प्रिमियर लिग: उपाधि दाबेदार टोलीको दबदबा

काठमाडाैँ ।  इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार टोलीले आ-आफ्नो खेलमा जित हासिल गरेका छन् । बुधबार राति भएको खेलमा शीर्ष स्थानको चेल्सी, म्यानचेस्टर सिटी र लिभरपुलले आ-आफ्नो खेलमा जित निकाले। बुधबार राति भएको खेलमा शीर्ष तीनमा रहेका सबै तीन टीमले जित निकाल्न सफल भए ।

लिभरपुलको जितमा सल्लाह चम्किए
उपाधि होडमा रहेको लिभरपुल आफ्नो जितको लयमा कायम रह्यो । लिभरपुललाई जित दिलाउन मोहम्मद सलाहले दुई गोल गर्दा अन्य दुई गोल हेन्डरसन र जोताका नाममा रह्यो ।

सुरुवाती अग्रता भने ९ औ मिनेटमा हेन्डरसनको गोलमार्फत लिन लिभरपुल सफल भयो । मोहम्मद सलाहले १९ औ मिनेटमा टीमको अग्रता दोब्बर बनाए । उनले हेन्डरसनको पासलाई सदुपयोग गरेका थिए ।

तर घरेलु मैदानमा ग्रे ले ३८ औ मिनेटमा रिचार्लिसोनको पासलाई सदुपयोग गर्दै खेल २-१ को अवस्थामा ल्याए तर लिभरपुलले दोस्रो हाफमा थप दुई गोल गर्दै जित निश्चित गर्‍यो । ६४ औ मिनेटमा सलाहले व्यक्तिगत दोस्रो तथा टीमका लागि तेस्रो गोल गर्दा चौथो गोल जोताका नाममा रह्यो । उनले ७९ औ मिनेटमा गोल गरेका थिए ।

वार्टफोर्डमाथि चेल्सीको जित
चेल्सीले आफ्नो शीर्षता कायम राख्ने क्रममा वार्टफोर्डमाथि २-१ को जित निकाल्न सफल भयो । चेल्सीलाई अग्रता दिलाउने क्रममा मेसन मउन्टले २९ औ मिनेटमा पहिलो गोल गरेका थिए ।

तर पहिलो हाफमानै खेलमा फर्कने क्रममा वार्टफोर्डका इमानुएल डेनीसले ४३ औ मिनेटमा बराबरी गोल फर्काए । यद्यपि थोमस टुचेलको चेल्सीका लागि निर्णायक गोल भने ७२ औ मिनेटमा हाकिमि जिचले सम्भव बनाए ।

शीर्ष स्थान पछ्याउँदै सिटी
शीर्ष स्थानमा रहेको चेल्सीलाई पछ्याइरहेको म्यानचेस्टर सिटीले पहिलो हाफमा गरेको २ गोल नै जितका लागि पर्याप्त बन्यो । स्टेफन जेराडको प्रशिक्षणमा एस्टन भिल्ला पहिलो पटक पराजित भयो ।

पेप ग्वार्डओलाको सिटीका लागि रुवेन डायसले २७ औ मिनेटमा पहिलो गोल गरेका थिए । त्यस्तै बर्नान्डो सिल्भाले गाव्रियल जेससको पासलाई ४३ औ मिनेटमा सदुपयोग गर्दा पहिलो हाफमा सिटी २-० को अग्रता लिन सफल भयो ।

दोस्रो हाफको सुरुवातमानै एस्टन भिल्लाले खेलमा फर्कने प्रयास स्वरुप वाटकिन्सले ४७ औ मिनेटमा गोल गरे । तर त्यसपछि दुवै तर्फबाट थप गोल हुन नसक्दा सिटी विजयी रह्यो । बुधबारनै भएका अन्य खेलमा लेस्टरसले साउथहेम्टनसँग २-२ गोलको बराबरी खेल्दा वेस्ट ह्याम ब्राइटनसँग १-१ को बराबरीमा रोकियो। त्यस्तै वल्भस र बर्नलीले गोलरहित बराबरी खेलका थिए ।

प्रिमियर लिगमा चेल्सी १४ खेलबाट ३३ अंकका साथ शीर्ष स्थानमा छ भने सिटी ३२ अंकका साथ दोस्रो र लिभरपुल ३१ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *