७ बजेसम्म सरकारी सेवा, सेवाग्राही खुसी
साेलुखुम्बु । भौगोलिक विकटताको दृष्टिले हेर्ने हो भने सोलुखुम्बु निकै ठगिएको जिल्ला हो । हिमाली जिल्ला भएकोले ‘भौगोलिक विकटता’ लाई स्वाभाविक रूपमा स्वीकारिए पनि प्रशासनिक तथा सरकारी सेवासुविधा लिनका लागि सेवाग्राही (सर्वसाधारण) ले पाउनुपर्ने शारीरिक तथा कायिक दुःखलाई भने सामान्यीकरण गर्न सकिँदैन ।
त्यसो त सोलुखुम्बुमा प्रायः सरकारी कार्यालयहरू सदमुकाम (सल्लेरी) केन्द्रित छन् । बजारीकरण भएका जिल्लाका केही ठाउँमा शाखाका रूपमा नगण्यमात्रामा कार्यालयहरू खडा गरिएको भए पनि खास-खास कामका लागि सल्लेरी नै पुग्नुपर्ने बाध्यता सर्वसाधारणसँग ज्यूँका त्यूँ नै छ ।
मुलुकमा संघीयता लागू भएको र त्यहीअनुसारको तीन तहको सरकार गठन भएको भएपनि राजनीतिक खिचातानीलगायतका समस्याका कारण संघीयताको मर्मअनुरूप काम हुन नसक्दा तत्तत् शिर्षकका सर्वसाधारणका समस्याले काँचुली नफेरेको संघीयताविज्ञहरू नै औँल्याउँछन् । जसै— तपसिलका समस्या र कारणलाई नकार्न पनि सकिँदैन ।
उसो त सरकारी कार्यालयहरू पनि सर्वसाधारणका समस्याहरूसँग त्यति परिचित देखिँदैनन्/हुँदैनन् । यसको अध्ययन गर्ने, विश्लेषण गर्ने र निष्कर्ष निकाल्ने जिम्मा नेपाल सरकारकै हुँदै हो, यद्यपि सोलुखुम्बुको जिल्ला प्रशासन कार्यालय भने सर्वसाधारणका समस्यासँग परिचित मात्रै छैन, कार्यालयीय समय घर्किएपछि पनि सरकारी सेवा दिन पछि पर्दैन ।
यो प्रशासनिक संस्कारका प्रणेता हुन्, गणेश विक्रम शाही । शाही यहाँ करिब एक वर्षअगाडि प्रमुख जिल्ला अधिकारीको हैसियतमा आएका हुन् । उनको आगमनले सोलुखुम्बुको स्थानीय प्रशासनदेखि सुरक्षा प्रशासनसम्म चुस्त रहेको सुखद् तथ्य सुन्न पाइन्छ ।
शाहीले जिल्ला प्रशासनबाट सर्वसाधारणलाई दिने सेवामा सहजता मात्रै बनाएका छैनन्, उनी साँझसम्म आफ्नै कार्यकक्षबाट सर्वसाधारणलाई सेवा दिइरहेका भेटिन्छन् । आफ्नो कार्यालयीय अनुपस्थितिमा पनि अन्य कर्मचारीहरूलाई सर्वसधारणका समस्याबारे बुझेर सेवा दिन आह्वान गर्ने शाही भन्छन्, ‘सेवाग्राहीहरूको सेवा लिएपछिको मुस्कान आफ्नो सफलता भन्ठान्छु ।’
उसै त सोलुखुम्बु भौगोलिक विकटतामा अग्रपङ्तिको जिल्ला, यहाँ जिल्लाका कुनाकन्दराबाट सेवा लिनेहरूको ठूलै जमात सल्लेरी आइपुगछ । सेवा लिनका लागि जिल्लाका विभिन्न स्थानहरूबाट हिँडेरै सल्लेरी पुग्नुपर्ने दुःखले अझै कोल्टो फेरेको छैन । यसो हुँदा जिल्लाको माप्यदुधकोशी, लिखुपिके, महाकुलुङलगायतका गाउँपालिकाहरूका कतिपय स्थानबाट सल्लेरी पुग्न २/३ दिन नै लाग्छ ।
खासगरी यी र यस्तै सर्वसाधारणकै लागि आफूले साँझको ८ बजेसम्म सरकारी सेवा खुला राखेको शाही बताउँछन् । ‘यहाँ भौगोलिक स्वरूप नै यस्तै छ,’ शाहीले भने, ‘उहाँ (सेवाग्राही) हरू धेरै टाढा टाढाबाट हिँडेरै सल्लेरी आउनुपर्ने बाध्यता छ । अथवा उहाँहरूलाई काम सकेर चाँडै जानुपर्ने हुन्छ । अब आज काम सकिएन भने भोलि गर्नुपर्ने बाध्यता हुन्छ । त्यसो हुँदा आजै उहाँहरूको काम सकियो भने त भोलि उहाँहरू बिहानै हिँड्न सक्नुहुन्छ । यसै भनेर सरकारी सेवाको समय लम्ब्याइएको हो ।’
साधारणतयाः सरकारी कार्यालयीय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म भएपनि सर्वसाधारणका समस्यालाई केन्द्रमा राखेर शाहीले यसो गरेका हुन् । उनी चाहन्छन् कि— अरूले पनि सिकुन्, जसले गर्दा सर्वसाधारणहरू सरकारी सेवासँग सन्तुष्ट बनुन् ।
सेवाग्राहीहरूको अनुभव पनि सुखद् नै छ । प्रशासन कार्यालय परिसरमा भेटिएका लाक्पा शेर्पा भन्छन्, ‘प्रशासनको काम/कारबाही पहिलाको भन्दा राम्रो छ । पहिलेभन्दा राम्रै छ भन्छन् सबै ।’ अर्का एक सेवाग्राही सङ्गम तामाङको अनुभूति पनि लाक्पाको भन्दा फरक छैन । उनी भन्छन्, ‘पहिले त धेरै कुर्नुपर्थ्यो । तर, अहिले अलिक चाँडै गर्दोरहेछ ।’ कार्यालयमा कर्मचारीहरूको संख्या सानो भएपनि सर्वसाधारणलाई सेवा दिने सन्दर्भमा मन ठूलै हुनुपर्ने शाही बताउँछन् ।
गृहको नजरमा शाहीकाे जनमुखी काम
गृह मन्त्रालयले शाहीले शुरू गरेको कामलाई सकारात्मक काम भनेको छ । यसलाई जनमुखी भन्दा पनि हुने मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेल बताउँछन्, भन्छन्— ‘यो त राम्रो हो । यसो गर्न सक्नु प्रजिअहरूको सकारात्मक साहस पनि हो ।’
सरकारी कार्यालयीय समयभन्दा पनि बढी समयसम्म सेवा सुविधा उपलब्ध गराउनु मानवतासँग जोडिएको विषय भएको समेत उनी औंल्याउँछन् । ‘खासगरी भीड लाग्ने जिल्लाहरूमा चाहिँ झन् यसो गर्न आवश्यक छ । तर गरेको पाइँदैन । सोलुुखुम्बुजस्तो ठाउँमा खास भीड त नलाग्लान् । तर यो त राम्रो हो । किनकी त्यहाँ भौगोलिक विकटताको कुरा छ ।’
यस्तो कामले राम्रो सन्देश दिने प्रवक्ता पोखरेल बताउँछन्, भन्छन्— ‘सोलुखुम्बुजस्तो विकट जिल्लामा त यसले झनै राम्रो गर्छ ।’ मन्त्रालयले समेत यस्तो काम गर्न प्रजिअहरूलाई ‘मोटिभेट’ गर्ने उनको भनाइ छ ।