कांग्रेस प्रदेश समितिको नयाँ नेतृत्वका लागि आज मतदान

काठमाडौँ । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश समितिको लागि आज निर्वाचन हुँदैछ । प्रदेश-२ बाहेकका ६ प्रदेशमा हिजो उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।

प्रदेश नेतृत्वको लागि विभिन्न समूहले आफ्नो अनुकूल हुने गरी सहकार्य गरेका छन् । संस्थापन पक्ष र संस्थापन इतर पक्षले प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ । बागमतीमा संस्थापन समूहबाट मकवानपुर जिल्ला सभापति इन्द्र बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट नुवाकोटका पूर्व सभापति जगदीश्वर नरसिंह केसी उम्मेदवार बनेका छन् । त्यस्तै नेता भीमसेनदास प्रधानले पनि प्रदेश सभापतिमा उम्मेदवारी दिएका छन् ।

प्रदेश १ मा शेरबहादुर देउवा र कृष्ण सिटौला पक्षबीच चुनावी तालमेल हुने भएको छ । यही तयारीस्वरूप यहाँ दुई उम्मेदवारले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् । यहाँ भोलि निर्वाचन हुँदैछ ।

चुनावी मैदानमा देउवा-सिटौला पक्षबाट झापाका उद्धब थापाले उम्मेदवारी दर्ता गराएका छन् भने पौडेल-कोइराला पक्षबाट गुरुराज घिमिरे सभापतिको उम्मेदवारी बनेका छन् ।

यस्तैगरी दुईजना उपसभापतिको लागि ४ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा गोविन्द ढुंगाना, विश्वनाथ रिजाल, टंक राई र रमेशजंग रायमाझी रहेको प्रदेश निर्वाचन समितिले जनाएको छ । ढुंगाना र रिजाल पौडेल-कोइराला पक्षबाट उम्मेदवार बनेका हुन् भने राई र रायमाझी देउवा-सिटौला पक्षका हुन् ।

दुई महामन्त्री पदका लागि ४ जनाकै उम्मेदवारी परेको छ । महामन्त्रीका लागि दिपेन श्रेष्ठ, भूपेन्द्र राई, उमेश थापा र पदमसुन्दर पालुङ्गाले मनोयन दर्ता गराएका छन् । पौडेल-कोइराला पक्षबाट थापा र श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् भने राई र पालुङ्गा देउवा-सिटौला पक्षका हुन् ।

१ महिला र २ खुल्लासहित ३ जना सहमहामन्त्रीका लागि १० जनाको उम्मेदवारी दर्ता भएको छ । महिला सहमहामन्त्रीका लागि प्रमिला गच्छदार र सीता कार्कीको उम्मेदवारी परेको छ ।

निर्वाचन समितिकाअनुसार खुला सहमहामन्त्रीका लागि अञ्जना ताम्ली, इन्दिरा थापा, मानबहादुर लिम्बु, रोहित साह, शुभचन्द्र राई, वीरकाजी राई, विनोदकुमार बस्नेत र खड्गबहादुर फागोको उम्मेदवारी परेको नेपाली कांग्रेस प्रदेश नं. १ अधिवेशन प्रचार समितिका सदस्य सचिव लिलाबल्लभ घिमिरेले बताए ।

गण्डकीमा ७ जना निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार भएको मनोनयनका क्रममा अरुको उम्मेदवारी र दावी विरोध नपरेपछि ७ जना सदस्य सर्वसम्मत भएका हुन् । सबैजना जिल्ला तर्फका उम्मेदवार छन् ।

पर्वतबाट रिता राना थापाले उम्मेदवारी फिर्ता लिएपछि मिनाकुमारी केसी सर्वसम्मत निर्वाचित भएकी छिन् । मुस्ताङबाट पुष्पा भट्टचन शेरचन तथा मनाङबाट चिउडे लामा सर्वसम्मत भइन् । पहिलो सूची निकाल्दा लामा प्रदेशभित्रका प्रदेश सभाको खुला सदस्यमा मनोनयन दर्ता गराएकी थिइन् । तर पछि सच्याइएको हो ।

प्रत्यक्षतर्फ पनि मनाङका विनोद गुरुङ, तनहुँका लक्ष्मीप्रसाद आचार्य र मुस्ताङका सुवर्णकुमार विष्ट सर्वसम्मत भएका छन् । विनोद गुरुङले पनि खुलामा उम्मेदवारी दिएका थिए । अन्य पदमा भने प्यानलकै उम्मेदवार छन् । केही पदमा स्वतन्त्र उम्मेदवारी पनि परेको छ ।

लुम्बिनी प्रदेश समितिको नयाँ नेतृत्वका लागि संस्थापन र संस्थापनइतर समूहबाट दुई प्यानलले उम्मेदवारी दर्ता गराएका छन् । संस्थापन समूहबाट भरतकुमार शाह र संस्थापनइतर समूहबाट अमरसिंह पुनले प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन् ।

शाह रुपन्देहीका सांसद हुन्, उनी सार्वजनिक लेखा समिति सभापतिसमेत हुन् भने पुन रोल्पाको पूर्वसभापति एवम् पूर्वराज्यमन्त्री हुन् । शाहको प्यानलबाट दुई उपसभापतिमा राजु खनाल र सुधाकर पाण्डे, दुई महामन्त्रीमा जन्मजय तिमल्सिना र खिमान सिंह रायमाझी र तीन सहमहामन्त्रीमा संस्थापनबाट लक्ष्मीनारायण शाह, सरिता चौधरी र माया पुन उम्मेदवार छन् ।

यसैगरी पुन समूहबाट उपसभापतिमा भुवनप्रसाद श्रेष्ठ र अष्टभुजा पाठक छन् भने महामन्त्रीमा विक्रम खनाल र सुरेन्द्रराज आचार्यले उम्मेदवारी दर्ता गरेका छन् । यसैगरी तीन सहमहामन्त्रीमा विष्णु खनाल (मुस्कान), खगराज पान्डेय र निमा गिरीले उम्मेदवारी दर्ता गरेका निर्वाचन समितिका प्रमुख डा. बुद्ध थापाले जानकारी दिए ।

सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कांग्रेसको सभापतिका लागि तीनवटा समूह भिड्ने भएका छन् । यसअघिसम्म पार्टी सभापति शेर बहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षले मात्र उम्मेदवारी घोषणा गरेका थिए । तर, उम्मेदवारी दर्ता गर्दा भने विमलेन्द्र निधि पक्षले पनि दर्ता गराएको छ । निधि पक्षका कालिकोटका मोतीराज बमले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै संस्थापन पक्षबाट जुम्लाका ललितजंग शाही, कालिकोटका पौडेल पक्षबाट युवा नेता तथा तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाही र निधि पक्षबाट बमबीच कडा प्रतिस्पर्धा हुने भएको हो ।

कर्णालीमा नेपाली कांग्रेसको सभापतिदेखि सदस्यहरू सम्मको पहिलोपटक नामावली सार्वजनिक भएको छ । शुक्रबार दर्ता गराएका मध्ये सभापतिका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् उपसभापतिका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा उप-सभापतिका लागि कालीबहादुर सहकारी, सनतकुमारी कार्की, देवेन्द्रबहादुर शाही र तिलकबहादुर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै महामन्त्रीका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् भने सहमहामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये चार जना पुरुष र २ जना महिला रहेका छन् । जसमा महामन्त्रीमा निरञ्जन केसी, कृष्णकुमार रोकाया, कृष्णबहादुर बिसी, खगेन्द्रबहादुर मल्ल र गोविन्दबहादुर कोइरालाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै सह महामन्त्री पुरुषतर्फबाट उपेन्द्रबहादुर थापा, एकराज डाँगी, नेत्रलाल पौडेल र जयनन्द उपाध्यायको उम्मेदवारी परेको छ भने सह महामन्त्री महिलातर्फबाट रामछायाँकुमारी शाही र देविकाकुमारी सिंह को उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश अधिवेशनमा संस्थापन पक्ष र इतर पक्षबीच प्रतिस्पर्धा हुने भएको छ । सभापतिका लागि संस्थापन पक्षबाट पार्टीका केन्द्रीय सदस्य पूर्वमन्त्री वीरबहादुर बलायर र इतर पक्षबाट कैलाली पूर्वसभापति पुराना नेता नारायणदत्त मिश्र उम्मेदवारी मनोनयन दिने तयारीमा छन् ।

संस्थापन पक्षमा सभापतिका लागि पाँच जनाभन्दा बढी आकांक्षी देखिएका भएपनि अन्तिममा पूर्वमन्त्री बलायरको पक्षमा सहमती जुटेको छ । उनी यसअघि सभापतिको चर्चामा थिएनन् ।

इतर पक्षले अन्तिम अवस्थामा आएर मात्रै उम्मेदवार खडा गरेको हो । सर्वसम्मत रूपमा नेतृत्व चयन गर्नका लागि बलायरलाई अगाडि सारिएपनि दुई पक्षबीच सहमति हुन सकेन । अन्तिममा दुई पक्षबीच चुनावी प्रक्रिया अगाडि बढ्ने भएको छ ।

सहमतिमै प्रदेश कार्यसमिति गठन गर्नेबारे संस्थापन र इतर समूहका नेताहरुबीच बिहीबारदेखि नै छलफल भइरहेको थियो । तर भागबन्डामा कुरा नमिलेको भन्दै संस्थापन इतर पक्षले उम्मेदवारको सूची सार्वजनिक गरेपछि देउवा पक्ष पनि चुनावमा होमिएको हो ।

संस्थापन पक्षबाट नरनारायण शाह, गोविन्द बोहरा, गोविन्दबहादुर शाह, अर्जुनजंगबहादुर सिंह, हिमबहादुर रावल र पुष्प शाहीले सभापतिमा दाबी गरेका थिए । निर्वाचन समितिले मनोनयन दर्ताको समय २ देखि ४ बजेसम्मको समय तोकेको भएपनि अहिलेसम्म प्रमुख पदहरूमा मनोनयन सुरु भएको छैन । सदस्यका उम्मेदवारहरूले भने मनोनयन दर्ता गर्न शरू गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *