जनगणनाको भाषिक दाउपेच र नेपाली भाषाहरूको लेखा

राष्ट्रिय जनगणना २०७८ जारी छ । मुलुक सङ्घीय प्रणालीमा गएपछिको पहिलो जनगणना भनेर चिनिने यो कार्यक्रमले नेपाल राष्ट्रका केकति स्रोत, सम्पदा र सम्भाव्यताका तथ्यगत सूचना एकीकृत गरेर पस्किन्छ त्यो थाहा पाउन अझै केही महिना लाग्ने नै छ । संविधानको व्यवस्थाअनुसार हेर्ने हो भने यो जनगणनाको काम स्थानीय सरकारले सम्पादन गर्नुपर्ने काम हो तथापि सङ्घीय सरकारले एकात्मक सरकारको धङ्धङेस्वरूप ठूलो स्रोत खर्च गरेर यो काम सम्पन्न गराउँदैछ ।

सङ्घीय तहको सरकारका लागि गरिदिनुपर्ने यो कामलाई स्थानीय सरकारहरूले केकति तथ्यगत बनाउन सहयोग गर्ने हुन् त्यो पनि हेर्न बाँकी छ । यो जनगणनामा पहिलेको तुलनामा भाषा, संस्कृति, धर्म र जातीय पहिचानका विषय सबैभन्दा चर्को रूपमा चर्चामा ल्याइएका विषय हुन् । यो जनगणनाको नतिजाले थुप्रै मिथ्याङ्कलाई तथ्याङ्कका रूपमा अभिलिखित गर्नेछ जुन कम्तीमा आउँदो १० वर्षका लागि आधाररेखीय तथ्याङ्कका रूपमा सबैले स्वीकार गरेरै अगाडि बढ्नुपर्नेछ । सबैभन्दा बढी भाषासम्बन्धी मिथ्याङ्कले तथ्याङ्कको मान्यता पाउने कुराचाहिँ जनगणना नहुँदै स्पष्ट भइसकेको छ ।

भाषाको नालीबेली कसरी बटुलिँदै छ ?
जनगणनामा भाषालाई मातृभाषा, पुर्ख्यौली भाषा र दोस्रो भाषा भनेर सोधिने भएको छ । मातृभाषा भनेको बोली वा जिब्रो फुटेको भाषा हो भने पुर्ख्यौली भाषा भनेको बाजेबज्यै जिजुबाजे जिजुबज्यैहरूले व्यवहारमा प्रयोग गरेको भाषा हो । दोस्रो भाषा भनेको चाहिँ केलाई भनिएको हो? यसबारेमा उत्तरदाताहरू अन्योलमा पर्ने देखिन्छ । उदाहरणका लागि, पङ्तिकारको मातृभाषा नेपाली हो, पुर्ख्यौली भाषा पनि नेपाली नै हो‚ अब दोस्रो भाषा के ? भन्ने प्रश्नको उत्तर दिँदा अङ्ग्रेजी, हिन्दी, संस्कृत केचाहिँ भन्ने होला भनेर पङ्तिकार नै अन्योलमा छ ।

काठमाडौँबाहिर हुर्केबढेको नेवार समुदायका अधिकांश मानिसको मातृभाषा नेपाली होला, पुर्ख्यौली भाषा नेवा लेख्लान् दोस्रो भाषा के लेख्नुपर्ने? भोजपुरमा राई लेख्ने? धनकुटा इलामतिर राई लिम्बू लेख्ने कि अङ्रेजी‚ हिन्दी लेख्ने ? उदयपुरमा थारू र राईहरूमा केहीको मातृभाषा नेपाली केहीको राई र केहीको थारू होला तिनले पुर्ख्यौली भाषा के लेख्ने दोस्रो भाषा के लेख्ने । पाँचथरको पौवासार्तापतिर तामाङ र लिम्बू जातिका मानिसहरू तामाङ र लिम्बू दुवै सरोबरी बोल्छन् अब तिनले मातृभाषा, पुर्ख्यौली भाषा र दोस्रो भाषा के लेखाउलान्? यी प्रश्नहरूबाट भाषाको नालीबेली बटुल्याइ खोटपूर्ण हुने इसारा मिल्छ ।

मातृभाषा र पुर्ख्यौली भाषा लेखाउन जारी फर्मानहरू
जातिभाषाका सरोकार समूहहरूले आफ्ना समूह/समुदायका सदस्यहरूलाई जनगणनामा भाषासम्बन्धी विवरण कसरी लेखाउने भनेर जारी गरेका फर्मान सामाजिक सञ्जालमा निकै अगाडिदेखि देखा परेका छन् । मूलतः राई/लिम्बू/मगर समुदायका प्रतिनिधिमूलक वा सरोकार संस्थाको रूपमा परिचित राई किरात यायोक्खालगायतका संस्थाहरूले मातृभाषामा बोल्न जाने पनि नजाने पनि जाति भाषा, पुर्ख्यौली भाषामा जाति भाषा र दोस्रो भाषामा पनि निकटतम जाति भाषा लेख्ने उर्दी जारी गरेका छन् ।

यता संस्कृत भाषालाई मातृभाषाको रूपमा स्थापित गर्न संस्कृत भाषा अभियन्ताहरू लागि परेका छन् र विशेष गरी बाहुन समुदायका मानिसलाई मातृभाषा र पुर्ख्यौली भाषा संस्कृत लेखाउने र दोस्रो भाषा नेपाली लेखाउने उनीहरूको पनि बाहुन समुदाय विशेषमा उर्दी गरेको पाइन्छ । यस्तै सुदूर पश्चिममा डोट्याली, अछामी र बझाङी भनेर मातृभाषा लेखाउने गरी आग्रह र उर्दी गरिएका सूचना पनि सामाजिक सञ्जालमा छाएका भेटिन्छन् । नेपाली मातृभाषीले पनि मातृभाषा नेपाली नभनी नेपाली भाषाकै उपभाषिका केन्द्रीयलाई खस, ओरपच्छिमा/परपच्छिमालाई अछामी बझाङी आदि नाम दिई नयाँ मातृभाषाका रूपमा स्थापित गर्न खोजेको देखिन्छ ।

दोस्रो भाषाको अग्रणी हिन्दी र अङ्रेजी भाषा स्थापित हुने
उता तराईमधेसतिर नेपालीलाई दोस्रो भाषाको रूपमा नलेखाउने कुरा त धेरै अगाडि देखि चल्दै आएको कुरा हो । तराईमधेसमा पहिलो भाषा मैथिली, भोजपुरी, थारु, अबधी, दरैलगायत रहेकाले मातृभाषा र पुर्ख्यौली भाषाका रूपमा त तिनीहरू उल्लेख भएर आउलान् तर दोस्रो भाषाको रूपमा त्यताबाट आउने भनेको हिन्दी भाषा नै हो किनभने तराईमधेसमा हिन्दी भाषा जनजीवनको सम्पर्क भाषा हुँदै हो ।

यता पहाडमा पनि धेरै मानिसहरू भारतमा गएर आएका घरमूलीले दोस्रो भाषा केभन्दा हिन्दी नै भन्छन् । नेपाली मातृभाषीमा पनि जानेको दोस्रो भाषा हिन्दी बताउनेको सङ्ख्या निकै हुनेछ । यसैले यो जनगणनामा दोस्रो भाषाको सूचीमा हिन्दी भाषा ह्वात्तै अगाडि देखिन आउने सम्भावना छ । यसै गरी नयाँ पुस्ता अङ्रेजी माध्यममा पढेका धेरै छन् । उनीहरूले मातृभाषा नेपाली टिपाए पनि दोस्रो भाषा के भन्नेको प्रश्नमा अङ्रेजी नै उत्तर दिनेछन् । यसैले अङ्रेजी दोस्रो भाषाको रूपमा मजाले स्थापित भएको अवस्था देखा पर्नेछ ।

नेपाली भाषीको सङ्ख्या ह्वात्तै घटेको देखिने
जिब्रो फुटेको भाषा नेपाली भए पनि जाति भाषालाई मातृभाषा र पुर्ख्यौली भाषा लेखाउनेको सङ्ख्या कम्तीमा एक लाखभन्दा माथि पुर्याजएर आफ्नो भाषालाई मुलुकका प्रमुख भाषाको कोटीमा स्थापित गर्ने लहड जातिभाषा अभियन्ताको देखिन्छ । यसो हुनाले मातृभाषा र पुर्ख्यौली भाषाको रूपमा राई, लिम्बू, गुरुङ, मगर, तामाङ र संस्कृत आदि भाषा मातृभाषा भएकाको सङ्ख्या ह्वात्तै बढेको आउने सम्भावना बलियो छ । यसो भएमा नेपाली भाषा नै मातृभाषा भएकाहरूको पनि नेपालीइतर भाषा नै मातृभाषाको रूपमा गणना हुनेछ । यसले पहाड मधेस दुवैतिर नेपाली भाषा मातृभाषा हुनेको सङ्ख्यालाई ह्वात्तै घटाएर देखाइदिनेछ । तराईमा पनि नेपाली भाषा दोस्रो भाषाको रूपमा निकै कमजोर हैसियतको देखा पर्नेछ ।

जनगणनापछिको राज्यको राष्ट्रिय भाषानीति कस्तो होला ?
देवनागरी लिपिमा लेखिने नेपाली भाषा अहिलेसम्म हाम्रो सरकारी कामकाज र अभिलेखको एकल भाषा रहेको छ । माथि चर्चा गरिएअनुसार नेपाली मातृभाषी र दोस्रो भाषाको रूपमा नेपाली प्रयोगकर्ताको सङ्ख्या घटेको देखिएमा र दोस्रो भाषाको रूपमा हिन्दी भाषाप्रयोगकर्ताको सङ्ख्या उल्लेख्य ठूलो देखिएपछि हिन्दी भाषालाई समानान्तर रूपमा सरकारी कामकाजको भाषाको रूपमा लिनुपर्ने माग आउनेछ ।

विशेष गरी तराई र भित्री मधेसका जिल्लाहरूमा सरकारी कामकाजको भाषा हिन्दी हुनुपर्ने माग स्वत: चर्कनेछ । प्रदेश तहमा पनि सरकारी कामकाज र अभिलेखको भाषाहरूको माग त्यसैअनुसार आउनेछ र राज्यले संविधान संशोधन गरेर नै ती विषयलाई सम्बोधन गर्दै समाधान निकाल्नुपर्ने अवस्था आउनेछ ।

आउनेचाहिँ तथ्याङ्क कि मिथ्याङ्क ?
जातिभाषा अभियानका कारण धेरै नेपाली मातृभाषीले यस पटक आफूलाई नेपालीइतर भाषाको मातृभाषी लेखाउँदैछन् भन्ने कुरा त माथिको चर्चाबाटै स्पष्ट छ । नेपालका क्षेत्री-बाहुनहरूले कर्मकाण्डको समयमा संस्कृत भाषाको प्रयोग धर्मसंस्कारको प्रयोजनमा गर्ने हुन् । नेपालमा सायदै संस्कृत मातृभाषी मानिस होलान् तर जनगणनामा नेपाली मातृभाषी रहेर दोस्रो भाषाको रूपमा संस्कृत पढेका परिवारमूलीले मातृभाषा संस्कृत लेखाउँदैछन् ।

संस्कृत त नेपालीको पुर्ख्यौली भाषा हो भने पनि पहिलो नभएर दोस्रो पुर्ख्यौली भाषा हो । हो नेपाली भाषीका पुर्खाको भाषा खस, राई, राई लिम्बू, गुरुङ, याक्खा/देवान, भोजपुरी मैथिली, थारू, तामाङ आदि हुन सक्छन्‚ तर मातृभाषा भने नेपाली नै हुने धेरै छन्/छौँ । राई, राई लिम्बू, गुरुङ, याक्खा/देवान, भोजपुरी मैथिली, थारू, तामाङ आदि मातृभाषा हुनेको पनि दोस्रो भाषाचाहिँ नेपाली नै हो किनभने नेपाली जनजीवनमा सम्पर्क भाषा यही हो । अब यस जनगणनाले आउने भाषासम्बन्धी विवरण तथ्याङ्क होला कि मिथ्याङ्क?

जनगणनामा भाषिक दाउपेच र अन्तर्य
मातृभाषा, पुर्ख्यौली भाषा पछि सोधिनुपर्ने प्रश्न सम्पर्क भाषा के हो भन्ने हो? दोस्रो भाषा के हो भन्ने प्रश्नले सम्पर्क भाषा के हो भनेर सोधेको बुझिँदैन । सोधिनुपर्ने प्रश्न तपाईँको सामाजिक सम्पर्कको भाषा कुन हो ? भन्ने भए पनि सुविचारित रूपमै यस्तो प्रश्न सोध्ने गरी प्रश्नावली बनाइएन । यसको सोझो कारण भाषिक दाउपेच हो । खासमा स्थानीय सरकारबाटै तथ्याङ्क अभिलेख गर्न सकिने गरी संविधानले नै अख्तियारी दिएपछि जनगणना नै यस रूपमा नगरेर स्थानीय तथ्याङ्क अभिलेख प्रणालीलाई कम्प्युटरप्रणालीमा लगेर राष्ट्रिय सूचनावली (नेसनल डेटाबेस) बनाउनुपर्ने थियो ।

यो जनगणना यस ढाँचामा गराइएको नेपालका राष्ट्रिय भाषाको विकासका लागि तथ्याङ्क खडा गर्न हो भन्ने भ्रम कसैलाई छ भने अहिल्यै त्यसबाट मुक्त भए हुन्छ । जनगणनामार्फत गरिँदै गरेको भाषिक दाउपेच भनेको नेपालमा हिन्दी भाषा मातृभाषा र दोस्रो भाषाको रूपमा उल्लेख्य हैसियतमा छ भनेर देखाउनु हो । अनि, सम्पर्क भाषा नभनेर दोस्रो भाषा के हो भनेर सोधिनुको अन्तर्य चाहिँ दोस्रो भाषाको रूपमा अङ्रेजी भाषा स्थापित गर्नु नै हो । हुन पनि हिन्दी र अङ्ग्रेजी जान्दिनँ भन्ने र हिन्दी र अङ्ग्रेजी जानेकोमा बढप्पन अनुभव नगर्ने निर्धा नागरिक हामी कति नै पो छौँ होला र ?

प्रतिक्रिया

2 thoughts on “जनगणनाको भाषिक दाउपेच र नेपाली भाषाहरूको लेखा

  1. विश्लेषण एकदमै सही लाग्यो!सुनियोजित रूपमा नेपाली भाषामाथि प्रहार भयो। जो पुस्तौँदेखि एउटा भाषा मातृभाषाका रूपमा बोलिरहेको छ, जनगणनामा टिपाउँदा भने अर्कै भाषा टिपाउँछ। मैले थाहा पाएसम्म नेपाली भाषाको उत्पत्ति भएदेखि नै मेरा पुर्खाको भाषा नेपाली थियो। अहिले कहाँबाट मेरो मातृभाषा संस्कृत भयो म नै
    बेखबर छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *