नेपालले गर्यो पहिलो टी-२० सिरिज नै क्लीन स्वीप
काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आफ्नो पहिलो टी-२० सिरिज नै क्लिन स्वीप गरेको छ । टी-२० विश्वकपको छनोटको तयारीका क्रममा कतारविरुद्ध तीन खेलको टी-ट्वेन्टी अन्तरराष्ट्रिय सिरिज खेलेको नेपाली महिला टीमले तीनै खेलमा प्रभावशाली जित निकाल्दै सिरिज कब्जा गर्यो ।
दोहास्थित वेस्ट इन्ड पार्कमा बिहीबार भएको सिरिजको अन्तिम खेलमा नेपालले कतारलाई १ सय ९ रनले पराजित गर्दै सिरिज ३-० ले कब्जा गरेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले टी-ट्वेन्टी अन्तरराष्ट्रियमा सर्वाधिक स्कोर बनाउने क्रममा निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६४ रन बनायो । जवाफमा कतारले पूरै २० ओभर खेले पनि नेपाली बलरसामु खुलेर खेल्न असफल भयो ।
उसले निर्धारित ओभरमा ७ विकेट गुमाएर ५५ रनमात्र जोड्न सक्यो ।
कतारका लागि अलिना खानले सर्वाधिक १९ र कप्तान अयेशाले १३ रनको योगदान गरे । नेपालका लागि कप्तान रुबिना क्षेत्री, सरस्वती कुमारी चौधरी र सवनम राईले समान १-१ विकेट हात पारे । नेपालकी कप्तान रुविना क्षेत्री प्लेयर अफ द टुर्नामेन्ट घोषित भइन् । सिता रानामगर प्लेयर अफ द म्याच बनिन् ।
आफ्नो करिअरको पहिलो अर्धशतक प्रहार गर्ने क्रममा सिता राना मगरले सर्वाधिक ८२ रनको अविजित इनिङ खेलिन् । उनले ७२ बलमा ७ चौका प्रहार गरिन् भने नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी समेत बनिन् । त्यस्तै ज्योति पाण्डेले २४ तथा डोली भट्टले १२ रन बनाइन् । काजल श्रेष्ठ १२ रनमा आउट हुँदा सरिता मगर १७ रनमा अविजित रहिन् । कतारकी एन्जेलिन मारे, साची ढाटवाल र आयशले १-१ विकेट लिएका थिए ।
यसअघि नेपालले पहिलो खेलमा कतारलाई १ सय १९ र दोस्रो खेलमा ६१ रनले पराजित गरेको थियो । नेपालले आईसीसी महिला टी-ट्वेन्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप कतारसँग सिरिज खेलेको हो । विश्वकप छनोटमा नेपालले २२ देखि २८ नोभेम्बरसम्म दुबईमा प्रतिस्पर्धा गर्दैछ । नेपाली टिम कतारबाट शुक्रबार दुबई प्रस्थान गर्नेछ ।