इग्ल्यान्डलाई हराउँदै न्युजिल्यान्ड टी-ट्वेन्टी विश्वकपको फाइनलमा
काठमाडौँ । न्युजिल्यान्ड टी-ट्वेन्टी विश्वकपको फाइनल प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड फाइनल प्रवेश गरेको हो ।
१६७ रनको लक्ष्य न्युजिल्यान्डले १ ओभर बाँकी छँदै ५ विकेट गुमाएर पुरा गर्यो ।
न्युजिल्यान्ड टी ट्वेन्टी विश्वकपको फाइनलमा पुगेको यो पहिलोपटक हो ।
खराब शुरुवातका बाबजुत न्युजिल्यान्डले खेल जित्यो । न्युजिल्यान्डको जितमा डार्यल मिचेलले नटआउट ७२ रन बनाए । उनले ४७ बलमा ४ छक्का र ४ चौका प्रहार गरे ।
यस्तै, डेबोन कोन्वेले ३८ बलमा ४६ र जेम्स निसमले ११ बलमा २७ रनको आक्रामक पारी खेले ।
४ रनमा पहिलो र १३ रनमा दोश्रो विकेट गुमाउँदै धर्मराएको न्युजिल्यान्डले तेश्रो विकेटका लागि ८२ रनको साझेदारी गरेको थियो । १७ औँ ओभरमा २३ रन लिंदै न्युजिल्यान्ड जिततर्फ अग्रसर भएको थियो ।
न्युजिल्यान्डले १८ औँ ओभरमा १४ र १९ औँ ओभरमा २० रन लिंदै एक ओभर पहिले नै खेल जित्यो ।
यससँगै न्युजिल्यान्डले सन् २०१९ मा एकदिवसीय विश्वकपको फाइनलमा भोगेको इंग्ल्यान्डसँगको पराजयको बदला पनि लियो । उक्त खेलमा इग्ल्यान्ड बाउन्ड्री धेरै प्रहार गरेको आधारमा विजयी हुँदै विश्वकप जितेको थियो ।
न्युजिल्यान्डले फाइनलमा पाकिस्तान र अष्ट्रेलियाबीच विहीबार (भोली) हुने दोश्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।
दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनायो । इग्ल्यान्डका मोइन अलि ५१ रनमा नटआउट रहे । यस्तै, डेभिड मलानले ४१ र जोस बटलरले २९ रनको योगदान गरे ।
न्युजिल्यान्डका टिम साउथी, जेम्स मिल्ने, ईश सोधी र जेम्स निसमले एक एक विकेट लिए ।