अन्तर सहकारी फुटसल प्रतियोगिता हुने


काठमाडौँ । काठमाडौँमा अन्तर सहकारी फुटसल प्रतियोगिता हुने भएको छ । उज्यालो संपद बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा हुने प्रतियोगिता गोकर्णेश्वर नगरपालिका ४, माकलबारीस्थित मनकामना फुटसल ग्राउन्डमा पुस २ र ३ गते हुनेछ ।
‘खेलमार्फत् हार्दिकता र सहकार्यलाई थप मजबुत बनाउँ’ भन्ने मूल नाराका साथ प्रतियोगिता गर्न लागिएको हो । सहकारी अभियानमा सम्बद्ध संस्थाहरूमा आपसी समझदारी, मित्रता एवम् निकट कार्य व्यवहार सम्बन्धलाई उजागर गर्न यस्ता प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष रमेशप्रसाद तिमल्सिनाले बताए । सहकारी संस्थाबीच हुने यो फुटसलले आगामी दिनमा सहकारीका बिचमा थप सहकार्य गर्न मद्दत गर्ने पनि उनले बताए ।
प्रतियोगितामा पहिलो हुनेले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार रुपैयाँ पुरस्कार पाउने संस्थाका प्रमुख कार्यकारी अधिकृत नवीन नेपालले जानकारी दिए । प्रतियोगितामा भाग लिन चाहने सहकारी संस्थाले यही मंसिर २५ गते बिहीबार कार्यालय समयमा नाम दर्ता गरिसक्नुपर्ने छ ।
