कास्की कांग्रेसको पहिलो निर्णय- द्वन्द्वकालका घाइतेको निःशुल्क उपचार माग
पोखरा । नेपाली कांग्रेसमा किशोरदत्त बरालको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ । १४औँ महाधिवेशनअन्तर्गत भएको जिल्ला अधिवेशनले बराल नयाँ अवधिका लागि निर्वाचित भएका हुन् ।
नयाँ कार्यसमिति चयनसँगै बसेको पहिलो बैठकले द्वन्द्वकालका घाइतेहरूको निःशुल्क उपचार गर्न सरकारसँग माग गरेको छ ।
‘गण्डकी प्रदेशभित्रका द्वन्द्वकालका शहिद परिवार तथा सम्पूर्ण घाइतेहरूको निःशुल्क उपचारका लागि गण्डकी प्रदेश सरकारसँग माग गर्ने निर्णय गरियो,’ बैठकको निर्णय यस्तो छ । गण्डकीमा द्वन्द्वकालका घाइतेहरूले सजिलै उपचार सेवा नपाएको गुनासो बढिरहेका बेला कांग्रेसले आफ्नै नेतृत्वको सरकारलाई घच्घच्याएको हो ।
यस्तै, सोही बैठकले पोखरामा हुने पहिलो गण्डकी प्रदेश अधिवेशनलाई सफल बनाउन आफ्ना पदाधिकारी र सदस्यहरूलाई खटाएको छ । जिल्ला अधिवेशन सम्पन्न गर्न सहयोग गर्नेलाई धन्यवाद ज्ञापनसमेत गरिएको नवनिर्वाचित सचिव भानुभक्त ढकालले जानकारी दिए ।