कांग्रेस गण्डकीमा अर्जुन र शुक्रराजका दुई प्यानल
पोखरा । नेपाली कांग्रेसको प्रदेश अधिवेशनअन्तर्गत गण्डकी प्रदेशमा केन्द्रीय गुटको छाया नराम्रोसँग देखिएको छ । यहाँ संस्थापन (सभापति शेरबहादुर देउवा) र संस्थापनइतर (वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालालगायत) को छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् ।
संस्थापनबाट अर्जुन जोशीको प्यानल बनेको छ भने संस्थापनइतरबाट शुक्रराज शर्माको प्यानल छ । दुवैले प्यानलसहित मनोनयन दर्ता गराए । देउवा प्यानलबाट उपसभापतिमा मेखलाल श्रेष्ठ र नेत्र महत छन् भने महामन्त्रीमा ईश्वर पाण्डे र कुमार खड्काले मनोनयन दर्ता गराए ।
यस्तै, सहमहामन्त्रीमा महिलातर्फ ओमकला गौतम, खुलामा राजनराज पन्त र झुलबहादुर आलेको उम्मेद्वारी दर्ता भएको छ ।
संस्थापनइतरबाट उपसभापतिमा हरिप्रसाद श्रेष्ठ र कल्पना तिवारी, महामन्त्रीमा किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने तथा सहमहामन्त्रीमा महिलातर्फ कोपीला रानाभाट र खुलामा रमेश पाण्डे र रामचन्द्र जोशीको उम्मेदवारी छ ।
सहमहामन्त्रीमा युवराज बस्ताकोटी र गणेश सापकोटाको उम्मेदवारी छ । कांग्रेसको विधानमा उपसभापति र महामन्त्री २/२ तथा सहमहामन्त्री ३ जना निर्वाचित हुने व्यवस्था छ ।
अन्य पदमा पनि प्यानलअनुसार नै उम्मेदवारी छ । यहाँ ५९ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ । थप २० प्रतिशत मनोनीत गर्ने व्यवस्था छ ।