(कविता) गन्धर्व दाजु
एक हातमा सारङ्गी रेटेर,
मिलन बिछोडको कथा समेटेर,
बुढो ओठबाट जवान आवाज निकाल्दै
गाउनुहुन्थ्यो,
विरहका भाकाहरू,
गन्धर्व दाजु ।
रात छिप्पिएर बिहान जन्मनै लाग्दा,
सारङ्गीको धुनले ब्युँझिन्थ्यो पहाड,
ब्युँझिन्थ्यो हिमाल
अनि पूर्वबाट घामले चाहाउँदै गर्दा
हिमालले मन्जन गरिसक्थ्यो,
र सेतै मुस्कुराउँथ्यो ।
नदी बगरसम्म
झरिसक्थ्यो र बेसुर गाइरहन्थ्यो ।
गन्धर्व दाजुको हातले
जब सारङ्गी रेट्थ्यो,
बेसुर गाइरहने नदीले पनि मीठो सुर भेट्थ्यो ।
चौतारीले वर्षाको पर्खाइका
तिर्खाहरू एकैचोटी मेट्थ्यो ।
गन्धर्व दाजुको हातले
जब सारङ्गी रेट्थ्यो,
आकाशमा चिच्याइरहने बादलले,
चिच्याहटमा मीठो स्वर समेट्थ्यो ।
औँसीको रातले पनि
आफ्नो कल्पनामा, प्रिय जून भेट्थ्यो ।
तर
आजकल बज्दैन सारङ्गी ।
पहाड ब्युँझाउने सारङ्गीले
सायद कहिल्यै बिउँझाएन होला,
गन्धर्व दाजुको समथर जिन्दगीमा
सुतिरहेको सुखका पहाडहरू ।
बेसुर नदीलाई सुर सिकाउने
गन्धर्व दाजु,
आफैँ बेसुर भएछन् क्यार !
बेसुर भएपछि उमेर
बेसुर हुँदो रहेछ जिन्दगी पनि ।
चौतारीको प्यास मेट्ने सारङ्गीले
गन्धर्व दाजुको जिन्दगीमा
आवश्यकताको प्यास मेटेन होला
त्यसैले त परिस्थितिको अदालतमा
सम्बन्ध विच्छेद भएको छ
गन्धर्व दाजु र सारङ्गीको ।
गन्धर्व दाजु र सारङ्गीको सम्बन्ध
यदि जीवित छ भने कतै,
इतिहासको कुनै एक कुनामा
अटाएका दुईचार शब्दमा छ ।
आज उस्तै कुनामा छन्,
गन्धर्व दाजु र सारङ्गी ।
फरक यति हो
गन्धर्व दाजुको कुनालाई वृद्धाश्रम भनिन्छ ।
अनि सारङ्गी बस्ने कुनालाई
संग्राहलय ।
😍😍😍😍 yatharta!
वाह! सशक्त कविता ।