एक वर्षभित्रै तीनवटै तहको निर्वाचन हुन्छ : देउवा

धनगढी । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले केही महिनाभित्रै स्थानीय तहको निर्वाचन र एक वर्षभित्रै प्रदेश र संघको निर्वाचन हुने बताएका छन् ।

बिहीबार नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बिहीबार प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनलाई भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले अधिवेशनलगत्तै सबैको ध्यान स्थानीय तह, प्रदेश र संघको चुनावतिर हुनुपर्ने बताएका हुन् ।

‘चुनावी प्रक्रिया लोकतान्त्रिक अभ्यास हो,’ उनले भने, ‘यसमा जित र हार स्वभाविक प्रक्रिया हो । यसलाई आत्मासाथ गरेर आगामी दिनमा जनताको विश्वास जित्ने गरी चुनावमा केन्द्रित हुनुपर्छ ।’

सभापति देउवाले संविधान जारी भएपछि प्रथम पटक प्रदेश अधिवेशन गर्न सफल भएकोमा खुसी व्यक्त गरे । बीपी कोइरालाले छाडेर गएको योगदानलाई इस्मरण गर्दै उनले नेपाली कांग्रेसलाई सुदृढ कांग्रेस बनाउनुपर्ने बताए ।

‘परिवर्तनका लागि कांग्रेसले सबैभन्दा ठूलो निर्वाह गरेको छ‚’ उनले भने, ‘अझै पनि मुलुकको विकास र समृद्धिको नेतृत्व नेपाली कांग्रेसले मात्रै गर्न सक्छ ।’

बिहीबारदेखि सुरु भएको प्रदेश अधिवेशनअन्तर्गत शुक्रबार बिहान साढे ८ बजेदेखि उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

प्रदेश सभापतिका लागि सुदूरपश्चिममा पाँच जनाले उम्मेदवारी घोषणा गरेका छन् । सभापतिका दाबेदारहरू आफ्नो पक्षमा माहोल सिर्जना गर्न प्रचार प्रसारमा जुटेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *