अनुपमको ‘डुब्स’ बनेका चित्रकार सरोज
काठमाडौँ । नेपालमा बलिउड चलचित्र ‘उँचाइ’ को छायांकन हुने भयो । नेपालबाट समेत कलाकार आवश्यक पर्ने भए । सृजना सूत्रले अडिसनको जिम्मा लियो । अडिसनमा पुगेका थिए‚ चित्रकार सरोज लामिछाने । अन्य मानिसहरू झैँ लाइनमा बसेर उनी अडिसन दिन गएका थिए । तर मनमा भने द्विविधा थियो । यसअघि समेत सृजना सूत्रकै एक बलिउड चलचित्रको अडिसनमार्फत छनौटमा परेका थिए उनी । उक्त चलचित्र बन्ने/नबन्ने अझै टुङ्गो लाग्न सकेको छैन । यो चलचित्र पनि बन्ला/नबन्ला भन्ने द्विविधा मनमा थियो । तर पनि पर्दा अगाडि देखिएर केही सिर्जनात्मक काम गर्ने रहरले उनलाई एउटा भरियाको छोटो रोलकै लागि भए पनि अडिसन दिन लामबद्ध बन्ने स्थिति सिर्जना गरिदियो ।
छोटो भूमिकामा पर्दामा देखिन अडिसन दिन गएका उनी चलचित्रको मुख्य कलाकारको कामका सहयोगी पो बन्न पुगे । भलै उनले त्यो छोटो चरित्र त चलचित्रमा निभाउन पाएनन्‚ तर त्यही चलचित्रमा एक चर्चित बलिउड कलाकारको ‘डुब्स’ बन्ने अवसर भने प्राप्त गरे । उँचाइ चलचित्रमा नेपालमा छायांकन गरिएको भागमा अनुपम खेरको डुब्स बनेर काम गरेका छन् सरोजले । एकातिर चित्रकारको बनिसकेको छवि, अर्कोतर्फ पर्दा अगाडि देखिन खोजिरहेको सानोतिनो रोलका बिच सरोजलाई उँचाइले नसोचेको उचाइ दियो ।
पर्दा पछाडि रहेर आफ्ना चित्रहरू कोरिरहेका लामिछानेलाई देखिने रहर जाग्दै थियो । फाइन आर्ट्स अध्ययन गरेका उनको कलाप्रतिको आकर्षण त्यति नाजायज पनि होइन । उनको मुडी स्वभाव पनि उनलाई आफ्नो सपनातर्फ पाइला बढाउन सहयोगी बनेको छ । होइन भने चित्र देखाएरै देश-विदेश घुमेका उनलाई म्युजिक भिडिओको केही सेकेन्डको दृश्यमा देखिन के जरुरी थियो होला र ? लगनशीलता र अनुशासन भएकै कारण उनले पहिलो पाइला म्युजिक भिडिओको एक दृश्यमा चटपटे व्यापारी बनेर थालेका छन् । उनलाई चलचित्रमा चरित्रको समयावधि या भूमिकाभन्दा पनि कसरी चरित्रलाई राम्रोसँग निभाउनेतर्फ ध्याउन्न हुने बताउँछन् ।
बाल्यकालमा अभिभावकले खोज्ने झैँ पढाइमा अब्बल सन्तान थिएनन् सरोज । पढाइमा कहिल्यै मन गएन भन्छन् उनी स्वयम् पनि । तर अहिले भने आफैँले पढेको ज्ञानमात्रै होइन‚ जीवनमा भोगेको अनुभवसमेत साट्ने शिक्षक, सहजकर्ताको कामसमेत गर्छन् । विद्यालयको पढाइकै समयको कुरा हो, उनी कुनै पनि अतिरिक्त क्रियाकलापमा सहभागी नहुने भएकाले शिक्षकले जबरजस्ती चित्रकला प्रतियोगितामा भाग लिन नाम राखिदिए । ५० जना प्रतियोगी रहेको उक्त प्रतियोगितामा उनी ४९ नम्बरमा परेका थिए । ‘अन्तिम नै हुन्थे होला । तर अर्को एक जनाले चित्र नै नबनाएकाले अन्तिमबाट दोस्रो भएको थिएँ म‚’ उनी रमाइलो गर्दै सरोजले सुनाए ।
त्यसपछि उनी आफैँलाई पनि नराम्रो महसुस भयो । कक्षा ८ को यो घटनालाई उनले मनमा लिए । दिनरात नभनी कोठाको पर्दा बन्द गरेर उनले चित्र कोर्न थाले । फलस्वरूप कक्षा ९ मा पुग्दा शिक्षक सुशील भूमिबाट उनले बनाएको चित्रका लागि प्रशंसा पाए । यो नै उनले जीवनमा पहिलो पटक पाएको प्रशंसा/हौसला थियो । परिस्थिति बदलिन सुरु भयो । कक्षा १० मा पुग्दा उनले गणित शिक्षक मणिलाल अमात्यलाई भेटे । उनै अमात्यले सरोजको जीवनबाट डरलाई हटाउन मद्दत गरे । सरोजलाई अहिले लाग्छ- उनी आफैँमा कमजोर रहेनछन् । ‘डर’ले उनलाई खुम्च्याएको रहेछ । गणित विषय कहिले पास नगरेका उनले अमात्य सरकै कारण एसएलसी पास गरेको बताउँछन् ।
एसएलसीपछि कलेज र कलेज छाडेर रमाउने टिनएजमा सरोज एक्लै बन्द कोठामा चित्र कोरेर समय बिताउँथे । विभिन्न चित्रकारको ग्यालरी अगाडि चुपचाप उभिएर घन्टौँ चित्र कोरेको हेरिरहन्थे । एक पटक त यतिसम्म भयो कि त्यो क्षण सम्झेर उनी अझै पनि हाँस्ने गर्छन् । प्रेमिकासँग भक्तपुरतिर डेट गएका थिए रे सरोज । एक जना अधबैँसे मानिस कमलपोखरी नजिकैको भित्तामा चित्र कोर्दै थिए । सरोज त प्रेमिका छाडेर चित्रकारको नजिक गएर उक्त आकृतिमा पो डुब्न थाले । यस्तो घटना उनको जीवनमा धेरै पटक घटेको छ ।
औपचारिक शिक्षा उनले काठमाडौँ विश्वविद्यालयबाट फाइन आर्ट विषयमा लिएका छन् । तर उनले आफ्नो चित्रकलाको गुरु भने बिके नरबहादुर र रामबहादुर ठाडालाई मान्छन् । चित्रकलालाई थेरापी मान्ने सरोज अझै पनि केही नयाँ सिर्जना गर्नुअघि गुरुहरूलाई भेट्छन् र काम थाल्छन् ।
सरोजले आँखामा पट्टी बाँधेर पनि धेरै चित्र बनाएका छन् । तर एक पटक यसरी नै चित्र बनाउँदै गर्दा पानी भएको गिलास नै ठोकिएर घोप्टियो । धन्न उनीसँग अर्को गिलास पानी समेत स्टकमा थियो । त्यसैले उनको यो शो खराब हुन पाएन । उनले कति पटक एउटा पेन्टिङ बनाउन महिनौँ खर्चिएका छन् भने कति पटक लाइभ स्पिड पेन्टिङ पनि गर्ने गरेका छन् । ५ मिनेटको शोबाट प्राप्त रकम उनले समाज सेवामा पनि लगाएका छन् । उनले एउटा शोबाट सङ्कलित सम्पूर्ण रकमको न्यानो कपडा किनेर इटहरीका ५० विपन्न परिवारलाई वितरण गरेका थिए ।
नेपालमा खासै यस्तो विषयको महत्त्व नबुझ्ने बताउने उनले भारत र बङ्गलादेशमा समेत लाइभ स्पिड पेन्टिङ शो गरेका छन् । एउटा नाइट क्लबमा उनले ५ मिनेटको उक्त शो गर्न समय मागेका थिए । क्लब सञ्चालकले खासै महत्त्व दिएनन् रे । त्यही पनि उनी कुरिनै रहे । ब्रेक टाइममा बल्लतल्ल उनले समय पाएछन् । रातको समय जम्मा ५ मिनेटको शो, क्लबमा आएका मानिसहरू सम्झिदा के नै गर्न सकिएला भन्ने लाग्छ । तर जब उनले पेन्टिङ गर्न सुरु गरे, माहौल अचानक सुनसान भयो । अडियन्सलाई सरोजको यो आर्टले यति आकर्षित गर्यो कि त्यति छोटो समयमा नै उनले करिब ४० हजार रकम प्राप्त गरे । पहिला समय नै दिन नचाहने क्लब सञ्चालकले समेत खुसी भएर १० हजार रकम थपिदिए । यही रकमबाट किनेको न्यानो कपडा बोकेर सरोज इटहरीको डुम बस्तीमा पुगेका थिए ।
अब भने उनी केही समय भूमिगत भएर ब्रस र रङ्गमा हराउने योजनामा छन् । मनमा स्केचहरूको खात नै बनेर बसेको छ । यी नै आकृतिहरूलाई मूर्तरूप दिँदैछन् उनी । अनुपमलाई समेत एउटा पेन्टिङ उपहार दिने वाचा गरेका छन् । त्यस्तै छायाङ्कनका लागि हिमाली भेगमा पुग्दा आँखामा कैद गरेका तस्बिरहरूलाई समेत दुनियाँसामु देखाउनुछ उनलाई । यस्तै यस्तै धेरै बाँकी रहेका र मनमा गडेका ५० भन्दा बढी आकृति कोर्नकै लागि उनी सम्पर्कविहीन भएर काममा लाग्दै छन् ।
चित्रकारिता गर्दै गर्दा कलाकारितामा किन ? उनलाई पटक पटक सोधिने प्रश्न हो यो । जवाफमा उनी भन्छन्, ‘सिर्जनात्मक काम सबै उस्तै हुन् । जसरी पनि आफ्नो भाव व्यक्त गर्ने हो । कहिले चित्र कोर्छु, कहिले फोटो खिच्छु । अब भने अभिनय गरेर भाव व्यक्त गर्न मन छ । यसैले अभिनयमा हात हाल्दैछु ।’
Good saroj sir .
i am proud of you sir . You are great and encourager person to all peoples .
go ahead sir …
ani missing vairaheko xa tyo hamro namche basai 😜😝