आइएमई ‘डबलको डबलको डबल’ अफरमा दाहालले पाए ८ गुणा बढी रकम
काठमाडौँ । विगत वर्षहरूमा झैँ आइएमईले २०७८ का ठूला चाडपर्र्वलाई लक्षित गरी ल्याएको आइएमई डबलको डबलको डबल अफरका बम्पर विजेता सार्वजनिक गरेको छ ।
प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत सार्वजनिक गरिएको नतिजाअनुसार आइएमई सेवाग्राही जीवेश दाहाल बम्पर विजेता छनोट भएका हुन् । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरी एवम् दीपाश्री निरौलाले संयुक्त रूपमा प्रविधिमा आधारित स्टार्ट बटन क्लिक गरी बम्पर विजेता छनोट गरिएको हो ।
दोलखाको वैतेश्वर गाउँपालिका वडा नं ३ मैनापोखरी निवासी दाहालले संयुक्त अरब इमिरेट्सबाट आइएमईमार्फत रु एक लाख ५६ हजार ५५८ घर पठाएका थिए । बम्पर पुरस्कारमा उनले पठाएको रकमको आठ गुणा बढी प्राप्त गरे । बम्पर पुरस्कार विजेता दाहालले प्राप्त रकम बाख्रा पालन विस्तारमा उपयोग गर्ने बताए । उनका घरपरिवारले दोलखामा बाख्रा पालन गरिरहेका छन् ।
कार्यक्रममा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै आइएमई ग्रुपका अध्यक्ष ढकालले विगत २० वर्षदेखि आइएमईले विदेशमा नेपालीले आर्जन गरेको रकम सहज रुपमा घर पठाउने व्यवस्था गर्दै आएको बताए । उनले भने,‘आइएमईले व्यावसायिक नाफाभन्दा पनि संस्थागत सामाजिक उत्तरदायित्व निर्वाहलाई विशेष ध्यान दिएको छ । विप्रेषण दैनिक उपभोगमा अधिक खर्च भएको छ त्यसलाई कम गर्दै प्रतिफल दिने दीर्घकालीन परियोजनामा लगानी गर्न आवश्यक छ ।’
आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सेवाग्राहीसँगको सम्बन्ध अझ सुमधुर बनाउन र व्यवसाय प्रवद्र्धन गर्न प्रस्तुत कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गरे । ब्राण्ड एम्बासडरद्वय गिरी र निरौलाले लामो समयदेखि आइएमईसँग आबद्ध हुन पाउँदा आफुहरुलाई खुशी लागेको बताए ।
गत असोज गते १ देखि कात्तिक २६ गतेसम्म ५७ दिनका लागि कायम रहेको उक्त सेवाग्राहीमूखी अफरअन्तर्गत आठ हप्तामा साप्ताहिक २ जनाका दरले १६ जना, दुई महिनामा मासिक २ जनाका दरले ४ जना र बम्पर लक्की ड्र मार्फत १ जना भाग्यशाली विजेता गरी जम्मा २१ जना लाभान्वित भएका छन् । यसका साथै आइएमई पे मार्फत रेमिटेन्सको भुक्तानी लिँदा रू। २ सय तत्काल बोनसको व्यवस्थाअन्तर्गत हजारौँ सेवाग्राहीहरू यसबाट लाभान्वित भएका छन् ।
अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको थियो । सेवा र शर्तअनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिएको हो । आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यावसायीक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन नपाउने प्रावधान राखिएको थियो ।