सभामुख सापकोटा भन्छन्- सर्वोच्चको समस्या समाधानका लागि उपाय खोज्नेछु
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् ।
प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसन चरणबद्ध आन्दोलनमा रहेका बेला सभामुख सापकोटाले भने, ‘ म जानुभन्दा (स्पेन) पहिला नेपाल बारले ध्यानाकर्षण पत्र बुझाएको थियो । विषय जानकारीमा छ, अब कसरी अगाडि बढ्ने भनेर म सोच्छु ।’
बारले प्रधान न्यायाधीशको बर्खास्तीको माग गर्दै प्रधान मन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष र संसद्मा प्रतिनिधित्व गर्ने दललाई ध्यानाकर्षण पत्र बुझाइसकेको छ ।
सापकोटाले संसद्को गतिरोध अन्त्यका लागि पनि उपाय खोज्ने बताए । ‘कसरी पहलकदमी लिने र धारणा कसरी बनाएर अगाडि जाने भन्ने कुरामा अब सोच्छु,’ उनले भने, ‘सर्वदलीय बैठक, अरू बैठक गरेर उपाय खोज्नका लागि म त्यसमै केन्द्रित भएर लाग्ने छु ।’
उनी अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४३ औँ सम्मेलनमा सहभागी भएर बिहीबार स्वदेश फर्किएका हुन् ।