बालबालिकाले कसरी असल साथी छनोट गर्छन् ?

काठमाडौँ। स्वस्थ मित्रता चयन गर्नुलाई बालबालिकाको एक महत्त्वपूर्ण सीपको रूपमा हेर्ने गरिन्छ । तर बालबालिकालाई असल साथी बनाउन सिकाउने गरेको भने विरलै भेटिन्छ । विज्ञानले मित्रताजस्तो एक महत्त्वपूर्ण बन्धनको बारेमा के बताउँछ त ? हामीमध्ये धेरैलाई कोरोना महामारीले हाम्रो नजिकका मित्र को हुन् र उनीहरूको महत्त्व के छ भनेर थाहा पाउने अवसर सिर्जना गरिदियो ।

ठूलो समूहसँग बसेर अन्तरक्रिया गर्नेजस्ता सामाजिक अवसरबाट वञ्चित हुँदा हामीसँग नजिक रहेका विश्वास पात्रसँगको समूहमा भने बढी निर्भर हुन थाल्यौँ । बालबालिकाका लागि यो अवस्था नाटकीय नै थियो‚ विशेषगरी ती बालबालिका र युवाका लागि‚ जो जूम कलको मज्जा लिन सक्दैनथे ।

धेरै व्यक्तिहरू आफ्नो सामाजिक सर्कलबाट‚ अझ भनौँ आफ्ना मिल्ने साथीसँग छुटेका थिए । त्यस्ता साथीहरू‚ जो हाम्रो लागि ह्याङ्ग आउट गर्न र रमाइलो गर्नका लागि मात्र थिएनन् । उनीहरू हामीले पूरा विश्वास गरेका साथीहरू थिए ।

बालबालिकाको साथीका सन्दर्भमा हामी उनीहरूलाई आफ्नै परिवारको विस्तारित सदस्यको जस्तो व्यवहार गर्छौँ । उनीहरूलाई हाम्रो घर पनि उनीहरूको घरजस्तै परिचित लाग्छ र आफ्नै घरजस्तो महसुस हुन सक्छ ।  वयस्क व्यक्तिको मित्रता भने अलि फरक हुन्छ । वयस्क भएपछि हामी हाम्रो सबैभन्दा असल साथीलाई हाम्रो दैनिकी र प्रत्येक सूचनाहरू सेयर गर्छौँ ।

बेलायतको युनिभर्सिटी अफ ससेक्सका मनोविज्ञान विषयमा लेक्चरर रेबेका ग्रेबर भन्छिन्, ‘सबैभन्दा राम्रो मित्रतामा घनिष्ठता हुन्छ, अर्को व्यक्ति तपाईँको साथमा छ भन्ने भावना हुन्छ । यो वास्तवमा देखाउनेभन्दा पनि बुझ्ने कुरा हो ।’ तर के हामी साँच्चै असल साथी बनाउनका लागि केही काम र मेहनत गर्छौँ त ?

अध्ययनले हामीले अरूसँग घनिष्ठ सामाजिक बन्धन अर्थात् असल मित्र बनाउनुको धेरै राम्रो फाइदा हुने देखाउँछ । यस्तो घनिष्ठ सामाजिक बन्धनको प्रकृति भने फरक हुनसक्छ । तर जे होस्‚ यो बन्धनको प्रकृतिमा हुने विविधता बुझ्दा सबैभन्दा राम्रो साथी चाहनेका लागि र त्यसबाट एक जना छनोट गर्न संघर्ष गर्नेहरूलाई सान्त्वना मिल्छ ।

‘फ्रेन्डसीप : द इभोलुसन बायोलोजी एन्ड एक्स्ट्रा अर्डिनरी पावर अफ लाइफ्स फन्डामेन्टल्स’की लेखिका लिडिया डेनवर्थ भन्छिन्, ‘परम्परागत रूपमा हामीले मित्रतालाई सांस्कृतिक रूपमा मात्र सोचेका छौँ । तर मित्रता भनेको त्योभन्दा पनि आधारभूत र गहिरो हुन्छ ।’ घनिष्ठ मित्रता कति आधारभूत हुन्छ भन्ने कुरा हामी मानिसभन्दा अन्य प्रजाति‚ जस्तै: डल्फिन र बेबुनलाई हेरेर थाहा पाउँछौँ ।

मानिसजस्तै डल्फिनले पनि साझा चासोको विषयका माध्यमबाट मित्रता गाँस्छन् । पुरुष डल्फिनहरू‚ जो खानाका लागि गहिरो पानीमा सिकार गर्न जान्छन्‚ त्यति बेला उनीहरूले ‘स्पन्जिङ’ भनेर चिनिने अभ्यास‚ जसमा अन्य पुरुष स्पन्जरहरूसँग अन्तरक्रिया गर्ने गरेको एक अध्ययनले देखाएको छ ।

ज्यूरिख विश्वविद्यालयका अनुसन्धानकर्ता प्रमुख लेखक मानुएला बिजोजेरो टिप्पणी गर्छन्, ‘डल्फिनले सिकारको समयमा बाँधेको यो बन्धन दशकौँसम्म रहन सक्छ । प्रत्येक पुरुष डल्फिनको एक अर्कासँगको सम्बन्ध सफलताका लागि निकै महत्त्वपूर्ण हुने गर्छ ।’ त्यस्तै बबुनहरूले प्रारम्भिक जीवनको प्रतिकुलतालाई पार गर्न बलियो मित्रता बनाउने अध्ययनले देखाउँछ ।

प्रिन्सटन विश्वविद्यालयका प्राइमेटोलोजिस्ट जीएन अल्टम्यानको नेतृत्वको एक अध्ययनले वयस्क महिला बेबुनहरूबीचको मित्रताले उनीहरूको बच्चाको बाँच्ने दर बढाएको पत्ता लगाएको थियो । अध्ययनले बलियो सामाजिक बन्धन भएको बेबुनहरूले तनाव महसुस नगर्ने र आफ्नो साथीलाई सिकारीले मारिदिए अर्को साथी बनाउने निष्कर्ष निकालेको थियो । डेनवर्थ भन्छिन्, ‘धेरै धनी हुनु भनेको तपाईँहरूसँग असल साथी हुनु पनि हो । असल साथीले जस्तोसुकै परिस्थितिसँग लड्नु परे पनि साथ दिन्छन् ।’

साथी बनाउने

साथी भेट्टाउनु र उसलाई आफ्नो जीवनमा राखिरहनु पनि एउटा सीप हो‚ जुन सीप विकास गर्न केही समय लाग्छ । बालबालिकाहरूमा ४ वर्षको उमेरदेखि नै अरू व्यक्तिहरूमा विचार, रुचि र भावना हुन सक्छ भन्ने बुझाइको विकास हुन सुरु हुन्छ । यो उदीयमान सिद्धान्तलाई ‘थ्योरी अफ माइन्ड’ भनिन्छ ।

यो सिद्धान्तले बालबालिकालाई साथी बनाउने कुरामा सहयोग गर्छ । मनोवैज्ञानिक तथा ‘ग्रोइङ फ्रेन्डसीप : ए किड्स गाइड टु मेकिङ एण्ड किपिङ फ्रेन्ड्स’का लेखक इलिन केनेडी मुर भन्छिन्, ‘घनिष्ठ मित्रताले अरू कसैको परिप्रेक्ष्यमा कल्पना गर्ने क्षमता बढाउँछ । बालबालिकाहरू प्रायः मित्रताको व्यवहारिक दृष्टिकोण राख्छन् । उनीहरू खेल मैदान, कक्षाकोठामा साथीसँग घनिष्ठ सम्बन्ध बनाउँछन् । यो प्रेमसम्बन्धी उनीहरूको दृष्टिकोण हो । बालबालिकाका लागि फाइदाको कुरा यो छ कि उनीहरू आफ्नो सानो उमेरमा एउटै कोठामा २५ जनासम्म मिलेर बस्न सक्छन् । तर वयस्क भएपछि यसरी साथीसँग मिलेर बस्न धेरै गाह्रो हुन्छ ।’

एक अध्ययनका अनुसार वयस्क व्यक्तिलाई एक९अर्कासँग सामान्य चिनजान गर्न ५० घण्टा‚ एक अर्कालाई साथी बनाउन ९० घण्टा र भावनात्मक सम्बन्ध बाँड्ने घनिष्ठ साथी बन्न २ सय घण्टाभन्दा बढी समय लाग्ने देखाएको छ । मनोवैज्ञानिकहरू असल मित्रताको अभ्यासले बालबालिकामा राम्रो सम्बन्ध स्थापना गर्न सिकाउने र यसले पछि वैवाहिक जीवन व्यवस्थापन गर्नसमेत मद्दत गर्ने बताउँछन् ।

असल मित्रता कायम गर्दा त्यसले बालबालिकामा असल सम्बन्ध स्थापना गर्ने सीप त विकास गर्छ नै त्योसँगै अरू व्यक्तिबारे बुझ्ने, आफैँलाई चिन्ने, एक्लोपन, आहारिस र तनावसँग जुध्ने बानीको पनि विकास हुने केनेडी मुर बताउँछिन् । ‘यदि बालबालिकाले आफ्नो मिल्ने साथी भएकोबारे घरमा बताउँदैनन् भने यसको अर्थ यो होइन की उनीहरूका मिलनसार मित्र नै छैन । कसैको अरूसँग नजिक भएको नबताउने बानी हुन्छ‚’ केनेडी मुरले थपिन् ।

अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय बाहिर पनि संगठन बनाउन साथी बनाउन सहयोग गर्नुपर्छ । बालबालिकाहरू खेल खेल्ने क्रममा, रमाइलो गर्ने क्रममा साथी बनाउन रुचाउँछन् । त्यसैले यस्ता गतिविधिका लागि समय उपलब्ध गराएर साथीहरू जम्मा हुने वातावरण मिलाइदिनुपर्छ ।

अभिभावकले खेल लगायतका अन्य रमाइलो क्रियाकलापमा बालबालिकालाई जोड्नु भनेको उनीहरूका लागि असल साथी बनाउन सहयोग गर्ने एक सूत्र सरह नै भएको केनेडी बताउँछिन् ।

स्वास्थ्यका लागि फाइदाजनक

बालबालिकालाई बलियो मित्रता कायम गर्न सहयोग गर्नाले बाचुन्जेलसम्मका लागि फाइदा हुन्छ । यसले शारीरिक र मानसिक दुवै स्वास्थ्यमा लाभ हुन्छ । घनिष्ठ मित्रता कायम गर्दा यसले हृदय र न्यूरोएन्ड्रोक्राइन स्वास्थ्यमा सकारात्मक फाइदा पुर्‍याउँछ ।

अध्ययनले एउटा व्यक्तिले असल मित्रता कायम गर्दा‚ धूम्रपान त्याग्दा, तौल घटाउँदाभन्दा राम्रो फाइदा हुने देखाएको छ । असल मित्रता कायम गर्दा रोग प्रतिरोधात्मक क्षमतासमेत वृद्धि हुने अध्ययनले देखाएको छ ।

अमेरिकामा गरिएको एक सर्वेक्षणमा असल साथी र परिवारमा राम्रो सम्बन्धमा बाँधिएर बस्दा मानिसको मृत्युदर जोखिम ५० प्रतिशतले घट्ने पाइएको थियो । त्यस्तै एक्लो बस्नाले दिनमा १५ वटा चुरोट खाए बराबरको असर पुर्‍याउने पनि अध्ययनले देखाएको थियो ।

हार्वर्ड स्टडी अफ एडल्ट डेभलपमेन्टले ७ सय व्यक्तिको जन्मदेखि मृत्युसम्मको लाइफ ट्र्याक गरेको थियो‚ जसमा ५० वर्षको उमेरमा पुग्दा अरू व्यक्तिसँगको सम्बन्धबाट सन्तुष्ट रहनेहरू शारीरिक र मानसिक रूपमा स्वस्थ रहेको पाइएको थियो । त्यसैले डेनवर्थ यदि असल र घनिष्ठ मित्र छैनन् भने अहिले पनि कुनै ढिला नभएको र यसको फाइदा लिन अब बनाउँदा पनि हुने सुझाव दिन्छन् ।

साथीहरूमध्ये पनि एक घनिष्ठ मित्र हुनुलाई सम्बन्धको गुणस्तर र पारस्परिकताको रूपमा परिभाषित गर्न सकिन्छ । यसको धेरै लाभ रहेको अध्ययनले देखाउँछ । घनिष्ठ मित्र हुँदा बालबालिकाले कठिन परिस्थिति सामना गर्न सक्छन् । त्यसैले असल साथी बनाएर खुसी जीवन बाच्न सकिन्छ । बीबीसीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *