कांग्रेसको कुन प्रदेशमा कति क्रियाशील सदस्य ?
काठमाडौँ । नेपाली कांग्रेसले १४औँ महाधिवेशन अन्तर्गत आजबाट प्रदेश अधिवेशन प्रारम्भ गर्दैछ । देश संघीय संरचनामा गएपछि कांग्रेसले पहिलोपटक प्रदेश अधिवेशन गर्न लागेको हो ।
पार्टीका सभापति तथा प्रधान मन्त्री शेरबहादुर देउवाले दिउँसो दुई बजे अधिवेशनको उद्घाटन गर्नेछन् । पाँच प्रदेशमा एकैसाथ अधिवेशन उद्घाटन हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनकाअनुसार प्रदेश १ र २ मा भने अधिवेशनको मिति तय भएको छैन ।
कुन प्रदेशमा कति क्रियाशील सदस्य ?
१४औँ महाधिवेशनमा कांग्रेसको क्रियाशील सदस्य संख्या ८ लाख ४० हजार १०६ रहेको छ । प्रदेशगत रूपमा सर्वाधिक १ लाख ८६ हजार ३३५ जना बागमती प्रदेशमा छन् ।
त्यसपछि प्रदेश १ मा १ लाख ७४ हजार ८१३ जना, लुम्बिनीमा १ लाख ३१ हजार ११७ जना, गण्डकीमा १ लाख १८ हजार १४५ जना, प्रदेश २ मा १ लाख ९९९ काे सूची सार्वजनिक गरिएको छ, यद्यपि यो सूचीमा विवाद कायमै छ । त्यस्तै सुदूरपश्चिममा ७५ हजार १०१ र कर्णाली प्रदेशमा ५३ हजार ५९६ जना रहेका छन् ।
यसमध्ये पुरुषको संख्या ६ लाख ४४ हजार ५६५ जना र महिला १ लाख ९५ हजार ३७२ जना छन् । क्लस्टरको आधारमा हेर्दा सर्वाधिक ३ लाख ६७ हजार २७४ जना खस-आर्य छन् ।
आदिवासी जनजाति २ लाख ६ हजार ७३६ जना, मधेसी ८९ हजार ४३९ जना, दलित ४४ हजार १७७ जना, थारू २७ हजार ३३८ जना, मुस्लिम १६ हजार १८२ जना र पिछडिएको क्षेत्रका १४ हजार ३०६ जना छन् । यस्तै अल्पसंख्यक ६ हजार ६२५ जना र अपाङ्गता भएका १८२ जना रहेको कांग्रेसले जनाएको छ ।