प्रधान न्यायाधीशविरुद्ध थप सशक्त विरोध कार्यक्रम ल्याउने बारको निर्णय

काठमाडौँ । नेपाल बार एशोसिएशनले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध थप सशक्त विरोध कार्यक्रम ल्याउने निर्णय गरेको छ । आइतबार बसेको बारको बैठकले आफ्नो सबै इकाइहरूलाई उजागर गर्दै थप सशक्त कार्यक्रम ल्याउने निर्णय गरेको हो ।

न्यायापालिका सुधारको पक्षमा बार रहेको जिकिर गर्दै बार पदाधिकारीहरूले प्रधान न्यायाधीश जबराले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् । आजको भर्च्यूअल बैठकमा भएको छलफलका क्रममा प्रधान न्यायाधीश जबराविरुद्ध थप कार्यक्रमहरूको घोषणा गर्ने निष्कर्ष निस्केको हो ।

छलफल कार्यक्रममा विभिन्न प्रदेश र जिल्लास्तरका बार इकाइहरूले आन्दोलनलाई बीचैमा रोक्न नहुने सुझाव दिएका हुन् । उनीहरूले जिल्ला अदालत र उच्च अदालत तथा उच्च अदालतका इजलासहरूमा रहेका समस्या पनि उठाउन बार नेतृत्वलाई सुझाव दिएका छन् ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले देशव्यापी रूपमा आन्दोलनको पक्षमा सुझाव आएको बताए । ‘करिब २५/३० वटा बार इकाइका पदाधिकारीहरूले आन्दोलन अझै सशक्त बनाउनुपर्छ, कुनै बहानामा रोक्नु हुँदैन भन्ने सुझाव दिनुभयो, अध्यक्ष श्रेष्ठले भनेका छन् ।

बाँकी इकाइहरूसँग सोमबार छलफल गर्नेसमेत अध्यक्ष श्रेष्ठले बताए । ‘सोमबार बाँकी इकाइहरूसँग छलफल गरेर हामी नयाँ निर्णयमा पुग्नेछौँ,’ उनले भनेका छन् । उनकाअनुसार अब भोलिबाट पुनः धर्ना कार्यक्रमसमेत शुरू हुनेछ ।

बारले प्रधान न्यायाधीश जबराको राजीनामा माग्दै आएको छ । उसले विरोध कार्यक्रमसमेत गर्दै आएको छ । तर, जबराले राजीनामा नदिने बरु केही समयपछि आफू सम्मानपूर्वक बाहिरिने बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *