डेढ दशकसम्म माधव नेपालको नेतृत्व : एमाले ‘न पोथी न भाले ?’
काठमाडौँ । तत्कालीन नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराई नेकपा (एमाले)लाई ‘न पोथी, न भाले’ भन्थे । यसको अर्थ एमाले यता न उताको अर्थात् मध्यमार्गी धारको भयो भन्ने थियो । हुन पनि ‘मझधार’मा बस्ने एमालेको स्पष्ट लाइन नभएको भान हुन्थ्यो । वास्तवमा एमालेलाई ‘मझधार’को पार्टी बनाउन सबैभन्दा ठूलो हात माधव नेपालको थियो ।
नेपालले करीब १५ वर्ष एमालेको नेतृत्व गर्दा एमाले न बहुमतप्राप्त शक्तिशाली पार्टी बन्न सक्यो‚ न त खिइँदै सकियो नै । त्यो अवधिमा एमाले प्रायः कांग्रेसभन्दा पछाडिकै पार्टी भइरह्यो र संसद्भित्रका ‘फोहोरी खेल’मै रुमल्लिरह्यो ।
मदन भण्डारीको प्रखर वाक्–क्षमतामा प्रभाव जमाइरहेको एमालेमा माधव नेपाललाई अकस्मात महासचिवको शक्तिशाली पद मिलेको थियो । लामो राजनीतिक विरासत भए पनि तत्कालीन अवस्थामा मदन भण्डारीको ठाउँ उनले लिने अवस्था थिएन । तर, दासढुंगा जीप दुर्घटनापछिको शोक अवस्थामा उनी एमालेको कार्यकारी पदमा पुगेका थिए । उनी २०५० जेठ ९ गते एमाले केन्द्रीय कमिटीको बैठकबाट सर्वसम्मत महासचिव भएका थिए ।
माधव नेपालको राजनीतिक जीवन
माधव नेपाल १३ वर्षकै उमेरमा राजनीतिमा लागिसकेका थिए । उनले २०२६ सालमा उनले कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । तर, उनी सक्रिय राजनीतिमा थिएनन् । उनी राष्ट्रिय वाणिज्य बैंकमा काम गर्थे । उनी २०३१ सालतिर मात्र भूमिगत भएका हुन् ।
एमाले ऐना – १
इतिहासमा एमाले : जन्मियो कसरी‚ को को पुगे नेतृत्वमा ?
२०३२ सालमा अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेसन कमिटी (कोके) को आठजना संस्थापकमा उनी पनि थिए । २०३५ सालमा नेकपा माले गठन भएपछि तीन जनाको ‘ट्रोइका’ पोलिटब्यूरोमा सीपी मैनाली र जीवराज आश्रितसँगै उनी पनि थिए ।
माले स्थापनादेखि नै उनी पार्टीको उच्च पदमा निरन्तर कायम थिए । २०३९ सालमा सीपी मैनालीको प्रस्तावविरुद्ध मदन भण्डारी, मुकुन्द न्यौपानेसहित उनी पनि थिए । तर, उनीहरू अल्पमतमा परेका थिए । तर, २०३९ सालमा नै केन्द्रीय सदस्य मात्र रहेका झलनाथ खनाल उनलाई पछि पार्दै महासचिव भएका थिए ।
२०४४ सालमा सीपी पुनः महासचिवमा फर्किएका थिए भने २०४६ सालको चौथो महाधिवेशनमा मदन भण्डारी महासचिवमा निर्वाचित भएका थिए । त्यो अवधिमा माधव नेपाल मुख्य नेतृत्वमा पुग्न नसके पनि शीर्ष तहको नेता कायमै रहे । त्यसमा उनको कम्युनिष्ट पार्टीप्रतिको निष्ठा पनि महत्वपूर्ण थियो । उनी बैंकको सुविधाजनक जागिर छाडेर कम्युनिष्ट आन्दोलनमा होमिएका थिए ।
चौँथो महाधिवेशनमा मदन भण्डारीले नेपाली क्रान्तिको कार्यक्रममा बहदुलीय जनवादी प्रणालीलाई स्वीकार गर्ने प्रस्ताव गर्दा माधव नेपाल पनि समर्थक थिए । माधव नेपाल, प्रदीप नेपाल, केपी ओली, ईश्वर पोखरेललगायतको साथ पाएपछि नै मदन भण्डारीले पाँचौं महाधिवेशनमा आफ्नो राजनीतिक प्रस्ताव ‘जनताको बहुदलीय जनवाद’ प्रस्तुत गरेका थिए । मदन भण्डारीको निकट सहयोगीको रूपमा माधव नेपाल र केपी ओलीको सम्बन्ध सुमधुर थियो ।
पाँचौं महाधिवेशनयता हरेक पटक माधव नेपाल एमालेको महत्वपूर्ण स्थानमा थिए । २०४९ सालमा भएको पाँचौं महाधिवेशनमा अध्यक्ष मण्डलको अध्यक्ष नै माधव नेपाल थिए । त्यसपछिका महाधिवेशनमा महासचिव र पूर्वमहासचिवको हैसियतमा उनी केन्द्रमा नै थिए । एमाले आफ्नो स्थापना यता पहिलो पटक माधव नेपालविनाको महाधिवेशन गर्दैछ ।
जसले बनाए अस्थिर एमाले
२०४८ सालको आमनिर्वाचनमा एमाले दोस्रो ठूलो पार्टी भएको थियो । मदन भण्डारीको मृत्युअघिसम्म संसद् र संसदबाहिरको भाषण तथा क्रियाकलापले एमालेको प्रभाव बढ्दै गएको थियो । तर, अकस्मात उनको मृत्यु भएको अर्को वर्ष नै आमनिर्वाचन भयो ।
२०५१ को आमनिर्वाचनमा एमाले पहिलो ठूलो पार्टी भयो । एमालेले मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार बनायो । उक्त सरकारमा महासचिव माधव नेपाल उपप्रधानमन्त्री भए । उनी शक्तिशाली मानिने रक्षा र परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा थिए । एमालेको लोकप्रिय नौ महिने सरकारको ‘मास्टर माइन्ड’ उनै माधव नेपाललाई मानिन्छ ।
त्यस सरकारमा केपी ओली शक्तिशाली गृहमन्त्री थिए । वामदेव गौतम भने सरकार बाहिर थिए । उनका लागि विधानमा हुँदै नभएको उपमहासचिवको पद सिर्जना गरिएको थियो । एमालेको त्यही निर्णय पछि घातक सिद्ध भएको थियो । त्यसले पार्टीमा कलहको बीउ रोपेको थियो ।
एमाले – २
स्थापनाको आधार : मनमोहनको छवि र मदनको प्रखरता
एमालेको नौ महिने सरकारपछि नेपालको राजनीति तरङ्गित बन्यो । अस्थिर सरकार बने । त्यस बेला एमालेले ‘राजनीति सुधार’मा प्रयत्न गर्नुभन्दा झनै दूषित बनायो । एमालेले कांग्रेसलाई सत्तामा जानबाट रोक्न राप्रपाका लोकन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनायो । पछि सूर्यबहादुर थापाको सरकारमा पनि सामेल भयो । एमालेको राजनीतिक अडान कतै देखिएन ।
तर, २०५४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेले अभूतपूर्व सफलता हासिल गर्यो । २०५१ सालमा एमाले नेतृत्वको नौ महिने सरकारले गरेको कामको प्रतिफलस्वरुप एमालेलाई जनताले पत्याएको अर्थमा यो निर्वाचनको परिणामलाई लिइएको थियो । तर, त्यही वर्ष एमाले फुट्यो ।
त्यसबेला एमाले महाकाली सन्धिको विवादमा फसेको थियो । फुटअघि एमालेले २०५४ माघ १२–१८ सम्म नेपालगञ्जमा छैटौँ महाधिवेशन भएको थियो । महाधिवेशनपछि माधव नेपाल नै महासचिव चुनिए । उनलाई केपी ओलीको गतिलो साथ थियो ।
महाधिवेशनलगत्तै २०५४ फागुन २१ मा पार्टी विभाजन भयो । सहाना प्रधान अध्यक्ष र वामदेव गौतम महासचिव रहेको नेकपा माले गठन भयो । त्यसको चार वर्षपछि २०५८ फागुन ४ गते पुनः पार्टी एकता भएको थियो । तर, एकता नहुँदै २०५६ सालमा भएको आमनिर्वाचनमा फेरि पनि एमाले दोस्रो ठूलो पार्टी भयो । नेपाली कांग्रेसले बहुमत हासिल गरेर सरकार बनाएको थियो । एमालेलाई फुटबाट जोगाउन नसक्दा नै कांग्रेसले मौका पाएको थियो ।
यति बेलासम्म एमाले सत्तामुखी भइसकेको थियो । संघर्षबाट आएका नेताहरु क्रमशः पाखा लाग्न सुरु भएको थियो । जुनसुकै अवस्थामा जस्तोसुकै तिकडम गरेर पनि सत्तामा पुग्नुपर्ने चरित्र पार्टीमा विकास भएको थियो ।
तर, माधव नेपालले पार्टीमा केही गतिलो काम पनि गरेका थिए । उनकै नेतृत्वमा बल्खुमा एमालेको भव्य मुख्यालय बनेको थियो । कतिपय जिल्ला कमिटीका पनि भवन बनेका थिए । संगठन चुस्त थियो । नियमित लेबी उठ्ने गरेको थियो ।
जब तत्कालीन राजा ज्ञानेन्द्र सत्ता हातमा लिन अग्रसर हुन थाले, एमालेको भूमिका भुत्ते भयो । महासचिव नेपालको गतिविधिले सिंगो एमाले आलोचित हुने अवस्था आयो ।
ज्ञानेन्द्रको राज्यारोहणमा ‘दाम’ चढाएको भनेर अहिले पनि नेपालको खेदो खन्ने गरिन्छ । त्यतिमात्र नभई ज्ञानेन्द्रको ‘कू’पछि २०६० जेठ १९ गते उनले आफूलाई प्रधानमन्त्री नियुक्त गर्न बिन्तीपत्र चढाएका थिए । जसका लागि अहिले पनि एमालेको आलोचना हुने गरेको छ । यद्यपि, उनको बिन्तीपत्रलाई अरु दुई कम्युनिस्ट पार्टी नेमकिपा र राष्ट्रिय जनमोर्चाले पनि समर्थन गरेका थिए । नेपालको त्यो पत्र व्यक्तिगत नभई पार्टीकै माग थियो ।
त्यसको एक वर्षपछि एमालेले सरकारमा जाने अर्को ठूलो भूल गर्यो । एमालेसहित तत्कालीन पाँच दल राजाको प्रतिगमनको विरुद्ध आन्दोलनमा थिए । तर, २०६१ जेठ २० गते एमालेले एकाएक ‘प्रतिगमन आधा सच्चिएको’ निष्कर्ष निकाल्यो । त्यसलगत्तै एमाले राजाले गठन गरेको मन्त्रिमण्डलमा भरतमोहन अधिकारीको नेतृत्वमा सहभागी भयो । तर, त्यही साल माघ १९ मा राजा ज्ञानेन्द्रले पूर्णरुपमा सत्ताको लगाम आफ्नो हातमा लिएपछि मात्र एमाले ब्युँझियो । त्यसपछि मात्र युद्धरत तत्कालीन नेकपा माओवादीसहितका दलको आन्दोलनको वातावरण बनेको थियो ।
माओवादी रापतापको असर : माधव नेपालको ओह्रालो यात्रा
सात दल र तत्कालीन माओवादीको संयुक्त आन्दोलनबाट राजा ज्ञानेन्द्रले घुँडा टेके । देशमा लोकतन्त्र आयो । त्यसपछि प्रतिनिधि सभाको पुनःस्थापना हुँदा माधव नेपाल नै संसदीय दलको नेता बने ।
मुलुकमा शान्ति स्थापनाको प्रक्रिया सुरु भएपछि २०६४ चैत २८ गते संविधान सभाको निर्वाचन भयो । यो निर्वाचनमा एमाले महासचिव माधवकुमार नेपाल दुई ठाउँबाट पराजित भए । उनलाई रौतहट–६ मा देवेन्द्र पटेल र काठमाडौँ–२ मा झक्कु सुवेदीले पराजित गरे । दुवैजना माओवादी उम्मेदवार थिए ।
उक्त निर्वाचनमा एमाले तेस्रो पार्टी बन्यो । हारको नैतिक जिम्मेवारी लिएर नेपालले महासचिवबाट राजीनामा गरे । उनको स्थानमा झलनाथ खनाल महासचिव भए ।
एमाले ऐना-३
यस्तो थियो एमालेमा ‘मदन भण्डारी युग’
माधव नेपालले पार्टी नेतृत्वबाट राजीनामा दिएको एक वर्ष नबित्दै एमालेको आठौँ महाधिवेशन भयो । २०६५ फागुन ५–१४ सम्म बुटवलबाट भएको महाधिवेशनमा पहिलो पटक एमाले बहुपदीय प्रणालीमा गयो । तर, माधव नेपालले पदाधिकारीमा नउठ्ने घोषणा गरे । उक्त महाधिवेशनबाट केपी ओलीलाई पराजित गर्दै झलनाथ खनाल पार्टी अध्यक्ष भए ।
खनालको नेतृत्वमा पनि एमाले सत्तामुखीमात्र भयो । राष्ट्रिय महत्वका विषयमा सही समयमा ठोस निर्णय गर्न सकेन । उसलाई जनजाति र सीमान्तकृतप्रति अनुदार रहेको आरोप लाग्यो । यही अवधिमा एमालेले दुई पटक सत्ताको नेतृत्व गर्यो ।
दुई निर्वाचन क्षेत्रबाट हारेका माधव नेपाललाई तत्कालीन माओवादी र कांग्रेसकै जोडमा संविधान सभामा लगियो । उनलाई संविधान बनाउन नभई नहुने पात्रका रुपमा चित्रित गर्दै संविधानसभा सदस्य मनोनित गरिएको थियो । तर, उनी त्यही अवधिमा पहिलो पटक (२०६६ जेठ ११ देखि २०६७ माघ २२ सम्म) प्रधानमन्त्री भए ।
उनी २०७१ असार १९ देखि साउन १ गतेसम्म काठमाडौँमा भएको नवौँ महाधिवेशनबाट पुनः एमालेको नेतृत्वमा आउन चाहेका थिए । उक्त महाधिवेशनमा नेता नेपाल र केपी ओलीबीच प्रतिस्पर्धा भएको थियो । जसमा ओलीले नेपाललाई झिनो मतले पराजित गरे । ओलीले १०५७ मत पाउँदा नेपालले १००३ मत पाएका थिए । यसपटक हुन लागेको १० औँ महाधिवेशन एमाले इतिहासमा नै पहिलोपटक माधव नेपालबिनाको महाधिवेशन हो ।