अमेरिकालाई एमसीसी फिर्ता लिन वामदेवकाे आग्रह
काठमाडौँ । एमाले छाडेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय महाअभियान सञ्चालन गरिरहेका नेता वामदेव गौतमले एमसीसी फिर्ता लैजान अमेरिकालाई आग्रह गरेका छन् । राष्ट्रिय सभा सदस्यसमेत रहेका गौतमले बुधबार विज्ञप्ति जारी गर्दै अमेरिकालाई यस्तो आग्रह गरेका हुन् ।
एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सिर्जना हुने देखिएका भन्दै नेता गौतमले यस्तो बताएका हुन् । ‘एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सिर्जना हुने देखिएकाले उक्त परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु ।’
गौतमले नेपालमा अहिलेको जटिल अवस्थामा बनेको सरकार र बहाल रहेको संसद्ले एमसीसी अनुमोदन गर्नसक्ने अवस्था नरहेकोसमेत स्मरण गराएका छन् । उनले भनेका छन्, ‘यो अवस्थालाई मध्यनजर गर्दै एक पक्षीय रूपमा भए पनि मित्र राष्ट्र संयुक्त राज्य अमेरिकी सरकारलाई एमसीसी परियोजना फिर्ता लगेर नेपालको हित प्रवर्द्धन गर्न विनम्र अनुरोध गर्दछु ।’
यसअघि एमसीसीबारे प्रधान मन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फरक–फरक धारणा सार्वजनिक गरेका थिए । यसपछि गौतमले यस्तो वक्तव्य जारी गरेका हुन् ।