गृहमन्त्री खाँण र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच शुक्रबार शिष्टाचार भेटघाट भएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाको सम्बन्ध र विविध साझेदारीका विषयमा छलफल भएको छ ।

भेटमा कोभिड–१९ महामारीमा भएको सहकार्य, नेपालको विकासका प्राथमिकता, नेपालको सामाजिक तथा आर्थिक विकासमा अमेरिकाले पुर्‍याएको सहयोगलगायत विषयमा छलफल भएको थियो ।

भेटमा सहायक विदेशमन्त्री लु र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी सहभागी थिए । त्यस्तै भेटमा नेपालको अर्थतन्त्रमा जलवायु परिवर्तनले पारेको असर र समाधानका लागि गर्नुपर्ने कामबारे पनि छलफल भएको थियो । उनी दुई दिने नेपाल भ्रमणका लागि बुधबार नेपाल आएका हुन् ।

भेटमा गृहमन्त्री खाँणले नेपालको कोभिडविरुद्धको लडाइँमा सहयोग उपलब्ध गराएकोमा अमेरिकालाई धन्यवाद दिए । उनले अमेरिकी सरकारले कोभिडपश्चात् अर्थतन्त्रको पुन:उत्थानमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

नेपाल भ्रमणका लागि सहायक विदेशमन्त्री लुलाई धन्यवाद दिँदै गृहमन्त्री खाणले यो भ्रमणले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *