प्रधान न्यायाधीशबारे उचित निर्णय लिन प्रधान मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै बार

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधान न्यायाधीशको विषयमा उचित निर्णय लिनका लागि प्रधान मन्त्रीसहित संसद्‌मा सहभागी सबै दललाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।

प्रधान न्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलनको दोस्रो चरणको कार्यक्रम तय गर्नका लागि बसेको नेपाल बार एसोसिएसन कार्यसमितिको बैठकले संसद्‌मा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दललाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो ।

‘प्रधान न्यायाधीश सम्मिलित इजलासमा अन्य माननीय न्यायाधीशहरूलाई नबस्न हुनका लागि आग्रह गर्ने निर्णय भएको छ‚’ बैठकको निर्णय सुनाउँदै बारका महासचिव लिलामणि पौडेलले भने‚ ‘सर्वोच्च अदालत केन्द्रित आन्दोलनलाई २३ गतेदेखि ३० गतेसम्म कालोपट्टी बाँधेर थप सक्रियतापूर्वक आन्दोलनका कार्यक्रम गर्ने निर्णय भएको छ ।’

उपत्यकाका जिल्ला अदालत‚ उच्च अदालत र न्यायाधिकरणहरूमा बिहान १० बजेदेखि १२ बजेसम्म कानुन व्यवसायीहरूलाई उपत्यकाका अदालतमा सुनुवाइ नगर्नका लागि अनुरोध गर्ने निर्णय भएको महासचिव पौडेलले बताए ।

त्यस्तै बैठकले न्याय सेवा आयोग र न्याय परिषद्का सदस्यहरूलाई प्रधान न्यायाधीशले बोलाउने न्याय परिषद् बैठकमा नजान आग्रह गर्ने निर्णय भएको समेत पौडेलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *