एक वियोगान्त प्रेमकथा‚ जसले यलम्वरलाई बनायो ‘पचली भैरव’ (फोटो कथा)

सेतो पर्दामा एक व्यक्तिले नित्य कर्म गरिरहेको जस्तो आकृति देखिन्छ । कोही हृष्टपुष्ट पुरुष शान्त ठाउँमा ध्यान गरिरहेका हुन्छन् । उनी किराँती राजा यलम्वर हुन् । यलम्वरलाई तान्त्रिक योग र तन्त्रमन्त्रमा विशेष लगाव छ । त्यसैले हरेक दिन भेष परिवर्तन गरेर बागमती र विष्णुमतीको दोभानको तीर्थस्थल पञ्चलिङ्गेश्वरमा गएर उनी ध्यानमा बस्ने गर्थे ।

नाटक यसरी सुरु हुन्छ । सुरुवातीमा नै हाम्रो सभ्यता‚ संस्कृति झल्कने भेष भूषा, बोलीचालीले दर्शकलाई त्यसपछि के ? को अवस्थासम्म सजिलै डोर्‍याउँछ । राजा यलम्वर ध्यानमा बसिरहेको त्यो शान्त ठाउँमा रुक्मिणी सुँगुरलाई चारा खुवाउन गइरहन्थिन् । एक दिन त्यस ठाउँमा ध्यान गरिरहेको अवस्थाका राजा यलम्वरमाथि रुक्मिणीको नजर पर्छ ।

रुक्मिणी नेवार समुदायकी सुन्दर युवती हुन्छिन् । उनलाई नै अजिमा पनि भनिन्छ । त्यसैले नाटकमा नेपाल भाषाको प्रयोग, नेवारी भेषभूषा, नेवारी समुदायलाई देखाइएको छ । जसले काठमाडौँ उपत्यकाका सबै नेवार समुदायको दैनिकीको समेत प्रतिनिधित्व गरेको अनुभूति हुन्छ । चारा खुवाउन सधैँ झैँ अर्को दिन पनि रुक्मिणी पञ्चलिङ्गेश्वर पुग्छिन् ।

अर्को दिन पनि यलम्वर त्यही स्थानमा ध्यान गरिरहेका हुन्छन् । त्यस्तो सुनसान ठाउँमा जङ्गली जनावरको भयलाई वास्तै नगरी ध्यानमा बसेको पुरुषप्रति रुक्मिणीको आकर्षण बढ्छ । अर्को दिन रुक्मिणीले यलम्वरलाई देखाउन उनका साथीहरू पनि लिएर आउँछिन् ।

अल्लारे साथीहरूको खुसुखुसु र चर्को हाँसोले यलम्वरको ध्यान भङ्ग हुन्छ । त्यही दिन यलम्वर र रुक्मिणी एक अर्कासँग नजिकिन्छन् । अर्को दिन रुक्मिणीले यलम्वरलाई त्यही ठाउँमा निम्ता दिन्छिन् । सो दिन यी दुईबीच शारीरिक संसर्ग हुन्छ र रुक्मिणीको गर्भमा यलम्वरको भ्रूण हुर्कन थाल्छ ।

त्यसपछि यलम्वर ध्यान गर्न आउन छाड्छन् । अब रुक्मिणी चिन्तामा पर्छिन् । किनभने यलम्वरको घर, थर, नाम, ठेगाना केही पनि रुक्मिणीलाई थाहा हुँदैन । यलम्वर बेखबर भएपछि रुक्मिणीमा आएको अस्वाभाविक परिवर्तनलाई उनकी आमाले नियालिरहेकी हुन्छिन् । के भयो भनेर सोध्दा रुक्मिणीले आफूले गर्भ धारण गरेको बताउँछिन् ।

रुक्मिणीको कुराले उनकी आमालाई ठूलो झड्का लाग्छ । त्यसपछि अविवाहित छोरी गर्भवती हुँदा अब समाजले स्वीकार नगर्ने र आफ्नो इज्जतका लागि आफ्नो प्रेमी खोज्न रुक्मिणीलाई उनकी आमाले सुझाव दिन्छिन् । यसमा रुक्मिणी र उनकी आमाको तनावपूर्ण संवादलाई साङ्गीतिक रूपमा प्रस्तुत गरिएको छ । यो दृश्यबाट आँखा हटाउनै गाह्रो पर्छ ।

त्यसपछि रुक्मिणी आफ्नो प्रेमी धेरैपछि आफूलाई भेट्न आएको मौका पारेर उनलाई जालमा फसाउँछिन् । उनले यलम्वरलाई आफ्नो परिचय खुलाउन दबाब दिन्छिन् । यदि नखुलाएमा त्यहाँबाट उम्किन नदिने भनेपछि केही सर्तमा आफ्नो परिचय खुलाउन यलम्वर तयार हुन्छन् ।

उनका हरेक सर्त मान्न तयार भएपछि यलम्वरले रुक्मिणीको हातमा अक्षता थमाउँछन् । यलम्वरले आफ्नो सक्कली रूपको दर्शन पाएपछि त्यो अक्षता छर्किनु अनि म मानव रूपमा आउँछु भन्छन् ।

रुक्मिणीलाई यो रहस्यबारे कसैलाई नबताउन भनिएको हुन्छ । त्यसपछि भैरव रूप धारण गरेर यलम्वर रुक्मिणी अघि आइपुग्छन् । त्यस्तो भयानक भैरव रूप देखेर रुक्मिणी त्रासले चिच्याउन थाल्छिन् । भयले गर्दा भैरवमाथि अक्षता नछरी रुक्मिणीले आफैँ निल्छिन् । परिणाम स्वरूप भैरवकै रूपमा यलम्वर टेकुको पचलीमा स्थापित हुन्छन् । त्यसपछि रुक्मिणीले यलम्वरलाई श्रीमानको रूपमा नभई भगवानको रूपमा मात्र दर्शन गर्न पाउँछिन् ।

आफूले गरेको गल्तीका कारण बाबुको पहिचान नै नखुलेको छोरालाई हुर्काउँदा उनले भोगेको दुःखलाई नाटकमा रोचक तरिकाले प्रस्तुत गरिएको छ ।

यसबीच नाटकमा आउने उतारचढाव, सांस्कृतिक झलक र कलाकारको मेहनत हेर्न एकपटक कौसी थिएटर पुग्नैपर्छ । सांस्कृतिक नाटक ‘पचली भैरव’ बज्र कला कुञ्जको प्रस्तुतिमा चन्द्रमान मुनिकारले निर्देशन गरेका हुन् । इँगिहोपो कोंइच सुनुवारले कथालाई नाट्य रूपान्तरण गरेका हुन् ।

नाटकमा निरज शाक्य र यचु शाक्यको सङ्गीत संयोजन र चन्द्रमान मुनिकार र भागीरथी शाहीको नृत्य निर्देशन सबैभन्दा बलियो पक्ष बनेर उभिएको छ । नाटकमा जम्मा ११ जना कलाकारले अभिनय गरेका छन् । कुनै पौराणिक इतिहासलाई नियालिरहेको अनुभूति दिने नाटक ‘पचली भैरव’ कौसी थिएटरमा कार्तिक २५ गतेदेखि लागेको हो ।

मङ्सिर ४ गते नाटकको अन्तिम शो हुनेछ । शनिबार फुर्सद हुने कर्मचारी र विद्यार्थीलाई समेत लक्षित गरेर दिउँसो १ बजे र बेलुकी साढे ५ बजेको शो राखिएको छ । अरू दिन भने दिउँसो १ बजे एउटामात्र शो हुन्छ ।

-तस्बिर : सरोज बस्नेत/मकालुखबर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *