नेता कार्यकर्ताबाट महाधिवेशन खर्च उठाउँदै एमाले

चितवन । नेकपा (एमाले)को १०औँ महाधिवेशनको खर्च पार्टीका सदस्यबाट उठाइने भएको छ । महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । पार्टी सदस्यबाट लेभि उठाउने निर्णय भएको हो । महाधिवेशन मूल व्यवस्थापन समितिका सह–संयोजक सुरेन्द्र पाण्डेले एक जना सदस्यबाट रु एक सय उठाउने निर्णय भएको जानकारी दिए ।

नेकपा (एमाले) को सदस्य सङ्ख्या सात लाख छ । यसबाट रु सात करोड उठ्ने अनुमान गरिएको छ । महाधिवेशन प्रतिनिधिबाट रु दुई हजार र केन्द्रीय कमिटी सदस्यबाट रु तीन हजार उठाइने उनले जानकारी दिए । लाभका पदमा रहेकाबाट समेत शुल्क उठाइँदै छ ।

पाण्डेका अनुसार उनीहरूबाट के कति उठाउने भन्ने बारेमा टुङ्गो लागिसकेको छैन । अन्यको लेभि उठाउन सर्कुलर गरी सकिएको उनले जानकारी द्रिए । महाधिवेशनमा विद्युतीय उपकरणबाट मतदान गरिने छ । मतदानका लागि एक सय वटा विद्युतीय उपकरण राखिने जनाइएको छ ।

महाधिवेशनको उद्घाटन सत्र चितवनको नारायणगढस्थित नारायणी किनारमा गरिँदै छ । सो अवसरमा देशभरबाट पाँच लाखको हाराहारी नेता कार्यकर्ता उपस्थित हुने अनुमान गरिएको छ । बन्द सत्र सौराहाको बाघमारा चौरमा गरिँदै छ ।

सबै विभागबाट खर्चको अनुमानित रकम नआइसकेकाले के कति खर्च हुन्छ भने अनुमान गरिनसकेको पाण्डेले बताए । यसअघि नवौँ महाधिवेशनमा रु ६ करोड र त्यसअघि आठौँमा रु तीन करोड खर्च भएको उनले जानकारी दिए । योसँगै नेकपा एमालेले बाहिर महाधिवेशनका लागि चन्दा नउठाउने देखिएको छ ।

नेकपा एमालेको केन्द्रीय समिति २२५ सदस्यीय छन् । तीमध्ये १५ पदाधिकारी रहेका छन् । पाण्डेका अनुसार अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष चार, महासचिव एक, उपमहासचिव एक र सचिव सात जना रहने व्यवस्था छ ।

उनीहरू महाधिवेशनबाट निर्वाचित हुने छन् । महाधिवेशनमा दुई हजार प्रतिनिधि सहभागी हुने सह–संयोजक पाण्डेले बताए । बुटवलमा हुने भनिएको महाधिवेशन अन्तिम समयमा चितवनमा सारिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *