बाजेले थालेको पेसामै दङ्ग नाति

काठमाडौँ । नेपालमा काम नपाइने समस्या वर्षौँदेखिको हो । सँगै, दक्ष जनशक्ति नपाउने समस्या पनि उत्तिकै छ । एकातिर मान्छे नपाइनु अर्कातिर काम नपाइनु भन्नुको मतलब बजारमा आवश्यकताअनुसारको जनशक्ति उपलब्ध नहुनु भन्ने हो ।

१२ कक्षा पढ्दै गर्दा आफ्ना धेरै साथीहरूजस्तो ‘बाहिर जान ट्राई गर्ने’ योजना कहिल्यै बनाएनन् आनन्दज्योती शाक्यले । किनपनि भने उनीसँग मात्र होइन उनको परिवारकै हातमा पुस्तैनी सिप थियो । ‘मलाई याद हुने बेलादेखि नै हजुरबुबा, हजुरमाले बुनाइको काम गर्नुहुन्थ्यो । विशेषगरी उलनका सामग्री । ग्राहकहरू हाम्रो घरमै आएर सामान लैजानुहुन्थ्यो ।’

आनन्द हुर्किँदै जाँदा बुबाले पनि यही पेसाबाट सन्तोषजनक आम्दानी गरेको उनले देखे । बुबाले बुनाइबाटै परिवार धान्न र केही बचाउन पनि सकेको देखेपछि उनलाई यो पेसाप्रतिको मोह झन् बढ्यो । उनले पनि यही ‘खानदानी व्यापार’मै हात हाल्ने निधो गरे । यसैकारण उनलाई आफ्ना अरू धेरै साथीले जस्तो प्लस टु सकेपछि विदेश जाने ट्राई गर्ने सपना देख्न परेन ।

‘विदेश जाने सोच नै आएन । घरमै बसेर राम्रो कमाइ हुने भएपछि त्यतातिर सोच्नुपर्ने परिस्थिति नै भएन’ भर्खरै सकिएको हस्तकला व्यापार मेलामा भेटिएका उनले भने, ‘आफूले आयआर्जन गर्ने मात्र होइन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा अरू धेरै व्यक्तिलाई रोजगारीको अवसर पनि दिएका छौँ यो थप खुसीको कुरा हो ।’

‘शाक्य द निटिङ क्रियट अन ट्रेडर्स’ नामको उनको कम्पनी काठमाडौँको नरदेवीमा छ । जहाँ हातबाट बुनेका उनी सामानहरू पाइन्छ । उनी हस्तकला नगरी ललितपुरका बासिन्दा हुन् । उनले उद्योगबाटै र अनलाइनबाट पनि सामान बिक्री गर्ने गरेको छ । कोभिड शुरु हुनु अघिसम्म ठमेलमा उनको पसल थियो । तर कोभिड सुरु भएसँगै त्यो पसल बन्द गर्नुपर्दा निकै नरमाइलो लागेको उनी बताउँछन् ।

कोभिड अघिसम्म आनन्दले जापान, अमेरिका, बेलायत, अस्ट्रेलियामा सामान निर्यात गर्ने गरेका आनन्द त्यसयता नेपालभित्र मात्र बजार खुम्चिएको बताउँछन् ।

विदेशको व्यापार ठप्प भएपछि आनन्दले नेपालकै पहिरन संस्कृतिलाई केन्द्रमा राखेर सामान बनाउने र बेच्ने योजना बनाए । नेपालभित्र मात्र खास व्यापार नहोला कि भन्ने डर भएपनि खासमा त्यस्तो नभएको उनको अनुभव छ । ‘मलाई हामीले बनाएको हस्तकलाको सामग्री नेपालीले मन पराउँदैनन् भन्ने लाग्थ्यो । तर त्यस्तो होइन रहेछ । हामीले हाम्रै देशका उपभोक्ताका लागि उपयुक्त हुने सामान नबनाएर, निर्यातमा मात्र केन्द्रित भएर त्यस्तो लागेको रहेछ, अहिले हामीले नेपालमा नै राम्रो मार्केट बनाइ सकेका छौ ।’

आफ्नो उद्योगले वार्षिक करिब ४ करोड रुपैयाँको कारोबार गर्ने बताए । यसबाट लगानी कटाएर २० प्रतिशतसम्म नाफा हुने उनले बताए । अहिले ‘शाक्य द निटिङ क्रियट अन ट्रेडर्स’ ले विशेषगरी स्वेटर, ब्याग, मफलर, मोजा, पञ्जा, पर्स, हेयर ब्याण्ड लगायतका उनी सामान बनाएर बेचिरहेको छ । नेपालमा नै उपलब्ध कच्चा पदार्थ र नपुगलाई भारतबाट आयात गरी सामान तयार हुने गरेको शाक्यले बताए । नेपालमा आफूले व्यापारमा फेसन र ट्रेण्डअनुसार सामान परिमार्जन गर्न सके राम्रो व्यापार गर्न सकिने पनि उनले बताए ।

उनको उद्योगमा नियमित काम गर्ने १६ जना छन्, जसमा महिला धेरै छन् । त्यस्तै काभ्रेपलान्चोक, भक्तपुर, ललितपुर र काठमाडौँका अन्य २ सय जना महिला उनको उद्योगसँग जोडिएर काम गरिरहेका छन् । घरमै बसेर काम गर्न चाहने महिलाको लागि कच्चा पदार्थ उपलब्ध गराउने र तयार भएको सामानका आधारमा पारिश्रमिक दिने गरेको शाक्यले मकालुखबरलाई बताए । आफूले व्यापारबाट गर्ने मुनाफासँगै धेरै परिवारको आय आर्जनमा सहयोग गर्न पाएकोले थप खुशी दिने उनी बताउँछन् ।

हातमा सिप भए बेरोजगार बस्न नपर्ने भएकाले सिप हुनु महत्त्वपूर्ण कुरा भएको उनको ठम्याई छ । सँगै व्यापारका लागि चाहिँ धैर्यता र समयअनुसार आफूलाई चलाउने ढङ्ग पनि जरुरी हुने आफूले सिकेको उनी बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *