गौशालामा ‘गोपाष्टमी’को रौनक (तस्बिरहरू)
विराटनगर । विराटनगर महानगरपालिका १० को जतुवामा रहेको गौशालामा सर्वसाधारणहरूको भीड लागेकाे थियाे । कोही पूजा गर्दै गरेका कोही गाई तथा गोरूलाई केही खुवाउँदै गरेका थिए । एउटै गौशालामा १७५ वटा गाईहरू रहेकाले धेरै ठाउँबाट आएकाहरू गाई तथा गोरुको सेवा गरेको देखिन्थे ।
विराटनगर-८ की माया खतिवडा र उनकी आमा पनि यही गौशालामा आएर गाईको पूजामा व्यस्त देखिए । उनी हरेक वर्ष आजकै दिन गौशालामा आएर गाईको पूजा गर्ने गरेको सुनाउछिन् । ‘हामी वर्षको एक पटक आजकै दिन गाई गोरुको सेवाका लागि आउने गर्छौँ,’ उनले भनिन्, यहाँ आउँदा घाँस तथा केही खानेकुरा ल्याएर गाईलाई दिने गरिएको छ ।’
गाइकाे सेवाका लागि पुगेका गौशाला पुगेका बजरंंगग वाहेतीले हरेक वर्ष गाईको सेवा गर्ने पर्व लक्ष्मीपूजा पछिको एक मात्र यो पर्व भएको बताए । गाईलाई विभिन्न परिकार बनाएर ल्याउने र खुवाउने तथा सेवा गर्ने पर्व गोपाष्टमी भएको उनले सुनाए । कात्तिक शुक्ल अष्टमी गाईमा कृष्ण भगवानको वास हुने भएकोले ९ हजार वर्षदेखि यसै गरी पूजाआजा चल्दै आएको वाहेती बताउँछन् ।
गाईको सेवाका लागि आएका भक्तालुले टीका लगाउने, ल्याएका कुरा खुवाउने, खुट्टा पूजा गर्ने, आररती गर्ने गाईको परिक्रमा गरेर ढोगेर पुण्य प्राप्त गर्ने गरेको गौशालामा गाईको सेवा गर्दै आएका लटाई यादवले बताए । गौशाला व्यवस्थापन समितिका अध्यक्ष शंकरलाल अग्रवालले आजकै दिन गौशालामा आहुती, हवन तथा पुर्णावती आहुती हुने गरेको सुनाए । बिहानै देही गुरु पुरोहितहरूले पूजाआजा गर्ने र मध्यान्ह पूर्णाहुति हुने उनको भनाई छ। आहुती पछि सबैले आरती गर्ने समेत गरिएको उनले बताए ।
के हो गोपाष्टमी ?
कार्तिक शुक्ल अष्टमीलाई गोपाष्टमीका नामले पनि चिनिन्छ । गौमाताको सुरक्षासँग सम्बन्ध राख्ने भएकाले यो तिथिलाई गोपाष्टमी भनिएको हो । गौमाता वा गाईको माया र ख्याल, रक्षा र सुरक्षासँग जोडिएकाले ग्वाला, गोपाल अनि गोविन्दजस्ता नामहरू बनेको विश्वास गरिन्छ । भगवान् श्रीकृष्णको अति प्रिय नाममध्ये एउटा हो, गोविन्द ।
यही नामहरूको परिप्रेक्ष्यसँग गोपाष्टमीको सन्दर्भ जोडिएको बताइन्छ । धार्मिक विश्वासअनुसार कार्तिक शुक्ल सप्तमी तिथिमा गौमाता, ग्वाला र गोपिनीहरुको रक्षार्थ भगवान् श्रीकृष्णले गोवर्धन पर्वतको धारणा गर्नुभएको र एउटा औँलाले गोवर्धन पर्वत उठाएर सबैलाई श्रीकृष्णले उक्त पर्वतमुनि शरण दिएका थिए ।
त्यसको भोलिपल्ट अर्थात् आजको अष्टमीको दिनमा स्वर्गबाट इन्द्र भगवान् स्वयं श्रीकृष्णलाई भेट्न झर्नुभएको विश्वास गरिन्छ । त्यति बेला भगवान् इन्द्रले कामधेनुले श्रीकृष्णको अभिषेक गरेको प्रसङ्ग धार्मिक ग्रन्थहरूमा छ । श्रीकृष्णले गाईहरूको रक्षाका लागि पर्वत नै उठाएकाले पनि उक्त दिनबाट श्रीकृष्ण भगवानको नाम गोविन्द रहन गएको विश्वास पनि गरिन्छ ।
द्वापर युगको त्यस दिनबाट नै गोपाष्टमी मनाउन थालिएको हो । आज पनि भगवान् श्रीकृष्णका अनुयायीहरूले यसलाई विशेष पर्वका रुपमा मनाइरहेका छन् । आजको दिन गौमाताहरुको अभिनन्दन गर्ने र गौमाताको सेवा गर्ने चलन रहेको छ । आजको दिन गौशाला र गौमाताहरुलाई दिएको दानले जीवनमा सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास गरिन्छ ।