फुटनीति, झूटनीति र कूटनीति

प्रधानमन्त्री भएका बखत बीपी कोइराला भारत जानुअघि नेपाल कम्युनिष्ट पार्टीका तत्कालीन महासचिव केशरजंग रायमाझीलाई घरमा बोलाएर १० हजार रुपियाँ थमाए । नमागिएको पैसा पाएपछि रायमाझीले प्रयोजन सोधे । बीपीले भने- ‘म गएपछि मेरा विरुद्ध नारा जुलुस गराउनुस् । त्यसो भयो भने मैले देश हितमा अरू बढी काम गर्न सक्छु ।’ त्यो दूरदर्शिता अहिले मिथक बनेको छ । २०४६ सालको राजनीतिक परिवर्तनपछि बनेका सरकारका प्रधानमन्त्रीमध्ये कृष्णप्रसाद भट्टराई बाहेक अरूले भारतसँग सार्वभौम राष्ट्रको इज्जत धानेर संवाद नै गर्न सकेनन् । नेपाल धराका क्रान्तिकारीहरू भारतको माटो टेक्नासाथ आज्ञाकारी हुने रोगबाट निरपेक्ष हुन सकेनन् । बीपीकै सानिमाका छोरा सुशील मूल्य, मान्यता र आदर्शको रटबाट माथि नउठी भगवानका प्यारा भए । अविवाहित बन्नुबाहेक उनले कार्यशैलीमा न बीपी, न जीपीको छाप छोड्न सके । नेपालका कुनै कम्युनिष्ट नेतालाई अर्को देशको कम्युनिष्ट नेताले पत्याएर एउटा साइकल उपहार दिएको सुनिएको छैन तर तिनैले विरोध गर्ने राजा त्रिभुवनले हिट्लरबाट पाएको गाडीको अवशेष अझै सङ्ग्रहालयमा सुरक्षित छ । जसरी रक्सी खान कुरानले बन्देज लगाएको तर भोड्का खान छूट दिएको भन्दै ज्यान छोडेर भोड्का तान्ने रुसी मुसलमानहरूको आलोचना गरिन्छ, त्यसैगरी कम्युनिष्टको खास्टो ओढेर हिङदेखि हर्दीसम्मको व्यापार भ्याउने चरित्रका कारण नेपाली नेताहरू बदनाम छन् ।

कम्युनिष्ट नाम उनीहरूका लागि नक्कली जोगीले धसेको खरानीजस्तै भएको छ । जुन कम्युनिष्ट नेताहरू इमानदार छन्, तिनीहरू जन्मेदेखि अहिलेसम्म सडकमै छन् । अपेक्षित इमानदार नेताहरू ‘गद्दार’ को पुरस्कारबाट विभूषित हुने गरेका छन् ।

कम्युनिष्ट नाम उनीहरूका लागि नक्कली जोगीले धसेको खरानीजस्तै भएको छ । जुन कम्युनिष्ट नेताहरू इमानदार छन्, तिनीहरू जन्मेदेखि अहिलेसम्म सडकमै छन् । अपेक्षित इमानदार नेताहरू ‘गद्दार’ को पुरस्कारबाट विभूषित हुने गरेका छन् । नेपालमा क्षमतावान् नेता प्रशस्तै जन्मिए । कतिले सपना देखे, समय पाएनन् । अहिलेकाले समय पाए, सपनै देखेनन् । टंकप्रसाद आचार्य एकताका चीन भ्रमणमा थिए । त्यो बेला चीन र जापानबीच सम्बन्ध चिसिएको थियो । चीनले शान्तिदूतका रूपमा जापान गएर दुई देशबीचको सम्बन्ध सुलह गराइदिन गरेको आग्रहलाई उनले सफलतापूर्वक सम्पन्न गरिदिए । १४ भाषाका ज्ञाता मातृकाप्रसाद कोइरालाले प्रधानमन्त्री भइसकेपछि पनि अमेरिकाको राजदूत भएर पद सानो ठूलो हुँदैन भन्ने प्रमाणित गरे । राष्ट्रसंघमा अलिखित भाषण गर्ने मातृका त्यसबेलाका विश्वकै चर्चित वक्ता थिए । पञ्चायत कालको सुनलाई पनि पित्तल देख्ने पूर्वाग्रही चस्मा ओढेका इतिहासकारहरूले मातृकाको त्यो छविप्रति कहिल्यै न्याय गरेनन् । बीपीले राष्ट्रिय स्वाधीनताका लागि बमदेखि साइनाइटसम्म बोके । अपठित जङ्गबहादुर कति अनुशासित थिए भने पानीजहाजमा गाई र पिपलसमेत लिएर बेलायत गए । रानी भिक्टोरियालाई प्रभावित पार्न सफल उनले उताबाट आउँदा जनता सुसूचित गर्न गिद्धे प्रेसमात्र ल्याएनन्, त्यहाँका सैनिकको मार्चपास अवलोकन गरेर आफ्नो देशको सैनिक संरचनामा व्यापक सुधार गरे । राजा वीरेन्द्रले झण्डै डेढ सय देशबाट नेपाललाई शान्ति क्षेत्रको प्रस्तावमा सहमति दिलाए । तर गणतन्त्र आएपछि लोकतन्त्रको जननी मानिने बेलायतमा रहेको नेपाली दूतावास कमिसनको चक्करमा बेच्ने प्रक्रिया आरम्भ गरियो ।

यदि परलोक छ भने बीपी, पुष्पलाल, गणेशमानसिंह, मदन भण्डारी, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराईजस्ता युगपुरुषहरु स्वर्गको आँखीझ्यालबाट यहाँको चर्तिकला पाठ झैँ सुन्दा हुन् । अनि बिरक्तिएर आर्तनादको दुन्दुभि बजाउँदा हुन् । आफ्नो विगत सम्झिदा उनीहरूलाई नै कहालीलाग्दो हो । देशको अगाध माया हुँदाहुँदै शक्तिको माथापच्चीका कारण त्यसबेला मिल्न नसकेकोमा राजा महेन्द्र र बीपी पश्चात्तापको आँसु बगाउँदा हुन् । हुन पनि उनीहरूले शासन गरेको त्यो युग स्वर्णयुग थियो । नेपाल र नेपालीको इज्जत थियो । राष्ट्रहितका लागि राजा रंक समान थिए ।

राजनीतिमा भात जित्ने तर भविष्य हार्ने खेलका कारण हाम्रो कूटनीतिक मर्यादा रसातलमा पुगेको छ । दल र नेताहरूको साख मेची र महाकालीबाट पारी तर्न सकेको छैन । भारतमा नरेन्द्र मोदी नामको वर्षा हुँदा यहाँ अनगिन्ती छाता ओढ्नेहरू निस्कन्छन् । मुख्यमन्त्री हुँदा उनले गुजरातमा गरेको कायापलट कसैका लागि अनुकरणीय हुँदैन ।

राजा महेन्द्र अमेरिकी राष्ट्रपति आइजनहावर निमन्त्रणामा अमेरिका जाने तयारीमा थिए । राजाकै लगानीमा निस्किने ‘हालखबर’ पत्रिकाले समाचार छाप्यो- ‘राजालाई स्वागत गर्न राष्ट्रपति आइजनहावर विमानस्थल नजाने ।’ त्यसबेला बीपी कोइराला प्रधानमन्त्री र कृष्णप्रसाद भट्टराई सभामुख थिए । बीपीको अनुमति लिएर सभामुख भट्टराईले अमेरिकी दूतावासका कार्यवाहक राजदूत फिक्सलाई सोधे – ‘हाम्रो राजालाई स्वागत नगर्ने? हामीलाई सानो देश भनेर हेपेको हो ?’ राजदूतले स्पष्टीकरण दिँदै भनेका थिए- ‘हाम्रो राष्ट्रपति मुटु रोगी हुनुहुन्छ । कूटनीतिक मर्यादाका कारण विमानस्थलदेखि विमानसम्म चिसोबाट बच्न डाक्टरले दिएको टोपी लगाएर जान मिलेन । त्यस्तो चिसोमा टोपी नलाई जानु झन् घातक हुन्छ । फेरि उहाँ वृद्ध पनि हुनुहुन्छ । डाक्टरले जतिबेलै पनि स्ट्रोक हुनसक्ने चेतावनी दिएका छन् । त्यसैले नजाने भनेको हो ।’ अन्तर्राष्ट्रिय मञ्चमा त्यसबेला नेपालको कूटनीतिक मर्यादा र क्षमता यति शक्तिशाली थियो कि त्यस्ता गम्भीर बिरामी आइजनहावर हेलिकोप्टरमा विमानस्थल गएर राजा महेन्द्रको भव्य स्वागत गरेका थिए । घटनाको यही संवेदनशीलतालाई हेरेर अमेरिकी सरकारले तत्काल प्रोटोकल फेरेर अब उप्रान्त विदेशी पाहुनाको स्वागतमा राष्ट्रपति विमानस्थल नजाने बरु पाहुनालाई हेलिकोप्टरमा ह्वाईटहाउस ल्याएर गार्ड अफ अनर दिने प्रचलन शुरु गर्‍यो । नेपाली पाहुनाका कारण ६ दशकअघि फेरिएको त्यो चलन जो बाइडेनका पालासम्म आइपुग्दा पनि कायमै छ । त्यतिमात्र होइन, दोस्रो विश्वयुद्धमा नेपालले गरेको उल्लेखनीय सहयोगप्रति कृतज्ञता जनाउँदै जर्मनी, बेलायतलगायत पूर्वी तथा पश्चिम युरोपका थुप्रै देशले नेपालीलाई यथास्थानमा आगन्तुक भिसा उपलब्ध गराउँथे ।

राजनीतिमा भात जित्ने तर भविष्य हार्ने खेलका कारण हाम्रो कूटनीतिक मर्यादा रसातलमा पुगेको छ । दल र नेताहरूको साख मेची र महाकालीबाट पारी तर्न सकेको छैन । भारतमा नरेन्द्र मोदी नामको वर्षा हुँदा यहाँ अनगिन्ती छाता ओढ्नेहरू निस्कन्छन् । मुख्यमन्त्री हुँदा उनले गुजरातमा गरेको कायापलट कसैका लागि अनुकरणीय हुँदैन । मोदीकी ९० वर्ष नाघेकी आमाले सार्वजनिक यातायात चढेर मतदान गरेको दृश्यले कसैलाई छुँदैन । चिया पसले मोदी विशाल भारतको कार्यकारी पदमा कसरी पुगे ? त्यसको विश्लेषण छैन । अब भारतीय जनताले देशका लागि मर्ने दिन गए भन्ने उद्घोष गर्ने मोदीको विकास आन्दोलनमा नेपालले ऊर्जा दिएर सघाउन सक्छ । नेपालले उत्पादन गर्ने जति पनि ऊर्जा अब भारतका लागि कम हुन्छ । बरु हाम्रा प्रधानमन्त्रीले लोकतन्त्रका बखान छाडेर यसखाले काममा तदारुकता देखाउन सके पुस्तौँ पुस्ताका लागि असल कर्म हुने थियो । मोदीसँगको भेट शाखा सन्तानलाई मेडिकल पढ्न पठाउने, औषधोपचार गराइ माग्ने, निर्वाचन क्षेत्रमा एउटा एम्बुलेन्स पाउन बिन्ती पत्र हुने सङ्कीर्ण विचारमै सीमित गर्ने हो भने राजनीति नामको सौदा गर्नुको के अर्थ रहन्छ ?

आत्म केन्द्रित राजनीतिले मुलुक भड्खालोमा जाकिन्छ । जब नेता राजनेता बन्ने अवसर छोडेर एजेन्टमा रमाउँछन्, त्यो बेला राम राम त भनिएला तर काँध हाल्ने र छाँद हाल्ने मरिगए भेटिदैन् । राजनीतिमा विश्वास भएन भने त्यो आत्मघात सिवाय केही हुँदैन ।

कुनै पनि दलका अघिल्लो पुस्ताका नेता रहँदासम्म देशको साखमाथि कसैले खेल्न सकेको थिएन । चीनले सगरमाथा आफ्नो हो भनेर दाबी गर्दा बीपीले सोधेका थिए- ‘यदि सगरमाथा तिम्रो हो भने चिनिया भाषामा सगरमाथाको नाम के हो ?’ यसो भन्दा चिनियाले उत्तर दिए- ‘चोमोलोङमा ।’ बीपीले तत्काल प्रतिवाद गरी त्यो तिब्बती नाम भएको भन्दै सगरमाथाको लालपुर्जा नेपालको नाममा दिलाई छोडे । एसियाका कुनै देशले इजरायललाई स्वतन्त्र राष्ट्रको मान्यता दिनुअघि बीपीले मान्यता दिएर निर्णय क्षमताको परिचय दिएका थिए । जसका कारण भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु उनीसँग रुष्ट बनेका थिए । १९५० को सन्धिलाई नेहरु विश्वविद्यालयका प्रोफेसर मुचुकन्दले समस्याको बाकस भएको भन्दै यसलाई एकैपटक नखोल्न सुझाव दिएका थिए । मोहनशमशेर जननिर्वाचित प्रधानमन्त्री थिएनन् । तर उनैले सन्धिमा सही धस्काएका थिए । सबैलाई थाहा भएकै सत्य हो- संसद्ले अनुमोदन नगरेको सन्धि अवैध मानिन्छ । अहिले यही सन्धि दलहरूका लागि दृष्टिविहीनले छामेको हात्तीजस्तो बनेको छ । पश्चिमा राष्ट्रले विकासभन्दा मानवअधिकारलाई पहिलो एजेण्डा बनाएका छन् । जुन रणनीति गरिब देशमा खेल्ने सजिलो औजार बनेको छ । तर मौलिक रोडम्याप नहुँदा हामीले जसको लाठी उसको भैँसीको नियति भोग्नुपरेको छ । शुरु शुरुमा अमेरिकाले तेस्रो विश्वलाई आफ्नो प्रभावमा पार्न आर्थिक रणनीतिको हतियार उपयोग गरेको थियो । अमेरिकी सरकारको चार सूत्रीय कार्यक्रम अनुसार अल्पविकसित देशलाई प्रविधि सहायता दिइन्थ्यो । साम्यवादको चपेटाबाट सिर्जित गरिबी, भोकमरी, निराशा र अव्यवस्थाबाट बचाउन भन्दै उसले मार्सल योजना अन्तर्गत युरोपमा उल्लेखनीय धनराशि खर्च गर्‍याे । अहिले त्यो रणनीति रुसमा केन्द्रित छ । यी सबै घटनाक्रमको निष्कर्ष हो- आत्म केन्द्रित राजनीतिले मुलुक भड्खालोमा जाकिन्छ । जब नेता राजनेता बन्ने अवसर छोडेर एजेन्टमा रमाउँछन्, त्यो बेला राम राम त भनिएला तर काँध हाल्ने र छाँद हाल्ने मरिगए भेटिदैन् । राजनीतिमा विश्वास भएन भने त्यो आत्मघात सिवाय केही हुँदैन ।

भगवान् बुद्धका मूर्ति त धेरै स्थापना भए, तर बुद्धत्व ग्रहण गर्नेहरू थोरै भेटिए । देवताको पूजा गर्न मन्दिरमा थुप्रै भीड लाग्यो, देवत्वको मर्म आत्मसात् गर्ने झन् न्यून भए । जनयुद्ध जीवनको गम्भीर भूल थियो भन्न मात्र बाँकी राखेका माओवादी नेताहरूले ठूलो हैन असल बन्ने कोसिस गरे जाति हुन्थ्यो । कांग्रेस, एमाले र माओवादी आफूहरूलाई सृष्टिकर्ता र पालनकर्ता सम्झिने भ्रमबाट मुक्त भइदिए हुन्थ्यो । बसुधैव कुटुम्बकमको मूल मर्म पनि यही हो ।

©[email protected]

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *