सभापतिमा षड्यन्त्रपूर्वक हराइयो : संस्थापन पक्ष

विराटनगर । नेपाली कांग्रेस मोरङको अधिवेशनमा संस्थापनले षड्यन्त्रपूर्वक हराएको आरोप लगाएको छ । शक्तिको दुरुपयोग गर्दै संस्थापन समूहको उम्मेदवार भएका दिलीप गच्छदारलाई हराएको आरोप केन्द्रीय सदस्य अमृत अर्यालको छ।

‘शक्तिको दुरुपयोग गरेर हामीलाई हराइएको छ,’ उनले भने, ‘तीन जना ठूला नेताले छलफल र वार्ता गर्ने भन्दै तीन दिनसम्म अल्मल्याए ।’

चुनाव सार्ने भनिएपछि एकाएक चुनाव गरिएको उनको भनाइ छ । पार्टीको आन्तरिक निर्वाचनमा शक्ति, पैसा र अनैतिक ढंगको व्यवहार भएको अर्यालले टिप्पणी गरे । क्रियाशील वितरणदेखि नै षड्यन्त्र भएको आरोप उनको छ । गएराति सम्पन्न भएको मत परिणामबाट मोरङको सभापतिमा डिगबहादुर लिम्बु विजयी बनेपछि संस्थापनले पत्रकार सम्मेलन गरेको हो ।

संस्थापन पक्षका दिलिप गच्छदार पराजित भएपछि उक्त समूह रुष्ट देखिएको छ । तर गच्छदारले आफूले पराजय स्वीकार गरेको बताएका छन् ।

पत्रकार सम्मेलनमा नेता अर्यालले प्रदेश १ को नेतृत्वका लागि बिहीबारसम्म सहमतिको प्रयास हुने र नभए संस्थापनको तर्फबाट उमेदवारी घोषणा हुने जानकारी दिए । प्रदेश १ का ६ जिल्लामा संस्थापन, ७ मा कोराइला-पौडेल र एक जिल्लामा कृष्ण सिटौला पक्षधर सभापति निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *