केपी ओलीको राजनीतिक यात्रा : झापा आन्दोलनदेखि एमालेको नेतृत्वसम्म
काठमाडौँ । केपी शर्मा ओली नेकपा एमालेको अध्यक्षमा दोस्रोपटक निर्वाचित भएका छन् । एमालेको १० औँ महाधिवशेनबाट ओली प्रतिस्पर्धी भीम रावललाई फराकिलो मतान्तरले हराउँदै दोश्रो पटकका लागि एमाले अध्यक्ष निर्वाचित भएका हुन् । नवौँ महाधिवेशनमा माधव नेपाललाई हराउन हम्मेहम्मे परेपनि यसपटक ओली सहज जीत हात पार्न सफल भए । उसो त माधव नेपाल पक्षले अर्को पार्टी खोलेपछि ओलीले एकतर्फि विजय हात पार्ने स्पष्ट जस्तै थियो । तर सर्वसम्मत हुन उनले गरेको भगिरथ प्रयत्न भने सफल भएन । अध्यक्षमा रावलको उम्मेदवारीले मात्र होइन उपाध्यक्ष सचिव लगायत पदमा उनले पेश गरेको सूचीमा चित्त नबुझाएर केही नेताले उम्मेदवारी दर्ता गराए । तर चारैजना पराजित भए ।
एमालेमा दोस्रोपटक अध्यक्ष निर्वाचित ओलीको संक्षिप्त जानकारी
नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा केपी ओलीले ‘फरक’ स्थान बनाएका छन् । नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा उनको चर्चा कतै न कतै हुन्छ नै । संघर्षको दृष्टिमा होस् वा नेतृत्वको नजरमा उनी कम्युनिस्ट आन्दोलनको एउटा ‘बिम्ब’ बनेका छन् ।
उनी मोहनप्रसाद ओली र आमा मधु ओलीका छोराका रूपमा २००८ साल फागुन ११ गते शनिबार तेह्रथुमको साविक इवा गाविसमा जन्मिए । बाल्यकालमै परिवारसँगै झापा झरे । जहाँबाट उनको राजनीतिक यात्रा सुरु भयो । उनले झापाबाट जसरी राजनीतिक यात्रा सुरु गरेका थिए, काठमाडौँ पस्दा त्यसको सैद्धान्तिक धरातलमा केही परिवर्तन भइसकेको थियो । पार्टी नेतृत्वमा पुग्दा त पार्टीको सिद्धान्त र केपी ओलीको चरित्रमै धेरै फरक परिसकेको थियो ।
एमाले ऐना-१
इतिहासमा एमाले : जन्मियो कसरी‚ को को पुगे नेतृत्वमा ?
पार्टीभित्र उनको एकता र संघर्षको लाइन पनि एकनासको रहेन । झापा आन्दोलनको बेला उनी नेतृत्वका लागि सीपी मैनाली र राधाकृष्ण मैनालीसँग संघर्षमा थिए । तर, अचानक आन्दोलनबाट पलायन भए । मदन भण्डारीको उदयपछि उनी भण्डारीका निकटतम सहयोगी रहे । भण्डारीको निधनपछि महासचिव बनेका माधव नेपालका निकट सहयोगी भएर निस्किए ।
पछि माधव नेपालसँग उनको संघर्ष भयो । यो संघर्ष अन्तत पार्टी विभाजनसम्मको तहमा पुगेको छ । तर, नेतृत्वका लागि पहिलो पटक प्रयास गर्दा उनको प्रतिस्पर्धा झलनाथ खनालसँग भयो । जहाँ ओली पराजित भए ।
एमाले ऐना-२
एमाले स्थापनाको आधार : मनमोहनको छवि र मदनको प्रखरता
ओली दोस्रो पटक भने माधव नेपाललाई पराजित गर्दै नेतृत्वमा पुगे । महाधिवेशनबाटै लगातार दुई पटक नेतृत्वमा पुग्ने उनी मदन भण्डारी र माधव नेपालपछि एमालेका तेस्रो नेता बनेका छन् । दशौँ महाधिवेशनअघि ओलीका पुराना प्रतिस्पर्धी माधव नेपाल र झलनाथ खनाल दुवै एमालेबाट बाहिरिएकाले यसपटक उनलाई अध्यक्षमा निर्वाचित हुन कुनै सकस भएन ।
ओली नवौँ र दशौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका छन् । आठौँ महाधिवेशनबाट एमाले बहुपदीय प्रणालीमा गएदेखि नै अध्यक्ष पद कार्यकारी पद भएको छ ।
मदन भण्डारी तत्कालीन नेकपा मालेको चौथो महाधिवेशन र एमाले बनेपछिको पाँचौँ महाधिवेशनबाट महासचिवमा लगातार निर्वाचित भएका थिए । छैटौँ र सातौँ महाधिवेशनबाट माधवकुमार नेपाल लगातार महासचिव निर्वाचित भए । सातौँ महाधिवेशनसम्म महासचिव नै शक्तिशाली कार्यकारी पद थियो । मदन भण्डारी र माधव नेपाल दुवै पटक निर्विरोध महासचिव भएका थिए ।
उनी दुईपटक नेपालको प्रधान मन्त्री बने । विसं २०७२ असोज २४ गते नेपालको ३८ औँ प्रधान मन्त्रीको रूपमा निर्वाचित भएका ओली ९ महिना सत्तामा रहे । त्यसबेला भारतले लगाएको नाकाबन्दीमा अडान राख्न सकेकाले उनको प्रशंसा हुने गरेको छ । त्यस्तै २०७४ फागुन ३ मा उनी दोस्रो पटक प्रधान मन्त्रीमा नियुक्त भए । तर करीब दुई तिहाइको बहुमत प्राप्त दल नेकपाका तर्फबाट प्रधान मन्त्री भएका उनले दुईपटकसम्म प्रतिनिधि सभा भंग गर्ने असफल प्रयास गरे । दोस्रोपटक गरेको संसद विघटन अस्वीकृत गर्दै सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधान मन्त्री बनाउन परमादेश जारी गरेसँगै उनी पदबाट बहिर्गमन भए ।
झापा आन्दोलनका ‘क्रान्तिकारी’ ओली
२००८ सालमा तेह्रथुमको इवामा जन्मिएका ओली २०२० सालमा बसाइँ सरेर झापा झरेका थिए । उनी २०२३ सालमा मार्क्सवादी अध्ययन दलको सदस्य भए । २०२५ सालमा कम्युनिस्ट पार्टीको पूर्णकालीन सदस्य बने भने २०२६ सालमा पार्टी सदस्य पाए । त्यही साल उनी पहिलो पटक गिरफ्तारीमा परे । २०२६ देखि २०३० सालसम्ममा उनको जेल पर्ने र छुट्ने क्रम चलिरह्यो । त्यो अवधिमा उनी करिब १० पटक गिरफ्तार भएका थिए ।
२०२७ सालबाट उनले भूमिगत जीवन सुरु गरे । झापा जिल्ला कमिटीले विद्रोह गरेर स्वतन्त्र संगठनका रूपमा झापा आन्दोलन सुरु गर्दा ओली पनि सदस्य थिए । त्यतिबेला कम्युनिस्ट पार्टी छिन्नभिन्न थिए । पुष्पलालको कम्युनिस्ट पार्टीबाट विद्रोह गरी सात प्रान्तीय कमिटीमध्येको एक पूर्वकोशी प्रान्तीय कमिटीले २०२७ सालदेखि स्वतन्त्र रूपमा काम गर्न थालेको थियो ।
एमाले ऐना-३
यस्तो थियो एमालेमा ‘मदन भण्डारी युग’
उक्त प्रान्तीय कमिटीअन्तर्गतको झापा जिल्ला कमिटी भारतमा चारु मजुमदारको नेतृत्वमा चलेको सशस्त्र संघर्षको पक्षमा थियो । तर, पूर्वकोशी प्रान्तीय कमिटी विपक्षमा थियो । यहि विवादमा झापा जिल्ला कमिटी २०२८ सालमा पूर्वकोशी प्रान्तीय कमिटीबाट अलग भयो । उनीहरुले चारु मजमदार लाइनको नक्कल गर्दै ‘झापा संघर्ष’को सुरुवात गरेका थिए । त्यतिबेला उनीहरु ‘वर्गशत्रुको रगतबाट नरङ्गिएको हात कम्युनिस्टको हुन सक्दैन’ भन्थे ।
झापा संघर्षको सुरुवात गर्दा त्यसको नेतृत्वमा राधाकृष्ण मैनाली थिए । २०२८ साउनदेखि उनी झापा जिल्ला कमिटीको सचिव भएका थिए । तर, उनलाई क्षयरोग लागेपछि २०२९ साल साउनमा केपी ओली सचिव भए । करिब ६ महिनामा नै ओलीले नेतृत्व राम्रोसँग बहन गर्न नसकेको भनेर उनलाई हटाइयो । उनले सचिवको हैसियतमा एक पटक पनि बैठक राख्न सकेनन् । त्यही वर्ष फागुनदेखि सीपी मैनाली सचिव भए ।
झापा जिल्ला कमिटीले ‘वर्ग शत्रु सफाया’ अभियान चलाउन एक्सन कमिटी बनाएको थियो । उक्त एक्सन कमिटीमा राधाकृष्ण, सीपी, केपीसहित मोहनचन्द्र अधिकारी र रामनाथ दाहाल थिए । केपी ओली रामनाथ दाहालकै घरमा बस्थे । रामनाथ सम्पन्न व्यक्ति थिए । उनले ओलीलाई ‘धर्मपुत्र’ झैँ बनाएर राखेका थिए । तर, राजनीतिक रूपमा दुवै एउटै सोचका थिए र एउटै कमिटीमा काम गर्थे ।
रामनाथ दाहाल २०२४ सालमा चारपाने गाउँ पञ्चायतमा प्रधानपञ्चको उम्मेदवार भएर पराजित भएका थिए ।
२०२८ सालमा झापा विद्रोह सुरु भएपछि नौ जनाको हत्या भयो । अरु १३ जनाको हत्या प्रयास भएको थियो । राष्ट्रिय पञ्चायत सदस्यसमेत भइसकेका धर्मप्रसाद ढकाल र उनका छोरा ज्ञानी ढकालको हत्या भएपछि भने झापालीहरूविरुद्ध प्रशासनले कडा कदम चाल्न थाल्यो । त्यति बेला रामनाथ दाहाल र केपी ओलीले सँगै घर छाडेर भूमिगत भएका थिए । केही दिनपछि परिवारको हालचाल बुझ्न जाँदा रामनाथ घरैबाट पक्राउ परे भने ओली उम्कन सफल भए । पक्राउ परेका रामनाथसहित नेत्र घिमिरे, वीरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेललाई झापाबाट इलाम जेल सार्ने निहुँमा सरकारले २०२९ फागुन २१ गते सुखानीको जंगलमा पुर्याएर हत्या गर्यो ।
उनीहरूको हत्यापछि आतंकित भएर नै केपी ओली र मोहनचन्द्र अधिकारी झापाबाट भागेको राधाकृष्ण मैनालीले आफ्नो पुस्तक ‘नलेखिएको इतिहास’ मा उल्लेख गरेका छन् । अधिकारी त्यहाँबाट भागेर भारत पसेका थिए । ओली भने तीन महिनाजति मोरङमा लुकेर बसे । उनलाई माधव नेपालले लुकाएका थिए । त्यसपछि भारतको कानपुरमा रहेका अधिकारीसँग सम्पर्क भएपछि उनी पनि भारततिरै लागे । त्यसको केही महिनापछि नेपाल पस्ने क्रममा उनीहरु दुवैजना २०३० असोज २३ गते रौतहटको गौरबाट पक्राउ परे । त्यसपछि ओली लगातार १४ वर्ष र अधिकारी करिब १७ वर्ष जेल बसे ।
यस्तो थियो जेल जीवन
ओलीलाई पहिला वीरगञ्ज कारागार पुर्याइएको थियो । त्यहाँबाट काठमाडौँको भद्रगोल जेलमा लगियो । त्यसको केही समयपछि नै गोलघर पुर्याइएको केपी ओलीले उनकै नाममा खोलिएको वेबसाइटमा राखिएको गोलघरको संस्मरणमा उल्लेख गरेका छन् ।
एमाले ऐना-४
डेढ दशकसम्म माधव नेपालको नेतृत्व : एमाले ‘न पोथी न भाले ?’
गोलघरमा भित्ता र भुइँभरि पनि दिसा पोतिएको कोठामा आफूलाई बस्न भनेपछि नमानेको र विरोध गरेको उनले लेखेका छन् । उक्त कोठामा थुनिएको मानसिक सन्तुलन नभएको व्यक्तिले नजिकैको शौचालयबाट दिसा निकालेर त्यसरी छर्ने र पोत्ने गरेको थियो ।
ओलीलाई सुरुमा त्यही कोठामा बस्न कर गरे । पछि अर्को कम फोहोर भएको कोठामा व्यवस्था गरिदिए । तर, त्यो कोठामा बसिरहेको कैदीलाई भने उही दिसा पोतिएको कोठामा लगेर हालिदिए ।
आफूले जेलका कठिन दिनहरुमा कविता लेख्ने गरेको पनि उनले उल्लेख गरेका छन् । पहिलो पटक जेलमै भेटेको पेन्सिलले चुरोटको बट्टामा कविता लेखेका थिए । गोल्ड फ्लेक दश खिल्लीको बट्टाको सानो खोलमा छोटो कविता लेखेको र त्यो कविता मोहनचन्द्र अधिकारी र जेलका एकजना कामदारलाई बोलाएर सुनाउँदा मन पराएको पनि उनले उल्लेख गरेका छन् ।
त्यसपछि ती कामदारले लगातार लगिदिने गोल्ड फ्लेकका खोलमा उनले सुरुमा छन्दोबद्ध र पछि गद्य कविता लेख्ने गरेका थिए । जेलबाट गोप्य रुपमा बाहिर पठाएका उनका कविता, कथा र निबन्ध त्यतिबेला युगदूत, सागर, झिसमिसे लगायत पत्रिकाले छापेका थिए ।
जेल पर्नुअघि नै उनी अल्सरका बिरामी थिए । पछि उनलाई क्षयरोग पनि लाग्यो । क्षयरोगका कारण उनी रगत वान्तासमेत गर्थे भने अल्सरका कारण दिसाबाट रगत जान्थ्यो । २०३४ सालतिर ओली गम्भीर बिरामी भए । त्यसबेला उनी बसेको ठाउँबाट उठ्न सक्दैन थिए । त्यस बखत जेलमा राधाकृष्ण मैनाली र झापाकै नरेश खरेलले ओलीलाई निकै सहयोग गरेका थिए ।
क्षयरोगले र अल्सरले थलिएर उठ्नै नसक्ने भएपछि आफूले उनको दिसासमेत धोइदिएको राधाकृष्ण मैनालीले उनको पुस्तकमा उल्लेख गरेका छन् । नुवाइधुवाइ गरिदिएर शरीरमा तेल पनि घसिदिन्थे । मैनाली र खरेलले घरबाट आउने पैसाले पनि ओलीलाीई सहयोग गरेका थिए । बिरामी परेपछि प्रशासनले उनको नेल हटाइदियो । उनलाई दैनिक एक पाउ मासु पनि दिन थालियो ।
जेलमा केपी ओलीले धार्मिक पुस्तक स्तोत्रावली पढ्ने गरेको मोहनचन्द्र अधिकारी बताउँछन् । ओलीलाई कांग्रेस नेता भीमनारायण श्रेष्ठले स्तोत्रावली दिएका थिए । बम काण्डमा जेल परेका श्रेष्ठको पछि सरकारले हत्या गरेको थियो ।
ओलीले महाभारत र केही अंग्रेजीका पुस्तक पनि पढ्थे । ती पुस्तक गोप्य ढंगले जेलमा पुर्याइन्थ्यो । ओली १४ वर्ष पछि २०४४ असार ११ गते जेलबाट रिहा भए ।
माधव नेपालसँग एकता, संघर्ष र नेतृत्व
उनी २०४४ पुस २ मा तत्कालीन नेकपा मालेको केन्द्रीय कमिटीको निर्णयबाट केन्द्रीय सदस्य र लुम्बिनी अञ्चलको इन्चार्ज भए । २०४७ सालमा स्थापना भएको प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको संस्थापक अध्यक्ष भएका थिए ।
माले र तत्कालीन मार्क्सवादी एकता भई २०४७ पुस २२ मा बनेको एमालेको उनी केन्द्रीय सदस्य भए । २०४८ सालमा झापा–६ बाट प्रतिनिधि सभामा निर्वाचित भए ।
पाँचौँ महाधिवेशनपछि २०५० सालमा उनी पहिलोपटक एमालेको पोलिटब्यूरो सदस्य छानिए । त्यसलगत्तै प्रचार विभाग प्रमुखको जिम्मेवारी पाए । केन्द्रीय सदस्य हुँदा भने २०४९ सालमा उनलाई विदेश विभाग प्रमुख बनाइएको थियो ।
२०५१ को मध्यावधि निर्वाचनमा उनी झापा-२ बाट संसदमा निर्वाचित भए । २०५१ मंसिर १४ गते गठन भएको मनमोहन अधिकारी नेतृत्वको सरकारमा पहिलो पटक नै गृहमन्त्री भए । त्यति बेला उनी ४३ वर्षका थिए ।
२०४९ सालको पाँचौँ महाधिवेशनमा उनी र माधव नेपाल मदन भण्डारीका निकट सहयोगी थिए । २०५० सालमा मदन भण्डारीको मृत्युपछि माधव नेपाल महासचिव भए । त्यतिबेला पनि ओलीले माधव नेपालको निकट रहेर काम गरेका थिए ।
ओलीलाई एमालेमा माथिल्लो वरीयतामा ल्याउने काम तत्कालीन महासचिव नेपालले नै गरेका थिए । एमाले मनमोहन अधिकारीको नेतृत्वमा सरकारमा हुँदा उपमहासचिवको जिम्मेवारी पाएका वामदेव गौतमलाई पाखा लगाएर २०५४ सालमा माधव नेपालले ओलीलाई तेस्रो वरीयता दिलाए । पहिलो वरीयतामा अध्यक्ष अधिकारी र दोस्रोमा महासचिव नेपाल नै थिए ।
दासढुंगा दुर्घटनामा भण्डारीको मृत्यु भएपछि नेपाललाई महासचिव बनाउन ओलीको पनि सहयोग थियो । पार्टीभित्र सदाबहार प्रतिपक्षी जस्तै रहेको सीपी मैनालीको भन्दा आफ्नो गुट बलियो बनाउन नेपालले ओलीलाई पार्टीमा शीर्ष ठाउँ दिएका थिए ।
एमाले ऐना-५
एमालेमा ओली ‘प्राधिकार’ : माधव नेपालले ठाउँ दिए, उनैलाई हराइदिए
ओली तेस्रो वरीयतामा पुग्नु र उनी सीपी मैनाली, राधाकृष्ण मैनाली, वामदेव गौतमलगायत नेताप्रति सधैँ अनुदार देखिनु पनि २०५४ सालमा एमाले विभाजनको कारण बन्यो ।
२०५४ सालमा नेपालगन्जमा भएको छैटौँ महाधिवेशनमा दुवैजना एउटै गुटमा थिए । सीपी र वामदेवले फरक गुटबाट माधव नेपाललाई चुनौती दिँदा ओलीले नेपाललाई साथ दिएका थिए ।
विभाजनको चार वर्षपछि एमाले–माले एकता भयो । एकता भएको अर्को वर्ष २०५९ सालमा एमालेले सातौँ महाधिवेशन गरेको थियो । यही महाधिवेशनबाट ओलीले महासचिवमा नेपाललाई रोक्ने प्रयास गरे । त्यही महाधिवेशनमा उनले एमालेलाई बहुपदीय प्रणालीमा लैजानुपर्ने प्रस्ताव प्रस्तुत गरेका थिए । तर, त्यो प्रस्ताव अर्को महाधिवेशनसम्मका लागि स्थगित गर्ने निर्णय भयो ।
बहुपदीय प्रणालीको प्रस्ताव माधव नेपालविरुद्ध गठजोडका लागि गरिएको आलोचकहरु बताउँछन् । त्यति बेला उनलाई वामदेव गौतमले साथ दिएका थिए । नेपाललाई रोक्न नसकिने आकलनपछि उनी महासचिवको उम्मेदवार भने भएनन् । तर, केन्द्रीय कमिटीमा पराजित भएका १४ जनालाई त्यही पदमा मनोनीत गराउन भने सफल भए ।
ओलीले २०५६ सालमा नै नेपालविरुद्ध मोर्चाबन्दी कस्न सुरु गरेका थिए । त्यतिबेला उनले संसदीय दलको नेता दाबी गरेका थिए । तर, नेपाल आफैँ संसदीय दलको नेता भए । ओलीलाई उपनेता बनाए । त्यहाँबाट नेपाल–ओली टकराव सुरु भएको थियो ।
त्यसो त नेपाललाई अप्ठ्यारो परिस्थितिमा ओलीको साथ पनि रह्यो । राजा ज्ञानेन्द्र शाहको ‘कू’ पछि माधव नेपाली गिरफ्तारीमा पर्दा कार्यवाहक महासचिव झलनाथ खनाल थिए । खनालले केही नेताको साथ लिएर महासचिवमा नेपाललाई हटाउने तयारी थाले पनि ओलीले रोकेको केही नेता बताउँछन् ।
पहिलो संविधान सभाको चुनावमा पराजित भए पनि माधव नेपाललाई सभाषद् बनाइयो । त्यही मौकामा उनी प्रधान मन्त्री नै भए । उनलाई सरकारबाट हटाउन तत्कालीन माओवादी केन्द्रले सडक आन्दोलन गरेको थियो । तर, प्रधान मन्त्रीबाट राजीनामा नदिन ओलीले नै नेपाललाई भरोसा दिएका थिए ।
२०६२/६३ को जनआन्दोलनमा भने ओली निस्क्रिय थिए । अझ उनले त आन्दोलनकै आलोचना गरेका थिए । तर, आन्दोलनको सफलतापछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा ओली परराष्ट्र मन्त्रालयसहित उपप्रधान मन्त्री भए । त्यसबेला उनलाई सरकारमा पठाउने निर्णय गरेका महासचिव माधव नेपालको आलोचना भएको थियो । किनभने झलनाथ खनाल, अमृत बोहोरा, ईश्वर पोखरेल पनि एमालेको नेतृत्व गरेर सरकारमा जान चाहन्थे ।
तर, आठौँ महाधिवेशनमा भने ओलीले नेपालको साथ पाएनन् । त्यही महाधिवेशनबाट ओलीको चाहनाअनुसार एमाले बहुपदमा गएको थियो । अध्यक्षमा खनाल र ओली प्रतिस्पर्धामा थिए । तर, नेपालले खनाललाई साथ दिँदा ओली ११७ मतले पराजित भए । यहाँबाट भने नेपाल र ओलीको सम्बन्ध कहिल्यै राम्रो भएन । जुन पछिल्लो समय त अत्यन्तै आपसमा अत्यन्तै तल्लोस्तरको गालीगलौचमै र सुन्दा पनि कान बिझाउने तहमा पुगेको छ ।
नवौँ महाधिवेशनमा ओली र नेपालले नै अध्यक्षमा प्रतिश्पर्धा गरे । जसमा ओलीले बाजी मारे । ओलीले १०४७ मत ल्याउँदा नेपालले १००३ मत मात्र पाए । तर, पदाधिकारी र केन्द्रीय कमिटीमा नेपाल पक्षका नेता पनि हाराहारीमा चुनिँदा एमाले शक्ति–संघर्षमा फसेको थियो । त्यही संघर्ष कालान्तरमा विभाजनको कारण बन्यो । ओली एमालेमा शक्तिशाली बने ।
अबका ओली
जेलबाट निस्किएर ओली काठमाडौँ बस्न थालेको तीन दशक नाघिसकेको छ । भक्तपुरको बालकोटमा रहेको एउटै तर फराकिलो परिसरमा दुईवटा घर बनाएर बस्न थालेको पनि वर्षौँ भइसकेको छ । र ‘वर्ग शत्रु सफाया’बाट सुरु भएको ओलीको राजनीतिले पनि धेरै कोल्टे फेरिसकेको छ ।
एमाले ऐना-६
अबको एमाले : ओलीको एकाधिकार, पार्टीभित्र शून्य प्रतिपक्ष !
अहिले उनी हरेक भाषणमा धार्मिक विषय उठाउँछन् । ठोरीलाई ‘राम जन्मभूमि’ भन्दै प्रचार गरेर त्यहाँ मन्दिर बनाउने अभियानमा छन् । यद्यपि, उनी अझै कम्युनिस्ट राजनीतिमा नै छन् । दशौँ महाधिवेशनमा चितवनको सौरहामा भएको बन्द सत्रमा मंसिर ११ गते भाषण गर्दै ‘समाजवाद’, ‘पूँजीवादी’ र ‘कम्युनिस्ट’ जस्ता शब्द प्रयोग गरे । उनले माओवादी केन्द्र र माधव नेपालतिर लक्षित गर्दै ‘कम्युनिस्टहरुको बदनाम गरेको’ आरोप पनि लगाए । चुनाव चिह्न सूर्यको बखान गर्ने क्रममा गायत्री मन्त्रका हरफ उच्चारण र व्याख्या पनि गरे ।
कतिपयले उनलाई ‘धार्मिक कम्युनिस्ट’को रुपमा पनि व्याख्या गर्न थालेका छन् । विरोधीले जस्तो आरोप लगाए पनि उनी एमालेको ‘शक्तिशाली अध्यक्ष’ चुनिएको सत्य हो ।
यस अर्थमा शक्तिशाली कि यति बेला एमालेमा उनका विरोधीको स्वर मत्थर छ । उनीसँग पार्टीभित्र टकराव गर्ने ‘ल्याकत’का नेता माधव नेपाल अर्को पार्टी खोलेर गइसकेका छन् ।
यहि सजिलोलाई उपयोग गर्दै ओलीले ७० बर्से उमेर हदले नछुने गरी ‘चलाखीपूर्ण’ रुपमा महाधिवेशन आयोजना गरे । उनी अध्यक्ष बन्ने लाइन त एमालेको विभाजनपछि नै बनिसकेकै थियो ।