एमाले महाधिवेशन सकिने बित्तिकै प्रचण्ड चितवनमा, शिलान्यास र उद्घाटनमा व्यस्त (तस्बिरहरू)

काठमाडौँ । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन सकिन बित्तिकै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् । पछिल्लो समय गृह जिल्लामा प्रचण्डको आउजाउ बाक्लिएको हो ।

महाधिवेशनअघि मात्रै प्रचण्डले ६ जना मन्त्री भरतपुरमा उतारेर विकास बहसको कार्यक्रम गरेका थिए । यसपटक शुक्रबार चितवन पुगेका प्रचण्डले आज बिहानै सी बिच मोडलमा आधारित नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माणको शिलान्यास गरेका छन् ।

एमालेले महाधिवेशनको उद्घाटन नारायणी नदी किनारमै गरेको थियो । प्रचण्डले यातायात व्यवस्था सेवा कार्यालय भरतपुरको सवारी दर्ता तथा सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स)को नवीकरण सेवा शुभारम्भको उद्घाटन पनि गरे । बागमती प्रदेशअन्तर्गतको यातायात सेवा कार्यालयले स्मार्ट लाइसेन्सको नवीकरण गर्न पाउने अधिकार पाएलगत्तै सेवा सञ्चालन गरेको हो ।

यस्तै उनले चितवन दिव्यनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था शिलान्यास पनि गरेका छन् । चितवनमै आजदेखि शुरु हुने प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको प्रचण्डले आजै उद्घाटन गर्दै छन् । उद्घाटनसँगै महाधिवेशनलाई प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *