निभा शाहका दुई कविता : मनसरा र मार्क्सकाे खेती

अछाम । आफैँ योद्धा भएर लडेको ‘जनयुद्ध’ भर्खरै सकिएको थियो । जसले खासगरी भुईँमान्छेकाे जीवनमा ठूलो परिवर्तन ल्याउने आशा धेरै लडाकुजस्तै निभा शाहलाई पनि थियो । समानताको युग र दीनहरूकाे दिन ल्याउन लडेको त्यो युद्धले नयाँ बिहान ल्याउनेमा उनी पूर्ण सहमत थिइन् ।

माओवादी शान्तिपूर्ण आन्दोलनमा आइवरि सरकारमा पुग्यो । अब त्यो सपना पूरा हुनै लाग्यो भन्ने आशाको रङ् झन्‌झन् प्रगाढ हुँदै गयो । यस्तै बखतको कुनै दिन निभा आफ्नो घर अछामको कालिमाटीबाट सदरमुकाम मंगलसेन जाँदै थिइन् । बाटोमा पर्थ्याे ढल्ल्याको डाँडो । जहाँ पुग्दा उनले एउटा दृष्य देखिन् । उकालोतिरबाट भरियाहरू तर्तरी पसिना बगाउँदै भारी बोकेर गइरहेका थिए । त्यहिबेला उताबाट एक व्यक्ति घोडामा सवार थिए । उनले ती ठाँटबाँटसँग हिँडिरहेका सुकिला मुकिला व्यक्ति सिडिओसाहेब हुन् भन्ने थाहा पाइन् ।

त्यो दृष्य विरोधाभाषपूर्ण लाग्यो उनलाई । एक विद्रोही चेतसहितको कवि मात्र होइन समानताका लागि बन्दुकै उठाएको पात्र हुनुका हिसाबले पनि उलनाई यो दृष्यले बढी छुनु स्वाभाविक थियो । रगत र पसिनाले जिन्दगी मात्र होइन युग नै बदल्न सकिन्छ भन्ने सुनेर, सुनाएर, घोकेर, घोकाएर अनि विश्वासै गरेर ल्याएको व्यवस्थामा पनि पसिना बगाउनेको दिन नआएको र उनीहरूकाे दशा नफेरिएको पर्याप्त प्रमाण थियो त्यो दृष्य ।

उनलाई त्यो दृष्य विरोधाभाषपूर्ण लाग्यो । जसले उनको दिमागलाई हिर्काइरह्यो, हल्लाइरह्यो । सदियौँदेखि रगत पसिना बगाउनेको जीवन किन फेरिएन ? के अब पनि उस्तै हुनेहो व्यवस्था र उनीहरूको अवस्था ? उनीभित्र अजस्र प्रश्नहरू जन्मिरहे । उनी मंगलसेन गइन्, फर्किइन् । दिमागमा त्यो दृष्य र प्रश्नले लगातार घन हानिरहेकै थियो ।

उनी कविताका प्लटहरु बुन्दै थिइन् । केही दिनपछि उनलाई तत्कालीन पर्यटनमन्त्री हिसिला यमीको सचिवालयबाट फोन आयो । जसमा उनलाई मन्त्रीसँगै भ्रमण दलमा रहेर अस्ट्रेलिया जान अफर गरिएको थियो । उनलाई लाग्यो— ‘अस्ट्रेलिया गएँ भने यो कविता मर्छ ।’ उनले मकालुखबरसँग भनिन्, ‘उता जाने लोभ गरेको भए म पासपोर्ट बनाउन लाग्नुपर्थ्याे । गएपछि केही समय घुमिइन्थ्यो होला उतैको दृष्य हावी हुन्थ्यो त्यसपछि त यो कवितै मर्ने थियो नि ।’

उनले सचिवालयकमा आफू अछाममा कुनै नीजि काममा व्यस्त रहेकाले अस्ट्रेलिया जान नभ्याउने निर्णय सुनाइन् । ढल्ल्याको डाँडोमा गर्भाधान भएको कविता कोरलिन करिब ९ महिना लाग्यो ।

कविताकाे शुरूमा उनले ‘मनसरा’ को ठाउँमा ‘सँजली’ राखिन् । (सँजली थारु शब्द हो । जसले साइँली भन्नेजस्तो अर्थ दिन्छ ।) उनले त्रिचन्द्र क्याम्पसमा सँजली राखेर कविता बाचन पनि गरिन् । फेरि केही नमिलेको हो कि जस्तो लाग्यो । ‘यो पहाडी परिवेशमा लेखेको कवितामा पहाडकै कुनै पात्र राख्नु अझ सान्दर्भिक हुन्छ’ भन्ने निष्कर्षमा पुगेपछि उनी कवितामा राख्ने अर्को पात्र खोज्न थालिन् ।

उनको दिमागमा आयो मनसरा । मनसरा खासगरि पश्चिम भेगको अझ पहाडी भेगका महिलामा धेरैको नाम मध्येको एक हो । अझ दलित समुदायमा धेरै महिलाको नाम मनसरा राख्ने गरेको उनले पाएकी थिइन् । निभाकै गाउँमा अलि तलकी एक पात्र थिइन् ल्वारी आमा, उनकी छोरीको नाम पनि मनसरा नै थियो । उनले यही नाम तय गरिन् र कविताको शिर्षक नै फाइनल गरिन्– मनसरा ।

यो कविता सबैभन्दा पहिले मूल्याङ्कन पत्रिकामा छापियो । निकै चर्चा पायो । अलि पछि जनादेशमा पनि छापियो । त्यसपछि कविताको चर्चा चुलियो । अहिले निभा शाहलाई सम्झनासाथ मनसरा फुत्त मुखमा आइहाल्छ । उनले २०७२ सालमा मनसरा नामको कविता संग्रह प्रकाशन गरिन् । भर्खरै गायक तथा संगितकार रामेशले यो कविता गाएका पनि छन् । जुन केही समयमा सार्वजनिक हुँदैछ ।

माओवादी नेतृत्वको सरकार पटकपटक बन्यो । तर उनी सन्तुष्ट हुन सकिनन् । आफ्ना नेताहरू पनि पूराना शासकहरू जस्तै जनतालाई ढाँट्ने र झुक्याउने काममा लिप्त भएको उनलाई लाग्न थाल्यो । उनले सोच्न थालिन् उस्तै व्यवस्था आउने हो भने त यत्रो विद्रोहको के अर्थ ? उनले धेरै सोचिन् नेताहरूलाई भनिन् खबरदारी पनि गरिन् । तर पनि उही जनतालाई झुक्याउने चरित्र र चिन्तन हावी हुँदै गएको निष्कर्ष निकालिन् ।

मनभरि आक्रोशको ज्वाला दन्किरहेको थियो । एक कविका रूपमा उनले अर्को कविता ओकलिन् र शिर्षक दिइन् मार्क्सवादकाे खेती । जुन कविता पनि चर्चित रह्यो । जुन कविता पनि मनसरा संग्रहमै संग्रहित छ । यो कविता लेखेपछि धेरैले यस्तो कविता किन लेखेको भनेर एकखालको धम्की नै पनि दिएको उनको अनुभव छ । तर लागेको कुरा म किन नलेखुँ ? जे हो त्यो सत्य किन छोपुँ ? अरुले त ढाँटे म ढाँट्दिनँ, उनले अठोट गरिन् । उनको यो कविताले अहिले पनि नेपालको शासकीय चरित्रलाई दुरुस्त उतारेको ठान्नेहरु धेरै छन् ।

हालैको एक दिन निभा शाह अछामको साँफेबगर नगरपालिका १ कालिमाटीस्थित आफ्नै घरमा भेटिइन् । त्यो घर त्यही जहाँ उनले मनसरा लेखेकी थिइन् । आफ्नै घरको आँगनमा बसेर निभाले यी २ कविता बाचन गरेकी छन् । भिडिओ-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *