अध्ययन भन्छ- बिजुली चुलोमध्ये सबैभन्दा सस्तो इन्डक्सन

तर‚ नेपाली मनोविज्ञानका कारण प्रयोग बढ्न सकेन

काठमाडौँ । खाना पकाउने ग्यासको विकल्पमा बजारमा उपलब्ध बिजुली चुलोहरूमध्ये इन्डक्सन चुलोमा खाना पकाउँदा सबैभन्दा सस्तो पर्ने अध्ययनले देखाएको छ । ग्यासको तुलनामा इन्डक्सन चुलोमा खाना बनाउँदा जलवायुको तापक्रम र भौगोलिक अवस्थाअनुसार ५० प्रतिशतसम्म सस्तो पर्ने देखिएको छ । बिजुली चुलोहरूमध्ये पनि इन्डक्सन चुलोमा खाना बनाउँदा पैसा र समय दुवै कम लाग्ने देखिएको हो ।

त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोकअन्तर्गत सेन्टर फर इनर्जी स्टडिजमार्फत ऊर्जाविद् प्रा.डा. जगन्नाथ श्रेष्ठ, देवेन्द्रबहादुर राउत र दीपकलाल श्रेष्ठले गरेको परीक्षण अध्ययनले यस्तो नतिजा देखाएको प्रा. श्रेष्ठले जानकारी दिए ।

यो पनि
बिजुलीमा खाना पकाएर जोगाउन सकिन्छ वार्षिक ५० अर्ब रुपैयाँ

उक्त अध्ययनमा खाना पकाउन प्रयोग गरिने एलपी ग्याससहित माटोको क्वाइल हिटर, इलेक्ट्रिक राइस कुकर, इन्डक्सन, नेपालमै बनेको ई–चुलो र इन्फ्रारेड चुलोबाट खाना पकाएर परीक्षण गरिएको थियो । अध्ययनमा काठमाडौँको भू–अवस्थिति र जलवायुको तापक्रममा इन्डक्सनमा खाना पकाउँदा सबैभन्दा कम परिमाणमा बिजुली खपत, कम पैसा खर्च र कम समयमा खाना पाकेको थियो ।

उक्त अध्ययनमा आधा किलो चामलको भात सबैभन्दा कम ऊर्जा शक्तिको खपत, समय र लागतमा कुन चुलोमा पाक्दो रहेछ भनेर हेरिएको थियो । अध्ययनको नतिजा (तल देखाइएको) अनुसार ग्यास चुलोमात्रै नभएर बिजुली चुलोहरूमध्ये पनि इन्डक्सन प्रभावकारी र सस्तो रहेको पाइएको अध्ययनमा संलग्न प्रा. श्रेष्ठले मकालुखबरलाई बताए ।

‘इन्डक्सनमा दुई छाक खाना पकाउन बढीमा २ युनिट (किलोवाट आवर) बिजुली भए पुग्छ,’ उनले भने, ‘तर, बिजुली चुलोको किसिम, भाँडाको किसिम र भौगोलिक अवस्थितिका आधारमा समय र लागतमा केही फरक पर्न सक्छ । जस्तो, वीरगञ्जमा तापक्रम ज्यादा हुने हुनाले २० मिनेटमा भात पाक्छ भने जोमसोममा ३५ मिनेट लाग्न सक्छ ।’

प्रा. श्रेष्ठका अनुसार ग्यासभन्दा आधुनिक बिजुली चुलो सस्तो पर्ने र त्यसमध्ये पनि इन्डक्सन सबैभन्दा सस्तो पर्ने देखिएको छ ।

यो पनि
देशभित्रै खपत हुनसक्छ ५ हजार मेगावाट बिजुली

इन्डक्सन प्रयोगमा मनोविज्ञान बाधक
इन्डक्सन सस्तो भएर पनि आम उपभोक्ताको मनोविज्ञानका कारण यसलाई आम मानिसले प्रयोगमा ल्याउन नसकिरहेको अध्ययनमा संलग्न प्रा. श्रेष्ठले बताए । ‘ग्यासका चुलोहरूमा आगोको ज्वाला नै निस्किएको देखेको बानी परेका आमउपभोक्ताले इन्डक्सनमा आगो देख्दैनन,’ उनले भने, ‘त्यसैले सबैले तत्कालै आफूलाई आगो नै नदेखिने इन्डक्सनमा बानी पार्न सक्दैनन्, यो पनि एउटा कारण हो ।’

इन्डक्सन इलेक्ट्रोम्याग्नेटिक प्रविधिमा आधारित हुने हुनाले यसमा खाना पकाउँदा क्यान्सर हुन्छ भन्नेसम्मका भ्रामक हल्लाहरू समाजमा फैलिएको र यसले पनि केही प्रभाव पारेको पनि उनले बताए । ‘विद्युत् निकालिएको पानीले सिँचाई गर्दा धान फल्दैन भने जस्तै भ्रमको मनोविज्ञान पाइएको छ,’ उनले भने । त्यस्तै, आम प्रयोगमा नरहेको र नौलो भएकाले पनि इन्डक्सनको प्रयोग व्यापक बन्न नसकेको अध्ययनले निष्कर्ष निकालेको छ ।

‘इन्फ्रारेडमा रातो बलेको पनि देखिने भएकाले नेपालीका लागि तत्काल बानी पार्न इन्डक्सनभन्दा इन्फ्रारेड सजिलो उपाय हुन सक्छ,’ उनले भने, ‘तर, इन्फ्रारेडले इन्डक्सनको तुलनामा केही बढी बिजुली खपत गर्छ ।’

मुख्य बाधक गुणस्तरहीन बिजुली आपूर्ति
नेपालमा बिजुली चुलो प्रयोग व्यापक बनाउन बिजुलीको आपूर्ति नियमित हुनुपर्ने प्रा. श्रेष्ठ बताउँछन् । ‘खाना पकाउँदा पकाउँदै झ्याप्प बत्ति गयो भने तपाईँले एलपीजीको प्रयोग गर्नैपर्ने बाध्यता भइरहन्छ,’ उनले भने, ‘कम्तीमा खाना पकाउने मुख्य समयमा बिहान बेलुका कम्तीमा एक/एक घण्टा बिजुली नियमित हुनैपर्छ ।’

सबैले इन्डक्सनबाट खाना पकाउने हो भने तत्कालको हाम्रो विद्युत् प्रसारण तथा वितरण सञ्जालको क्षमताले नधान्ने उनले बताए । ‘तत्कालको विद्युत् प्रसारण तथा वितरण सञ्जालले धान्न सक्दैन,’ उनले भने, ‘प्रसारण तथा वितरण सञ्जालको क्षमता अभिवृद्धि गर्नुपर्छ । स्थानीयले पनि आफ्नो घरअगाडि ठूलो क्षमताको ट्रान्सफर्मर राख्न आउँदा विद्युत् प्राधिकरणलाई असहयोग होइन‚ सहजीकरण गरिदिनुपर्छ ।’

यो पनि
१२ हजारमै बाल्न सकिन्छ बिजुली चुलो, ग्यासभन्दा आधा सस्तो

नाकाबन्दीका बेला बिजुली चुलोलगायत बिजुली खपत गर्ने उपकरणको प्रयोग बढ्दा विद्युत् ट्रान्सफर्मर पड्किने समस्या भएपछि आफूहरूले आफ्नो टोलमा समूह विभाजन गरी आलोपालो प्रणालीमा बिजुली चुलोमा खाना बनाउने गरेको समेत उनले स्मरण गरे । ‘मेरो टोलमा पनि म यो विषयमा जानकार भएकाले आलोपालो गर्न सम्भव भयो,’ उनले भने, ‘सबैतिर त्यस्तो नहुन सक्छ वितरण तथा प्रसारण सञ्जालको क्षमताभन्दा बढी विद्युत् प्रवाह भयो भने प्रणालीमा फल्ट आइहाल्छ । त्यस्तो अवस्थामा ग्यासको विकल्प बिजुली चुलो बन्न सक्दैन ।’

गुणस्तरीय विद्युत् आपूर्तिका लागि विद्युत्‌को उपलब्धता पनि बढी हुनुपर्ने ऊर्जाविद् श्रेष्ठ बताउँछन् । ‘हाम्रा आयोजनाको बिजुली उत्पादन घटेर हिउँदमा एक तिहाईमा सीमित हुन्छ,’ उनले भने, ‘६० प्रतिशत बिजुली भारतबाट आयात गर्नुपर्ने हुन्छ । त्यसो हुँदा उत्पादन पनि बढाउनुपर्ने देखिन्छ ।’

प्रतिक्रिया

2 thoughts on “अध्ययन भन्छ- बिजुली चुलोमध्ये सबैभन्दा सस्तो इन्डक्सन

  1. जाबो एउटा बिजुलीको खम्बा त सिधा हाल्न नस्क्ने बिद्धुत प्राधिकरण ले हामी ग्राहकहरुको मीटर मा १६एम्पिएर को MCB हाल्न जाँदा कति खिचलो गरिन्छ।सबभन्दा पहिले जनताको मिटर मा यो सुबिधा थप गर्नुपर्छ।

  2. जति धेरै बिजुली खपत गरे झन सस्तो भएपो बिजुलिमा खाना पकाउनु ।उल्टो झन भन्दा झन बढी पैसा लिन्छ ।राज्यको नीति नै गलत छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *