प्रधान न्यायाधीश जबराले तोके सबै खालका इजलास, बार भन्छ-निभ्न लागेको बत्ती

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार सबै खालका मुद्दामा इजलास तोकेका छन् । सोमबार बन्दी प्रत्यक्षीकरणाकाे मुद्दामा मात्र इजलास तोकिएकोमा मंगलबार प्रधान न्यायाधीश जबराले सबै खालका मुद्दाका १० वटा इजलास गठन गरेका हुन् । जबराले मंगलबार एउटा आफ्नो एकल र ९ वटा संयुक्त इजलास तोकेका छन् ।

प्रधान न्यायाधीश जबराले न्यायालय सुधारमा काम नगरेको र सत्तामा भाग लिएको भन्दै न्यायाधीशले इजलास बहिष्कार गरिरहेका छन् भने कानून व्यवसायीले पनि दिनहुँ धर्ना दिएर आन्दोलन गरिरहेका छन् ।

बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्न थालेपनि न्यायाधीशहरूले अन्य मुद्दा नहेर्ने अडान लिँदै आएका छन् । यसैबीच, नेपाल बार एसोशिएशनले आजको पेसी तोकाइले न्यायपालिकाभित्रको विकृति, विसंगती र भ्रष्टाचार रोक्नुको साटो झनै बढाउन खोजेको आरोप लगाएको छ ।

बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठले कानून व्यवसायी र न्यायाधीश अदालतभित्रको विकृति, विसंगित र भ्रष्टाचार रोक्न आन्दोलन गरिरहेको तर प्रधान न्यायाधीश जबराले पेलेरै जाने खोजेको र अहिलेसम्म बारले शान्तिपूर्ण आन्दोलन गरिरहेकोमा अब यसगरी अघि बढ्न खोजे योभन्दा सशक्त आन्दोलन गर्ने श्रेष्ठले चेतावनी दिए ।

‘हामीले अहिलेसम्म शान्तिपूर्ण आन्दोलन गर्दै आएका थियौँ, तर उहाँ कानून व्यवसायी र न्यायाधीशसँगै पनि विवाद बढाएरै जाने मनसायमा देखिनुभयाे, उहाँले यसको मूल्य चुकाउनुपर्छ । उहाँ यो ठाउँबाट हट्नैपर्छ । उहाँले निभ्न लागेको बत्ति भन्ने कुरा देखाउँदै हुनुहुन्छ । उहाँ तिमीहरुले भनेर हुँदैन म सिध्याउँछु भनेर अघि बढ्नुभयो भने अरु पनि आन्दोलनमा उत्रन्छन्’ उनले भने ।

आवश्यक भएको खण्डमा कानून ब्यवसायी देशमा राजनीतिक परिवर्तनका लागि लडेका  भन्दै अध्यक्ष श्रेष्ठले आवश्यक परे फेरि पनि नेपालका कानून ब्यवसायी तयार रहेको तर अहिले नै त्यो अवस्था नआओस् भन्ने बारको चाहना रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *