न सहारा न सारथि, केवल अठोट र आँट

‘म त वृद्धाश्रम नजाने, आफ्नै बुढाको घरमा मर्ने हो’, ८३ वर्षकी बज्यैको अठोट र आँटसहितको आफ्नो दृढ योजना सुनाइन्‚ ‘सकुन्जेल काम गर्छु भए खाउँला नभए नखाउँला ।’

जस्ताले बेरिएको टहरोमा, खिया लाग्न थालेको छ । जस्ताका प्वालमा झुन्ड्याइएका प्रमाणपत्रहरू टलक्क टल्किएका छन् । करिब आधा शताब्दीअघिका ती प्रमाणहरूमा अलिकति पनि धुलो लागेको हेर्न सक्दिनन् उनी, पुछिहाल्छिन् ।

मुजा परेको अनुहार तन्काउँदै हँसिलो मुद्रामा उनले भनिन्, ‘साउँको भन्दा ब्याजको माया भनेजस्तो, आफ्नोभन्दा पनि यी प्रमाणपत्रहरूको बढी माया लाग्छ । काठमाडौँका कति ठाउँमा कोठा सरिन् उनी । कति सामान छुटे‚ कति फ्याँकिए‚ त कति फुटेर गए, तर यी प्रमाणपत्रहरूलाई आफूबाट कहिल्यै अलग हुन दिइनन् पूर्णशोभा तुलाधरले ।

उनले यी प्रमाणपत्र सिलाइको काम सिकाउने बेलामा पाएकी हुन् । जस्ताले बारेको र छाएको टहरोमा, एक्लो पिपलजस्तै छिन् उनी‚ न सहारा‚ न सारथि । जिन्दगीको उत्तरार्द्धले छोप्दै लगेको छ । पूर्णशोभा र उनका श्रीमानले छोराछोरी जन्माएनन् । तर अहिले सम्झिँदा चाहिँ उनलाई बेलाबेला सन्तान भएको भए एक्लो हुनुपर्ने थिएन भन्ने लाग्ने रहेछ ।

‘जोडी नै हुँदासम्म त कसैको अभाव लागेन‚ तर अहिले तातोपानी पनि दिने मान्छे नहुँदा चाहिँ दुःख लाग्छ । सन्तान भइदिएको भए हुन्थ्यो जस्तो लाग्छ ।’ उनको मनभित्रको दुःख बोली र अनुहारमा समेत छर्लङ्गै देखिन्थ्यो ।

कतिपयले एक्लै बस्दा दुःख हुने भएकाले वृद्धाश्रममा गएर बस्न सुझाव पनि दिन्छन् पूर्णशोभालाई । तर उनको मनले मान्दै मान्दैन । ‘म जान्न, अझै हात चल्दैछ, हातमा सीप छ, टहरो भएपनि छ । म त यहीँ मर्ने हो । आफ्नो भनेको आफ्नो हो । बुढा यहीँ बिते‚ म त कहीँ जान्न‚’ उनी दृढ सुनिइन् ।

टहरोमा सामानहरू असरल्ल छन् । जताततै कपडा देखिन्छ । पकाउने कुनै सामग्री छैन न त पकाउने आँट नै ? छ त केवल आत्मविश्वास, जसले चौरासी गर्ने उमेरमा पनि उनलाई हिम्मत हार्न दिएको छैन । आफ्नो जीवन आफैँ चलाइरहेकी छन् ।

विगतमा फर्किएर उनी सम्झिन्छिन्, यो आँट र हिम्मत ल्याइदिने आफ्ना दाइ र बालाई । यही आँटले त अहिलेको उनलाई जीवन गुजाराको उपाय बनेको छ ।

‘नर्सिङको तालिम लिइसकेपछि काम गर्छु भन्दा बा र दाइले भने, ‘छोरी मान्छे धेरै हिँड्नुपर्छ‚ यस्तो काम नगर । बा र दाजुको कुरा मानेर त्यसपछि त्यतातिर फर्केरै हेरिनँ । तर केही न केही त गर्नु नै थियो । र, उनी सिलाइको काम सिक्न सुनिता टेलर बालाजुमा पुगेँ । सिलाइको काम सिकेँ र आफ्नै पसल खोलेँ‚’ पूर्णशोभाले सुनाइन् । बिहेअघि नै सिकेको सिलाइको काम बिहेपछि पनि कायमै रह्यो । जुन उनको दिनचर्याको र आम्दानीको स्रोत बन्यो ।

सानैदेखि उनका दुवै खुट्टामा समस्या छ । ‘सानो हुँदा आमासँग मच्छिन्द्रनाथको मन्दिर गएको बेला धेरै रोएकी थिएँ रे अनि बिरामी परेछु । त्यसबेलादेखि ठिक नभएको खुट्टा अझै उस्तै छ‚’ पूर्णशोभाले विगत सम्झँदै भनिन्‚ ‘अहिले त झन् दुःख दिन्छ ।’

उनी अहिले सिलाइ कटाइ गर्दिनन्, कपडा सिलाउन नसकेर छाडेको धेरै भइसक्यो । तर उनले टुक्रा कपडाको थैली र रबरब्यान बनाउन छाडेकी छैनन् । यसैले उनको जीविका चलेको मात्र छैन व्यस्त पनि राखेको छ ।

बिहेपछि दुलाहाले घर नलगेर भाडाको कोठामा लगे, जहाँ उनीहरूले धेरै हिउँद वर्षासँगै बिताए । ‘श्रीमान् बाहिर व्यापार गर्न जान्थे । कमाएर ल्याएको पैसा खान लाउन नै ठिक्क । खासै बचत नभएपछि जायजेथा जोड्न सकिएन अनि त अहिले दुःख छ नि !’ उनी भन्छिन् ।

अलिअलि पैसा जम्मा भएपछि श्रीमानले अंशमा पाएको पुर्ख्यौली जग्गामा टिनको टहरो बनाए र त्यहीँ सरे । त्यहाँ बस्न थालेको पनि ३ दशक पुग्न लाग्यो । दिनहरू बित्दै थिए । श्रीमान् घर बाहिर कैले के कैले के गरिरहन्थे, उनीचाहिँ सिलाइको काममै लागिरहन्थिन् । २०७० सालमा श्रीमान् विश्वरत्न सिलाकारले उनलाई सदाका लागि एक्लो बनाएर गए ।

उमेरमा उनी श्रीमानभन्दा जेठी हुन् । श्रीमान् बितेको ८ वर्ष भयो । तर त्यो कुरा सम्झँदा उनको गह अहिले पनि भरिन्छ आँखा टिलपिलाउँछन् । श्रीमान् बितेपछि उनलाई स्वास्थ्यले पनि साथ दिन छोड्यो । उनी काम गर्न नसक्ने भइन् । एक्लो मान्छे अब के गर्ने ? त्यो समयमा उनले धेरै दुःख पाएको अनुभव सुनाइन् । दुई वर्ष धेरै नै सङ्घर्षपूर्ण यात्रा भयो । उनको घर नजिकै एक होस्टेलमा बस्दै आएका युवक डीबी भियालले अहिले उनलाई तिरिनसक्नुको गुन लगाइरहेका छन् ।

डीबीले २०७२ सालतिरदेखि उनलाई खाना खुवाउन थालेका हुन्‚ जुन अझैसम्म नियमित छ ।

खाना खाजा र चिया उनले नै बनाएर खुवाउने गरेको पूर्णशोभाले बताइन् । ‘बिरामी पर्दा पनि उनैले हेर्छन्, सायद आफ्नो छोरो भएको भएनि यति गर्दैन थियो होला । बाबु त मेरो छोराभन्दा बढी हो‚’ उनले भावुक हुँदै भनिन् । ‘उसको आफ्नै परिवार छ र पनि मलाई आफ्नै आमाजस्तै गर्छन् ।’ उनी कहिलेकाहीँ घुम्न गएका बेला पूर्णशोभा खाना खान्नन्, अरू नै कट्याङमट्याङ कुराहरू खाएर बस्छिन् ।

थैली र रबर ब्यान पहिले त उनी घरअगाडि नै सल बिच्छयाएर बेच्न राख्थिन् । अहिले चाहिँ थाहा पाएकाहरू घरमै आउँछन् किन्नलाई । अहिले अनु नाम गरेकी एक युवतीले अनलाइनमार्फत पनि ती सामग्री बिक्री गरिदिने गरेको उनले सुनाइन् । बजैको पसल नामको इन्स्टाग्राम अकाउन्टबाट पनि उनले बनाउने सामान बेचिन्छ ।

‘खुट्टा त थप्पकै भइसक्यो तर हात चल्दैछ र आँखा अलिअलि देख्दैछु, त्यसैले अझै काम गर्दैछु, यसैबाट आएको पैसाले आफूलाई खान मन लाग्ने कुरा किनेर खाने गरेको छु‚’ पूर्णशोभाले भनिन् । उनलाई मिठाइ, चकलेटलगायत खान मन लाग्छ । ‘मान्छे बुढेसकालमा बच्चाजस्तै हुन्छ भन्थे हो रहेछ‚’ उनले हाँस्दै सुनाइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *