पढेको उल्लेख गर्दै ‘भूतिगत नेताको के आयस्रोतले विदेश पढेको ?’ भनेर प्रश्न गरेका थिए ।

यसपछि भट्टराईले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमार्फत पूर्वप्रधान मन्त्रीजस्तो मान्छे भएर तथ्यहीन तर्क नगर्न आग्रह गरेका हुन् । ‘मित्र खड्गप्रसादजी, पूर्वप्रधान मन्त्रीजस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन,’ भट्टराईले लेखेका छन् ।

आफ्नो छोरी मानुषी आमा हिसिला यमीसँगै जनयुद्धपूर्व बेलायत गएको र त्योबेला ७ वर्षको भएकोसमेत भट्टराईले स्मरण गराएका छन् । ‘हाम्री छोरी मानुषी ७ वर्षको उमेरमा जनयुद्धपूर्व ०४९–५१ मा आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएको बेला सँगै गएर सँगै फर्केकी हुन्,’ भट्टराईले प्रष्टीकरण दिएका छन् ।

यसपछि मानुषी बेलायत नगएको भट्टराईले बताएका छन् । ‘त्यसयता उनी बेलायत गएको प्रमाणित गर्नोस् न,’ भट्टराईले भनेका छन् ।

ओलीले आफूहरूले राहदानी नपाएको समयमा भट्टराईका शाखासन्तानले पाएको बताएका थिए । उनले भनेका थिए, ‘म सांसद भएपछि बल्लबल्ल ४८ सालमा राहदानी लिएका हुँ । अब बाबुरामजीका छोरीहरूले त्यतिबेलै विदेश पढ्थे । त्यतातिर नजाऔँ, खाली मैले साथीहरूलाई स्मरण गराएको मात्रै ।’

ओली र भट्टराई दुवै पूर्वप्रधान मन्त्री हुन् । उनीहरूबीच तिक्ततापूर्ण राजनीतिक सम्बन्ध रहँदै आएको छ ।

भट्टराईलाई ‌‌ओलीले के भने, भिडिओमा हेर्नुस्:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *