नाङ्लोले धानेको जीवन

काठमाडौँ । ठूलो सहरको,ठूलो सडकबाट एउटा गल्ली छुट्टिए जस्तै । ठूलो सहरको ठूलो पसलबाट छुट्टिएको एउटा सानो पसल । नाङ्लोभरिको यो पसलले करिब २० वर्षदेखि राममायालाई साथ दिएको छ, उनको जीवनको सहयात्री जस्तै बनेको छ ।

गाडी आयो, गाडी आयो हल्ला चल्यो । अत्तालिएर जर्‍याकजुरुक उठिन उनी। हामी कुरा गर्न लागेका मात्र थियौँ महानगरीय प्रहरीको गाडी आएको खबर फैलिएसँगै सामान बोकेर कुद्न ठिक्क पर्दै गरेकी राममायाको अनुहारमा एक किसिमको आदेश र आक्रोश देखिन्थ्यो ।

धन्न महानगरको गाडी उनी भएतिर आएन, सिधै गयो । उनी बिस्तारै शान्त भइन् । काठमाडौँको वसन्तपुर क्षेत्र । मन्दिरको छेवैमा एक छेउको बाटोको साइडमै उनको नाङ्लो पसल । उनी एक्लै बोलिन् ‘हजार पाँच सयको व्यापार गर्नुछ त्यही माथि जति बेलै महानगरको सास्ती ।’

गरिब दु:खीको समय नर्फिने नै हो त ? जीवनसँग राममायाको यही प्रश्न छ । केही काम गर्न शरीरले साथ नदिने, शरीरले साथ दिएको काम गर्न अरूले साथ नदिने । यो राममायाको अनुभव हो ।

चाउचाउ, बिस्कुट गुट्खालगायत खत्र्याङखुत्रुङ गोलाकार रूपमा मिलाएर चट्ट पारेर राखेकी छिन् राममाया कार्कीले । उमेरले ५ दशक छुनै लाग्दा उनले पसल थालेको दुई दशक पुग्नै लाग्यो । सिन्धुपाल्चोकको कोठेमा खेती किसानी गर्दै घर व्यवहार धानेर बसेकी राममाया श्रीमान् बिरामी परेपछि पहिलो पटक काठमाडौँ आएकी हुन् ।

श्रीमान् पहिले देखि नै काठमाडौँमा जागिर गर्दथे । एक्कासि उनलाई शरीरले साथ छोड्यो । दुई दशक नै भयो उनी बिरामी परेको । दिमागसम्बन्धि समस्या देखियो । श्रीमान् जागिरे हुदाँसम्म सबै ठिकै चलेको थियो । त्यसपछि राममायाको जीवनमा अझ बढी दुःख थपियो । के काम गर्ने ? कसरी बालबच्चा पाल्ने समस्या थियो नै श्रीमानको उपचार पनि गर्नु थियो । बच्चाहरू पढ्दै थिए ।

के काम गर्ने उनी रनभुल्लमा परिन् । अरू काम नसकिने भएपछि ऋण नै खोजेर भए पनि पसल थाल्ने सोचिन् ।  अनि सुरु भयो राममायाको नाङ्लो पसल । उनको पसल १ देखि २ हजारसम्मको हुन्छ । त्यही सामान बेचेर आएको फाइदाबाट उनको घर व्यवहार चल्छ । नचले पनि उनी चलाउँछिन् । टामटुम जिन्दगी बाँच्ने बानी जो परिसकेको छ ।

‘कहिले सय, कहिले २ सय नाफा हुन्छ’ राममायाले भनिन्, ‘कहिले महानगरको सास्ती मात्र पनि हुन्छ ।’  धेरै पटक महानगरले पसल उठाइदिएको दुखेसो सुनाउँदै राममायाले पहिले पहिले यस्तो केही सास्ती नहुने दिउँसो पनि पसल थाप्न मिल्ने समयको खुब सम्झना गरिन् । ‘अहिले महानगरले धेरै दुःख दियो, नानी गरिखान दिएन’ उनले भनिन् ।

केही समय अघि उनी पेटीमा पसल थापेर बसिरहेकी थिइन् । एक जना युवक आए र उनीसँग गफ गर्न लागे । गफको धुनमा उनले सधैँ जस्तो गाडी आएको चाल पाइनन् । महानगरको गाडीले उनको पसल उठायो । सामान फिर्ता लिन महानगर पुगिन् तर त्यो सामना फिर्ता भएन ।

उनी निराश हुँदै फर्किइन् । उनीसँग कुराकानी गर्ने एक जना पत्रकार थिए । सामान फिर्ता नभएपछि ती पत्रकारले मनमायालाई ५ सयको नोट दिए । यति भएपछि पिडा अलि कम भयो । कम्तीमा बेलुकाको छाकको लागि तनाव भएन ।
तर जिन्दगी फेरि एक पटक नारायण गोपालको गीत जस्तै भोलि उठी कहाँ जाने केही थाहा छैन…हुन पुग्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *