सुदूरपश्चिमकै अग्रणी किसान अवस्थी : देशभर पुर्‍याउँछन् उत्पादन

धनगढी । तरकारी बारीमा दैनिक काम चलिरहन्छ । एक बालीको सिजन सकिए अर्को बालीको तयारी । ६ सय रोपनी जमिनमा आलुलगायतका विभिन्न तरकारी बाली लगाइने गरिएको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ भातकाँडाका प्रसाददत्त अवस्थीले अहिले तरकारी बारीलाई थप विस्तार गर्दै ६ सय रोपनी पुर्‍याएका छन् ।

यसै वर्ष मात्रै उनले वडा नम्बर १ कै भेटामा थप दुई सय रोपनी जमिनमा आलु खेती सुरु गरेका छन् । वडा नम्बर १ कै असीग्राममा पहिले देखिनै जम्मा चार सय रोपनी क्षेत्रफलमा आलुलगायत विभिन्न किसिमका तरकारी लगाइरहेका छन् ।

बुबाको पाला देखिनै तरकारी खेतीमा लागिरहेको अवस्थी परिवारका अहिले पनि तीन वटै दाजुभाइ पूर्णरुपमा यसैमा संलग्न छन् । सबै दाजुभाइ मिलेर बारीदेखि विक्री वितरणका लागि बजार हेरिरहेका छन् । जहाँ अन्यले पनि रोजगारी पाएका छन् । स्वदेशमा रोजगारी नपाएपछि दैनिक सयौँको सङ्ख्यामा नेपालीहरू बिदेसिन बाध्य छन् ।

कोही लगानी नभएर त कोही काम गर्ने तौरतरिका नजानेर बिदेसिने गर्छन् । तर नेपालमै सुन फलाउन सकिन्छ भन्ने गतिलो उदाहरणका पात्र बनेका छन् अवस्थी । उनी देशको मध्य पहाडी क्षेत्रमा लोभलाग्दो तरकारी खेती गर्ने किसान भित्रै पर्छन् । वडा नम्बर १ को असीग्राममा चार सय रोपनी जमिनमा आलु, टमाटर, काँक्रालगायतका तरकारी बाली फलाउँदै आएका अवस्थी दाजुभाइले यसै वर्षदेखि ३५ वर्षदेखि बाँझो रहेको सोही वडाको भातकाँडा नजिकै भेटामा थप दुई सय रोपनी जमिनमा आलु लगाएका हुन् ।

उनी भागेश्वर कृषि तथा पशुपालन फर्म नामक संस्थाबाट तरकारी उत्पादन गरेर देशका विभिन्न ठाउँमा पुर्‍याइरहेका छन् । ‘चार सय रोपनी जमिनमा मल्चिङ प्रविधिबाट आलु खेती गरेको छु,’ उनले भने, ‘बाँकी दुई रोपनी जमिनमा काँक्रा, टमाटर, सिमलालगायत अन्य तरकारी खेती गरेको छु ।’
वर्षमा करिब दुई हजार क्विन्टल बढी आलु मात्रै फलाउने गरेका अवस्थीले यस वर्ष थप दुई सय रोपनी जग्गामा लगाएको आलुले उत्पादन थप बढ्नेछ । विगतका वर्ष भन्दा यस वर्ष आलु थप उत्पादन हुने उनको भनाई छ । थपिएको दुई सय रोपनी जग्गामा लगाएको केही आलु असोज ३१ गते आएको बाढीले बगाउँदा क्षतिसमेत व्यहोरेका छन् उनले ।

‘भेटामा यसै वर्षदेखि आलु लगाउन सुरु गरेका हौँ,’ उनले भने, ‘झन्डै ५० रोपनीमा लगाएको आलुमा पहिराले गर्दा क्षति पुगेको छ । सरकारबाट केही क्षतिपूर्ति पाइएला कि भन्ने आशा छ ।’ उत्पादित तरकारीहरू स्थानीय बजार डडेलधुरा, डोटी, अछाम, बैतडी, दार्चुला र तराईका कञ्चनपुर, कैलालीसम्म बिक्री वितरण गरेको उनले बताए ।

यस्तै, नेपालगञ्ज, बुटवल हुँदै काठमाडौँसम्म आलु, अदुवा, लसुनलगायतका उत्पादनहरू पुर्‍याइरहेको उनले बताए । काठमाडौँको विक्री केन्द्रमार्फत आफ्नो उत्पादन देशका अन्य ठाउँमा पनि पुगिरहेको उनले बताए ।  ‘विभिन्न सहरका हाटबजारमा विक्री केन्द्र राखेर नै आफ्नो उत्पादन विक्री गरिरहेका छौँ,’ उनले भने, ‘उत्पादन निर्यातका लागि आफ्नै गाडीहरू पनि छन् ।’ उनले काठमाडौँको कालीमाटी हाटबजारमा पनि आफ्नै तरकारी विक्री केन्द्र रहेको बताए ।

वार्षिक करोडको लगानी

तरकारी खेतीलाई थप विस्तार गर्दै आएका अवस्थीको लगानी पनि बढ्दै गइरहेको छ । गत वर्षसम्म वार्षिक लगानी डेढ करोडसम्म पुग्ने गरेको उनी बताउँछन् । तर, यस वर्षदेखि उनको लगानी थप भएको छ । दुई सय रोपनीमा आलु खेती विस्तार गरेपछि यस वर्ष जम्मा दुई करोड बढीको लगानी पुग्न सक्ने उनी बताउँछन् ।

‘गत वर्ष बाँझो जमिनलाई सदुपयोग गर्दै थप दुई सय रोपनीमा आलु खेती लगाएपछि दुई करोडसम्म लगानी पुग्छ होला । बाँझो खेतीलाई थप उपयोग गर्ने योजना अनुसार लगानी अझै बढ्छ । सोही अनुसार कामदार पनि बढ्छन् ।’ लगानी अनुसारको प्रतिफल पाउन केही समय कुर्नु पनि पर्ने उनको भनाई छ ।

‘कृषि क्षेत्रमा लगानीको प्रतिफल तुरुन्तै पाइएला भन्ने हुँदैन,’ उनले भने, ‘नियमित खेती हुँदै आए भविष्यमा लगानी अनुसारको प्रतिफल प्राप्त गर्न सकिन्छ ।’ यसै वर्षदेखि सुरु गरिएको दुई सय रोपनी जग्गामा गरिएको लगानी प्राप्त गर्न केही समय कुर्नुपर्ने उनको भनाई छ ।  राज्यले ठूलो लगानीका किसानलाई सोही अनुसार अनुदान दिएको खण्डमा थप प्रोत्साहन हुने उनको भनाई छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई डडेल्धुरामा कार्यरत खेमराज जोशीले किसानलाई ५० प्रतिशत अनुदानमा आलुका बिउँहरू उपलब्ध गराइएको बताए ।  आलु उत्पादक किसानलाई मल्चिङ प्रविधिका लागि पनि सहयोग गरिएको बताए । मेल्चिङ प्रविधिबाट डेढदेखि दुई गुणा आलु उत्पादन वृद्धि हुने उनी बताउँछन् ।

उनले किसान अवस्थीलाई पनि मेल्चिङ प्रविधिलगायतमा सहयोग गरिएको बताए । ‘अवस्थी देशकै धरै जमिनमा आलुलगायतका तरकारी बाली उत्पादन गर्ने किसानमा पर्नुहुन्छ,’ उनले भने, ‘उहाँलाई परियोजनाले सहयोग नगर्ने भन्ने हुँदैन ।’


जिल्लामा मल्चिङ प्रविधिबाट आलु खेती गर्न सुरु भएपछि किसानको आकर्षण बढ्दो क्रममा रहेको उनले बताए । कृषि ज्ञान केन्द्र डडेल्धुरा कार्यालय प्रमुख रामचन्द्र भट्टले प्लाष्टिक टनेल भित्र तरकारी खेतीको कार्यक्रममा अनुसार स्थानीय तहको सहकार्यमा व्यावसायिक किसानहरूलाई टनेल वितरण गर्ने कार्य भइरहेको बताए । अगुवा किसान अवस्थीलाई पनि ज्ञान केन्द्रले सहयोग गरेको बताए ।

अन्यका लागि रोजगारदाता

अवस्थीले केही जमिन आफ्नो र धेरै जमिन भाडामा लिएर तरकारी खेती गरिरहेका हुन् । जहाँ उनले ३० जना भन्दा बढीलाई नियमित रूपमा रोजगारी दिएका छन् । उनी गाउँमै अन्यका लागि रोजगारदातासमेत भएका छन् । ‘६ सय रोपनीमा लगाइएको तरकारी एक्लैले रेखदेख गर्न सकिँदैन,’ उनले भने, ‘कामका लागि मान्छे राख्नुको विकल्प पनि छैन । अरूले काम पनि पाउँछन् ।’
सिजन अनुसार कामदारको सङ्ख्या बढ्ने गरेको उनी सुनाउँछन् । ‘एक खालको तरकारीको सिजन सकियो भने अर्को तरकारी लगाउने सिजन हुन्छ,’ उनले भने, ‘बारीमा नियमित काम चलिरहन्छ । एक ठाउँको बारीमा काम सकियो भने, अर्को ठाउँमा पनि जानुपर्छ ।’
आलु खेती थप विस्तार गर्ने तयारी भइरहेको हुँदा कामदार थप बढाउनुपर्ने अवस्था आएको उनले बताए ।

उनका अनुसार भेटामा अझै सयौँ रोपनी जमिन बाँझो छ । जहाँको जमिन तीन दशक अघिदेखि बाँझै छ । स्थानीयहरू सुख सुविधा खोज्दै अन्यत्र सरेपछि बाँझो रहेको जमिनमा उनले आलु खेतीलाई थप विस्तार गर्ने सोच बनाएका छन् । जसका लागि उनलाई थप कामदारको खाँचो पर्नेछ ।

काम पाएन भन्दै भौँतारिएर बिदेसिनु भन्दा यतै कृषि पेसामै केही गर्न सके अरूलाई पनि रोजगारी दिन सकिने उनी बताउँछन् । राज्यको सहयोग भयो र नेपालमै उत्पादन बढाउन सक्यो भने विदेशबाट दैनिक करोडौँका तरकारी आयात गर्नु नपर्ने उनको भनाई छ ।

‘भारतबाट सुदूरपश्चिममा मात्रै दैनिक २० गाडी भन्दा बढी तरकारी आयात भइरहेको छ,’ उनले भने, ‘त्यसैमा पनि मनोमानी रेट हुन्छ । यहाँको पैसा भारततिर गइरहेको छ । यसलाई रोक्न राज्यले कृषि क्षेत्रलाई महत्त्व दिनुपर्छ । किसानलाई प्रोत्साहित गर्नुपर्छ ।’

अन्य किसानलाई प्रोत्साहन

अवस्थी आफै मात्रै तरकारी खेतीमा संलग्न छैनन् । उनले गाउँका अन्य किसानहरूलाई पनि तरकारी खेतीमा लाग्न प्रोत्साहित गरिरहेका छन् । जसले तरकारी खेतीमा लाग्नेहरूलाई मात्रै नभई स्वयम उनलाई पनि फाइदा पुग्छ । कारण उनले अन्य किसानले उत्पादन गरेको तरकारी बाली खरिद गरेर विभिन्न बजारमा विक्रीका लागि लैजान्छन् ।

‘हाम्रो परिवारकै सम्पूर्ण आयस्रोतको माध्यम भनौँ वा काम भनेको नै तरकारी खेती हो,’ अवस्थीले भने, ‘आफ्नो उत्पादनदेखि अरूले उत्पादन गरेको तरकारी खरिद गरेर पनि विक्री वितरण गरिरहेका छौँ ।

तरकारी सङ्कलन केन्द्र र विभिन्न बजारमा तरकारी विक्री केन्द्रहरू छन् ।’ आफ्नै बारीमा उत्पादन भएका बिउँ विक्री वितरण गर्नेदेखि अन्य साना किसानलाई आफूले सिकेको सीप सिकाउनेसम्मको काम पनि उनी गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *