यी हुन्, फागुन २१ मा पदावधि सकिने राष्ट्रिय सभा सदस्यहरू

काठमाडौँ । फागुन २१ गते राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालसहित एकतिहाइ सदस्यहरूको पदावधि सकिँदैछ । पदावधि सकिनेहरूमा विषयगत समितिहरूको सभापतिसमेत रहेका छन् ।

चारवर्षे पदावधि सकिनेहरूमा विषयगत सभापतितत्र तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङ पनि छन् । उनीहरूलगायत २० सांसदहरूको पदावधि एकैचोटी सकिँदैछ ।

अन्य पदावधि सकिने सदस्यहरूमा अगमप्रसाद वान्तवा राई, उदया शर्मा पौडेल, कविता बोगटी, खीमकुमार विक, चक्रप्रसाद स्नेही, जीवन बुढा, दृगनारायण पाण्डे, ठगेन्द्रप्रकाश पुरी, तारादेवी भट्ट, दीनानाथ शर्मा, नैनकला ओझा, राधेश्याम अधिकारी, रामलखन चमार, शान्तिकुमारी अधिकारी र शेरबहादुर कुँवर छन् ।

नेकपा (एमाले) का ८, नेकपा (एकीकृत समाजवादी) का ४, नेकपा (माओवादी केन्द्र) का ४ र नेपाली कांग्रेसका ३ गरी २० सदस्यहरूको पदावधि फागुन २१ सकिँदैछ ।
०७५ असार ४ गते भएको गोला प्रथाद्वारा चारवर्षे पदावधि कायम भएका सदस्यको पदावधि सकिन लागेको हो ।

माथिल्लो सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रिय सभा सदस्यको पदावधि ६ वर्षको हुन्छ । अब रिक्त पदहरूमा उपनिर्वाचनमार्फत सदस्यहरू आउनेछन् । जसका लागि निर्वाचन आयोगले निर्वाचन गराउनेछ ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरूले मिलेर उपनिर्वाचनमा हाेमिने सहमति बनाइसकेका छन् । सोमबार प्रधान मन्त्री निवास बालुवाटारमा बसेको पाँचदलीय गठबन्धनको बैठकले यो सहमति गरेको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् । सरकारले राजनीतिक दलको सहमतिमा एकतिहाइ सदस्यको रिक्त हुने पदका लागि निकट भविष्यमै निर्वाचनको मिति घोषणा गर्ने यसअघि नै जनाइसकेको छ ।

सदस्यको पदावधि समाप्त हुनुभन्दा कम्तीमा ३५ दिनअघि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी बाध्यात्मक व्यवस्था छ । सोहीअनुरूप निर्वाचन आयोगले निर्वाचन मिति तय गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *