सर्वोच्चमा गोला प्रक्रियाबाट तोकियो पेसी

काठमाडौँ । सर्वोच्च अदालतमा न्यायाधीशहरूलाई गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको छ । नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको हो ।

पहिलो दिन आज दुईवटा एकल इजलाससहित कुल १० वटा इजलास गठन भएका छन् । न्यायाधीशद्वय मीरा खड्का र कुमार चुडाललाई एकल इजलास तोकिएको छ । त्यस्तै न्यायाधीश दीपककुमार कार्की र टंकबहादुर मोक्तानको संयुक्त इजलास परेको छ।

२१७ मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतको संशोधित नियमावलीले व्यवस्था गरेअनुसार बुधबार पहिलो पटक गोला तानेर इजलास गठन गरिएको हो ।

गोला प्रणाली लागु भए पनि प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ ।

नेपाल बारका महासचिव लिलामणि पौडेलका अनुसार साढे १२ सम्म अदालत परिसरमा शान्तिपूर्ण धर्ना दिने कार्यक्रम छ । बारले जबराको राजीनामा नआएसम्म आन्दोलन नरोक्ने बताउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *