आजदेखि देशभर जनगणना, यी हुन् सोधिने मुख्य प्रश्नहरू

काठमाडाैँ । हरेक १० वर्षमा गरिने राष्ट्रिय जनगणनाअन्तर्गत १२औं शृङ्खलाको मुख्य गणना आज शुरु गरिँदै छ । केन्द्रीय तथ्याङ्क विभागकाअनुसार यो गणना मंसिर ९ सम्म जारी रहनेछ ।

जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवार सूचीकरण यसअघि नै भइसकेको छ । सूचीकृत र कुनै कारण छुटेका समेत सबै घरमा पुगेर गणकले १५ दिनभित्र सबै व्यक्तिको विस्तृत विवरण सङ्कलन गर्नेछन् । यसका लागि ४० हजार गणक र ८ हजार ५ सय जना सुपरिवेक्षक परिचालन गरिएकाे छ ।

जनगणना सफल बनाउन केन्द्रदेखि वडा तहसम्म विभिन्न जनगणना समन्वय तथा सहजीकरण समिति गठन गरिएको विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताए । उनका अनुसार, जनगणना गर्न सात प्रदेशमा जनगणना कार्यालयसहित ७७ जिल्ला जनगणना कार्यालय र त्यसअन्तर्गत ३४९ स्थानीय जनगणना कार्यालय स्थापना भएका छन् ।

जनगणनाको फाराममा ८० वटा प्रश्न राखिएका छन् । एक परिवारलाई उत्तर भर्न औसत २० मिनेट लाग्ने बताइएको छ । यस क्रममा देशभरका ६ हजार ७४३ वडाबाट आधारभूत आर्थिक, सामाजिक, सेवा, सुविधा, पूर्वाधार र विपद् अवस्थाकोसमेत जानकारी सङ्कलन गरी सामुदायिक प्रश्नावली फारम भरिने र यसबाट सम्पूर्ण वडाको वास्तविक जानकारी पाउन सकिनेछ ।

महानिर्देशक श्रेष्ठकाअनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतसँग कूटनीतिक तबरबाट पहल भइरहेको र स्याटेलाइट प्रविधिबाट घरधुरी गणना गरी त्यसका आधारमा पनि जनगणना गरिने छ ।

जनगणनामा सोधिने यी हुन् मुख्य प्रश्नहरू
देश सङ्घीय संरचनामा गइसकेपछि हुन लागेको पहिलो जनगणना भएको हुनाले पनि यो विगतका जनगणनाभन्दा फरक छ । जनसाङ्ख्यिक विवरणमा परिवारको व्यक्तिगत विवरणका प्रश्नहरू छन् । परिवारका सदस्यहरूहरुको शैक्षिक विवरण र प्रजनन् हितका विवरणलाई मुख्य प्रश्नावलीमा समेटिएको छ । त्यस्तै, सामुदायिक प्रश्नावलीमा सामाजिक र पूर्वाधारको सेवा सुविधा, आर्थिक पूर्वाधारको सेवा सुविधा, विपत् जोखिमको अवस्था, प्राकृतिक प्रकोप र विपत्को क्षतिको विवरण, वन्यजन्तु र जंगली जनावरबाट भएको क्षतिको विवरण, लोपोन्मुख जातजातिको बसोबासको अवस्था, सीमान्तकृत जातजातिको बसोबास, मातृभाषा बोल्नेको विवरण, सेवा सुविधाको अवस्थासहितका विवरण यो खण्डका प्रश्नावलीबाट संकलन गरिन्छ । यो खण्डको प्रश्नावलीमा विवरण वडा अध्यक्ष वा वडा सचिवले टिपाउनेछन् । साथै, घर तथा घरपरिवार सूचीकरण फारम पनि भर्नुपर्ने हुन्छ ।

अघिल्लो जनगणनामा पारिवारिक विवरण सबै घरमा र पुरै विवरण र्यान्डमली गर्ने गरे पनि यसपटक भने सबै घरपरिवारको पुरै विवरण संकलन गरिनेछ ।  काठमाडौं उपत्यकामा ट्यावलेटमार्फत जनगणना गरिने भए पनि देशका अन्य भागमा भौतिक रूपमा फर्म भरेर जनगणना गर्ने भएकाे हाे । जनगणना ९ मंसिरमा सकाउने तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *