श्रद्धा ‘शतबीज’मा सद्गुणको खोजी

आज मङ्सिर महिनाको कृष्ण चतुर्दशी बालाचतुर्दशी अर्थात् शतबीज छर्ने दिन । यो पर्व विशेष गरी पितृहरूको उद्धारको निम्ति उनीहरूको सम्झनामा मनाइन्छ ।मार्गकृष्ण त्रयोदशीको साँझमा उपत्यकाको पशुपतिनाथ लगायत अधिराज्यका अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी भोलिपल्ट अर्थात् चतुर्दशीको दिन शतबीज रोपण गरिन्छ ।

शिवालय वरिपरिका धेरै खुला क्षेत्र अघिल्लो दिनदेखि नै श्रद्धालुहरूले भरिभराउ हुन्छन् । रात्रिमा दीप बालेर जाग्राम बस्नका लागि आफ्नो क्षमता र अनुकूलता अनुसारका खाने बस्ने सामाग्री लिएर मन्दिर परिसरमा बसेकाहरूको भिडले वरिपरिको वातावरण नै उल्लासमय भएको हुन्छ ।

नेपालीमा ‘सतम्’को अर्थ सय र ‘बीज’को अर्थ बीउ हुन्छ । यसरी शतबीज भन्नाले सय थरी बीउ भन्ने बुझिन्छ । तर पनि शतबीज प्रचलनमा सप्तबीज मानेर सात वटा बिउहरू धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई मात्र लिइने गरेको पाइन्छ ।

बालाचतुर्दशी वा शतबीज रोपण पर्वको मुख्य सन्देश दिवङ्गत भएका पितृहरूको पनि सम्झना भएकोले पूर्वीय संस्कृतिमा यसको विशेष महत्त्व छ । धर्मसँगै पारिवारिक श्रद्धा र भावनात्मकता समेत मिसिएको यो पर्व आफैमा विशेष भएकोमा शङ्का छैन ।

शतबीजका मान्यताका सम्बन्धमा धेरै कथाहरू सुनिन्छन् । ती मध्ये श्लेष्मान्तक बनमा मृगस्वरुप धारण गरेर विचरण गरिरहेका शिवजीलाई भेटाउनका लागी माता पार्वतीले शतबीज छरी विभिन्न आकर्षक घाँस उमारेको र मृगस्वरुपका भगवान् शिव ती घाँसमा आकर्षित भएर माता पार्वतीले भगवान् शिवलाई भेटाउन सफल भएको कथासँगै शतबीज छरी भगवान् शिवलाई खुसी पार्ने र पितृको मोक्षका लागी शिवजीको आराधना गर्ने किंवदन्ती शतबीजको शाब्दिक अर्थसँग मेल खान्छ ।

किनकि बीज अर्थात् बिउ को अर्थ नै त्यस मार्फत कुनै चिज सृजना गर्नु हो । जब धान गहुँ मकै जस्ता कुनै पनि बिउ छरिन्छ तिनको मर्म नयाँ बोटको सृजना र सो मार्फत त्यस्तै थप अन्न उब्जाउने हुनुपर्छ तब पो बिउ । अथवा कम्तीमा पनि पार्वतीले गरे जस्तै बिउ उम्रेर घाँस भएपछि खुला बनमा वन्यजन्तुलाई आहारामा काम लाग्ने त होस । पितृका नाममा हामीले छरेका बिउहरू के साँच्चै बिउ भएर उम्रन सकेका छन् त ?

अब यसको अर्को पाटो हेरौँ
शिवालय छेउछाउमा अस्थायी व्यापारीहरूको पनि भिड लाग्छ । प्लास्टिकका पोकाहरूमा क्षमता अनुसारका बिउहरू सामान्य भन्दा चार गुणा बडी मूल्यमा बिक्रीमा हुन्छन् । सादगीका लागि भेजदेखि घुमन्तेका लागी सेकुवा सुकुटी र मदिरा समेतको अस्थायी व्यापार मन्दिरको ढोकानिरै फस्टाउँछ । यसकै आर्थिक पाटो राम्रै पनि होला तर ती सबैले गर्ने फोहोर शतबीजसँगै छरिन्छन् र कतिपय क्षेत्र दुर्गन्धित समेत हुन्छन् ।

भिड यसरी लाग्छ कि सामान्य समयमा कहिल्यै नदेखिने स्थानहरूमा भिख माग्नेहरूको पनि लामै लस्कर हुन्छ । कोलाहलपूर्ण वातावरणमा भिन्न-भिन्न समूहका भिन्न-भिन्न भजन कीर्तन नाचगानले साँझमा त्यस क्षेत्र वरपर शान्तसँग ध्यान गरेर पितृलाई श्रद्धा अर्पण गर्ने वातावरण नै हुँदैन ।

साथै श्रद्धालुहरूले पनि ढलान गरिएको बाटो र मन्दिर परिसरमै जताततै छरेका अन्नहरू (अन्न उम्रने भए मात्र बिउ हुन्छ), तिनलाई कुल्चँदै थप छर्ने होडबाजी, अगरबातीको खोलहरू र सबैभन्दा धेरै अन्न पोको पारेर ल्याएका प्लास्टिकका झोला र भुईँमा ओछ्याउन प्रयोग भएका बोराहरूले पवित्र धार्मिकस्थल केही क्षणका लागि डम्पिङ साइट जस्तो देखिन्छ । खोला नदी पोखरीमा बत्ती बाल्न प्रयोग भएका दियो र पूजाका सड्ने फोहोरहरू दुना टपरी होमका काठहरू आदिले लामो समयसम्म नै पानीको स्रोतलाई प्रदूषित गरिरहेको हुन्छ ।

हाम्रा संस्कार र पितृ उद्धारका यी क्रियाहरू यति गैरजिम्मेवार हुँदै गएका छन् कि धार्मिक स्थल वरिपरिको जल जमिन वायु र ध्वनि प्रदूषणको मुख्य कारण हामी बन्दै गइरहेका छौ कि भन्ने भान हुन्छ । हामीले बिउ बोक्न प्लास्टिकका झोलाहरू मात्र प्रयोग नगरेमा पनि एकातिर लाखौँको सङ्ख्यामा प्लास्टिक झोला कम प्रयोग हुन्छन् भने अर्कोतिर भोलिपल्ट मन्दिर परिसरमा देखिने सबैभन्दा धेरै फोहोर आधाभन्दा धेरैले घट्छ । शतबीज छर्दा जथाभाबी नछर्ने, उम्रने ठाउँमा एक मुठी मात्र छर्ने, आफूले पूजा गर्दा निस्किएका सबै फोहोर आफै व्यवस्थापन गर्ने, भजन कीर्तन गर्दा नजिकै बसेकाको शान्ति भङ्ग नहुने कुराम ध्यान दिने जस्ता स साना सुधारले हाम्रा संस्कार विरुद्ध उठ्ने स्वार्थी आवाजहरूलाई शिर ठाडो पारेर जवाफ दिन सकिन्थ्यो कि !

(म आफू पनि हिन्दु नै भएकोले यो संस्कारको विरोध हैन व्यवहारप्रतिको असन्तुष्टि मात्र हो)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *