नेपाली कांग्रेस : स्थापनाको ७५ वर्ष, १३ महाधिवेशन, आठ जनाको नेतृत्व
काठमाडौँ । दुईवटा कांग्रेस पार्टीको एकतापछि नेपाली कांग्रेसको स्थापना २७ चैत २००६ मा भएको हो । नेपाली राष्ट्रिय कांग्रेस र नेपाली प्रजातन्त्र कांग्रेसको एकता भएको चौथो अधिवेशनबाट पार्टीको नाम नेपाली कांग्रेस राखिएको थियो ।
तर, बीपी कोइरालाको पहलमा २००३ मा स्थापना भएको नेपाली राष्ट्रिय कांग्रेसलाई नै नेपाली कांग्रेसको पनि स्थापनाको रुपमा लिइन्छ किनभने नेपाली कांग्रेस राष्ट्रिय कांगेसकै निरन्तरता थियो ।
नेपाली राष्ट्रिय कांग्रेस स्थापनाका लागि पहिलो पहल बीपी कोइरालाबाटै भएको थियो । उनले वि.सं. २००३ असोज १८ मा भारतको पटनाबाट प्रकाशित हुने ‘द सर्च लाइट’मा एउटा आह्वान सार्वजनिक गरेका थिए । उक्त आह्वान ‘सम्पादकलाई चिट्ठी’ स्तम्भमा छापिएको थियो । उक्त आह्वानमा उनले भारतमा ब्रिटिसहरूको शासन समाप्त हुन लागेकाले नेपालमा पनि जहानियाँ शासनलाई समाप्त पार्न पार्टी निर्माण गर्नुपर्ने उल्लेख गरेका थिए ।
उनको आह्वानअघि नै बनारस हिन्दू विश्वविद्यालयमा अध्ययनरत नेपालीले ‘नेपाली छात्र संघ’ स्थापना गरिसकेका थिए । यसमा भारतीय प्राध्यापक विश्वनाथप्रसाद मिश्र अध्यक्ष थिए । उपाध्यक्ष कृष्णप्रसाद भट्टराई थिए भने अन्य सदस्यमा काशीराज उपाध्याय, रत्नबहादुर पार्थिव, मणिराज भण्डारी, लीलानटेश्वर बराल, विश्वबन्धु थापा, भरतमणि शर्मा, रोहिणीराज सत्याललगायत थिए ।
बीपीको आह्वानपछि नेपाली छात्र संघकै प्रयासमा कात्तिक १५ मा काशीमा एउटा गोष्ठी आयोजना गरेर राजनीतिक दल खोल्ने प्रयास सुरु भयो ।
त्यसका लागि देवीप्रसाद सापकोटा सभापति भएको अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरिएको थियो । उपसभापतिमा बालचन्द्र शर्मा, महामन्त्रीमा कृष्णप्रसाद भट्टराई, प्रचारमन्त्रीमा गोपालप्रसाद भट्टराई र कार्यसमितिमा बटुकप्रसाद भट्टराई, नारायणप्रसाद भट्टराई र नरेन्द्र रेग्मी थिए ।
त्यसैबीच नेपालको जेलबाट भागेर भारत पुगेका गणेशमान सिंह र बीपी कोइरालाको भेट भयो ।
उनी नेपाल प्रजापरिषद्को सदस्य थिए । पार्टी स्थापनाका लागि कलकत्तामा हुने सम्मेलनमा गणेशमान पनि सहभागी हुने निश्चित भयो । तर, उनी प्रजापरिषद्को सदस्यको हैसियतमा सहभागी थिए । सम्मेलनबाट निस्किँदा भने कांग्रेस भइसकेका थिए ।
पहिलो अधिवेशन : पार्टी स्थापना
नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गर्न १२–१३ माघ २००३ मा भारतको कलकत्ता भवानीपुरस्थित खालसा हाइस्कुलमा सम्मेलन बोलाइएको थियो । पछि यसैलाई पहिलो अधिवेशन मानियो ।
सम्मेलनमा भाग लिनेहरू धेरैजसो काशी हिन्दू विश्वविद्यालय तथा कलकत्ता विश्वविद्यालयका नेपाली विद्यार्थी र भारतका विभिन्न भागमा बसेका प्रवासी नेपाली थिए । काठमाडौँबाट सम्मेलनका लागि जानेमा सूर्यबहादुर भारद्वाज, सुन्दरराज चालिसे, गोविन्दप्रसाद लोहनी, जीवनलाल सत्याल र ईश्वरीप्रसाद शर्मालगायत थिए । वीरगञ्जबाट वीरसुन्दरलाल श्रेष्ठ, महोत्तरीबाट सरोजप्रसाद कोइराला, नरेन्द्र रेग्मी, जनकपुरबाट रुद्रप्रसाद गिरी, पूर्वी नेपालबाट नरेन्द्रकुमार प्रधान, महानन्द सापकोटा पनि कलकत्ता पुगेका थिए ।
सम्मेलनले पार्टीको दुईवटा उद्देश्य लियो– नेपालमा श्री ५ महाराजाधिराजको वैधानिक अधिनायकत्वमा जनताको उत्तरदायी सरकारको स्थापना र भारतको स्वतन्त्रता संग्राममा सघाउ पुर्याउने । तर, गणेशमान नेपालका लागि मात्र काम गर्ने पार्टी बनाउन चाहन्थे । बीपीलगायत प्रवासी नेपालीले यसअघि पनि भारतीय स्वतन्त्रता संग्राममा भाग लिइसकेकाले उनीहरू त्यहाँका समाजवादी तथा कांग्रेस नेतासँग सम्बन्ध बनाइराख्न चाहन्थे ।
डिल्लीरमण रेग्मीले झन्डोत्तोलन गरेर पहिलो सम्मेलन उद्घाटन गरेका थिए । सम्मेलनको पहिलो चरणमा पार्टीको नाम नेपाल प्रजापरिषद् नै राखेर निरन्तरता दिन गणेशमान सिंहले प्रस्ताव गरेका थिए । तर, गोपालप्रसाद भट्टराई, कृष्णप्रसाद भट्टराई, डीएन प्रधान लगायतले विरोध गरे ।
पछि बीपीले गणेशमानसँग सल्लाह गरेर ‘नेपाली राष्ट्रिय कांग्रेस’ राख्न प्रस्ताव गरे । त्यही नाम कायम भयो ।
गणेशमानले नेपालको जेलमा रहेका नेपाल प्रजापरिषद्का अध्यक्ष टंकप्रसाद आचार्यलाई नै नेपाली राष्ट्रिय कांग्रेसको सभापति बनाउन प्रस्ताव गरे । तर, यसको विरोध भयो । डिल्लीरमण रेग्मीले पनि आफू अध्यक्ष हुनुपर्ने बताएका थिए । रेग्मीको प्रस्तावमा भने कसैले रुची नै देखाएन ।
अधिकांशको मत बीपी कोइराला नै सभापति हुनुपर्छ भन्ने थियो । तर, गणेशमानले टंकप्रसादलाई नै सभापति बनाउन अडान लिएपछि बीपीले लचकता देखाए । अनि बीपी कार्यवाहक सभापति भए ।
दोस्रो महाधिवेशन : जेलमा बीपी, नेतृत्वमा मातृका
नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भएको दुई महिना नपुग्दै २००३ चैतमा विराटनगरस्थित जुट मिलमा आन्दोलन चल्यो । आन्दोलनको नेतृत्व गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीले गरेका थिए । उक्त आन्दोलनको स्वामित्व लिन बीपी विराटनगर पुगे । आन्दोलनकै क्रममा उनी चैत १२ मा पक्राउ परे । सभापति टंकप्रसाद आचार्य पनि जेलमै थिए ।
पार्टी हाँक्न नयाँ नेतृत्व आवश्यक भएपछि २७ र २८ चैतमा जोगवनीमा भएको दोस्रो सम्मेलनले मातृकाप्रसाद कोइरालालाई कार्यवाहक सभापति बनायो । सम्मेलनले मजदुर आन्दोलनमा पक्राउ परेकाहरूको रिहाइका लागि सत्याग्रह आन्दोलन गर्ने निर्णय पनि गरेको थियो ।
कार्यवाहक सभापति बनाइएका मातृका पार्टी सदस्य थिएनन् । उनले आन्दोलनभरि मात्र सभापति बन्ने शर्तमा नेपाली राष्ट्रिय कांग्रेसको सदस्यता र नेतृत्व दुवै एकै साथ लिए । नेपाली राष्ट्रिय कांग्रेसले जेठ २० मा सत्याग्रह स्थगित गरेपछि मातृकाले कार्यवाहक सभापतिबाट राजीनामा दिए । उक्त पदमा एक वर्षका लागि डिल्लीरमण रेग्मी चुनिए ।
बीपी कोइराला २००४ भदौमा जेलमुक्त भए पनि रेग्मीले नेतृत्व हस्तान्तरण गर्न मानेनन् । बीपीले पछि २००४ असोज २८ मा कार्यवाहक सभापति आफू नै भएको घोषणा गरे । रेग्मीले त्योभन्दा एक कदम अगाडि बढेर जेलमा रहेका टंकप्रसाद आचार्यलाई सभापतिबाट बर्खास्त गरे र आफैँ सभापति भएको घोषणा गरे । यसरी नेपाली राष्ट्रिय कांग्रेसमा फुट आयो । बीपीलाई गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गोपालप्रसाद भट्टराई, बालचन्द्र शर्मालगायत साथ थिए । डिल्लीरमणको पार्टीमा पुष्पलाल श्रेष्ठ, प्रेमबहादुर कंसाकार, कृष्णप्रसाद रिमाललगायत थिए ।
तेस्रो महाधिवेशन : फेरि बीपी जेलमा, मातृका दोस्रो पटक नेतृत्वमा
बीपी कोइराला आन्दोलन हाँक्न वि. सं. २००५ कात्तिकमा काठमाडौँ पुगे । तर, काठमाडौँ पुगेको केही समयमै उनी गिरफ्तारीमा परे । नयाँ नेतृत्व छान्न नेपाली राष्ट्रिय कांग्रेसको तेस्रो अधिवेशन २००५ फागुन १८ मा दरभङ्गामा भयो ।
यो अधिवेशनले दोस्रो पटक मातृकालाई कार्यवाहक सभापति छान्यो । बालचन्द्र शर्मा पार्टीको प्रधानमन्त्री भए । २००६ जेठ १६ मा बीपी जेलबाट रिहा भएपछि पनि मातृका नै कार्यवाहक सभापति भइरहे । त्यति बेलासम्मा बीपीलाई क्यान्सर भएको पत्ता लागेको थियो । बीपी केही समय उपचारका लागि मुम्बई बस्न गएका थिए ।
चौथो महाधिवेशन : नेपाली कांग्रेसको जन्म
सुवर्ण र महावरशमशेरको पहलमा २००४ साउन १ मा कलकत्तामा नै नेपाल प्रजातन्त्र कांग्रेसको स्थापना भएको थियो । उक्त पार्टीको सभापति महेन्द्रविक्रम शाह र महामन्त्री सूर्यप्रसाद उपाध्याय थिए । पार्टी सदस्यमा सुन्दरराज चालिसे, ऋषिकेश शाह, थिरबम मल्ल र जीबी याक्थुम्बा थिए । पार्टीले सशस्त्र क्रान्तिबाट राणा शासन फ्याँक्ने नीति लिएको थियो । उनीहरूसँग पैसा भए पनि संगठन थिएन ।
यता राष्ट्रिय कांग्रेसको संगठन भए पनि यसका नेतासँग पैसा थिएन । दुवैलाई दुवैको आवश्यकता महसुस भएपछि बीपीले नै पार्टी एकताको पहल गरेका थिए । मुम्बईबाट उपचार गरेर फर्किएपछि उनले कलकत्तामा पहिला सूर्यप्रसाद उपाध्याय र पछि सुवर्णशमशेरलाई भेटेर एकताको पहल गरे ।
एकता अधिवेशन २००६ चैत २७ मा कलकत्तास्थित महावीरशमशेरको टाइगर सिनेमा हलमा भएको थियो । उक्त भेलामा रेग्मी समूहलाई पनि निम्ता गरिएको थियो । तर, उनीहरु सहभागी भएनन् र २०१५ सालसम्म उनको पार्टी छुट्टै अस्तित्वमा रहिरह्यो ।
सम्मेलनले पार्टीको नाम नेपाली कांग्रेस राख्यो र सभापति मातृकाप्रसाद कोइराला तथा महामन्त्री महेन्द्रविक्रम शाहलाई छान्यो । बीपीलाई सभापति बनाउने गणेशमान सिंहको प्रस्ताव थियो । तर, महावीरशमशेरले आपत्ती जनाएका थिए । किनभने सुरुमा नेपाली राष्ट्रिय कांग्रेसका सभापति नै नयाँ पार्टीको सभापति हुने सहमति थियो ।
पाँचौं महाधिवेशन : मातृका–बीपी द्वन्द्वले फुटतर्फ
२००७ सालमा प्रजातन्त्र आएपछि कांग्रेसको नेतृत्व गरेका बीपी सरकारमा सामेल भए । पार्टी सभापति मातृका नै थिए । तर, यी दुईबीचको द्वन्द्वले पार्टी कमजोर हुन थालेको थियो ।
कांग्रेसभित्रको आन्तरिक कलह र राणाहरूले गरिरहेको षडयन्त्र र कांग्रेस नेतामाथि गरिरहेको हमलाका कारण काठमाडौँ अशान्त हुँदै थियो । आन्दोलनहरू हुन थालेका थिए । यसैबीच बीपीले गृहमन्त्रीबाट राजीनामा थिए । राणा-कांग्रेस सरकार ढल्यो । त्यसपछि बीपी आफैँ प्रधानमन्त्री हुन चाहन्थे । तर, दरबार र भारतको साथ पाएका मातृका २००८ मंसिर १ मा प्रधानमन्त्री नियुक्त भए ।
तर, बीपी गुटले मातृका सरकारलाई सहयोग गरेन । भारतीय हस्तक्षेप, डा. केआई सिंहको विद्रोहजस्ता कारणले बीपी–मातृका विवाद बढ्यो । बीपीले ‘एउटै व्यक्ति प्रधानमन्त्री र कांग्रेस सभापति बन्न नहुने’ भन्दै एक पदबाट राजीनामा मागे । तर, मातृकाले अस्वीकार गरे ।
विवादकै बीच १०–१३ जेठ २००९ मा जनकपुरमा कांग्रेसको पाँचौं महाधिवेशन भयो ।
महाधिवेशनबाट बीपी सभापतिमा निर्वाचित भए । महामन्त्रीमा धनमानसिंह परियार र राजेश्वरीप्रसाद उपाध्याय निर्वाचित भएका थिए । त्यसलगत्तै पार्टीले सरकार शुद्धीकरणका लागि मातृकालाई केही निर्देशन दियो । तर, प्रधानमन्त्री मातृकाले पार्टी निर्देशन अस्वीकार गरे ।
पार्टीले २००९ साउन ८ मा मातृकालाई सरकारबाट राजीनामा दिन निर्देशन दियो । तर, साउन १० गते मातृकासहित नारदमुनि थुलुङ, महावीरशमशेर र महेन्द्रविक्रम शाहले केन्द्रीय कार्यसमितिबाट राजीनामा दिए । पार्टीले उनीहरुलाई कारबाही गरेर निकाल्यो ।
त्यसलगत्तै भद्रकाली मिश्रले नयाँ पार्टी ‘जन कांग्रेस’ गठन गरे । बालचन्द्र शर्मा, केदारमान व्यथित र भरतमणि शर्माले ‘नेपाली कांग्रेस वामपन्थी’ गठन गरे । यसरी नेपाली कांग्रेस चार चिरा भयो । मातृकाले पार्टीबाट कारबाही भोगेको १० महिनापछि २०१० वैशाख १६ मा आफ्नै नेतृत्वमा ‘राष्ट्रिय प्रजा पार्टी’ को स्थापना गरेका थिए ।
छैटौँ महाधिवेशन : गणेशमानसँगको प्रतिस्पर्धामा सुवर्ण विजयी
नेपाली कांग्रेसको छैटौँ महाधिवेशन २०१२ माघ १०-१२ वीरगञ्जमा भएको थियो । यो महाधिवेशनबाट नेपाली कांग्रेसले औपचारिक रूपमा समाजवादी नीति अख्तियार गरेको थियो । महाधिवेशनमा सुवर्णशमशेर र गणेशमान सिंहले सभापतिका लागि प्रतिस्पर्धा गरेका थिए ।
सुवर्णशमशेरले २३६ मत पाएर सभापतिमा निर्वाचित भए । गणेशमान सिंहले १७२ मत मात्र पाए । बीपी कोइरालाले सुवर्णशमशेरलाई समर्थन गरेका थिए ।
महामन्त्री विश्वबन्धु थापा र डा. तुलसी गिरी निर्वाचित भए । यो अधिवेशनबाट नै गिरिजाप्रसाद कोइराला पहिलो पटक केन्द्रीय कार्यसमितिमा निर्वाचित भएका थिए ।
विशेष महाधिवेशन : पार्टी एकता सुवर्णको सफलता
मातृकाप्रसाद कोइरालाको नेपाल प्रजा पार्टीलाई नेपाली कांग्रेससँग एकता गराएर सुवर्ण शमशेरले निकै ठूलो काम गरे । वास्तवमा त्यति बेलासम्म मातृकाको पार्टी निकै कमजोर भइसकेको कारण पनि उनलाई यो सफलता मिलेको थियो ।
उनको पार्टीको त्रिपुरेश्वरमा भएको महासमिति बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमा ‘बिनाशर्त नेपाली कांग्रेससँग मिल्ने’ उल्लेख थियो । डा. भूदेव राई, कुलचन्द्र कोइराला, त्रिपुरवरसिंह प्रधानलगायत पार्टी एकीकरणको पक्षमा थिए । तर, मातृकाले विरोध जनाए । उनको विरोध भए पनि पार्टीको निर्णयलाई आत्मसाथ गरेका थिए ।
२०१३ सालको भदौ–असोजमा नेपाल प्रजा पार्टी र नेपाली कांग्रेसको एकता भयो । सुवर्ण नै सभापति भए । तर, एकताबद्ध पार्टीको नेतृत्व बीपीले गर्नुपर्ने भन्दै उनीसँगको सल्लाहमा नै सुवर्णले सभापति पदबाट राजीनामा दिए ।
नेपाल कांग्रेसले नयाँ परिस्थितिमा २०१४ जेठ ११ र १२ गते विराटनगरमा विशेष महाधिवेशन गर्यो । पार्टी इतिहासमा भएको यो नै एक मात्र महाधिवेशन हो । महाधिवेशनबाट बीपी कोइराला सर्वसम्मत सभापति निर्वाचित भए । नवगठित कार्यसमितिको महामन्त्री डा. तुलसी गिरी र विश्वबन्धु थापा भए । केन्द्रीय कार्यसमितिका सदस्यरूमा सुवर्ण शमशेर, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, मातृकाप्रसाद कोइराला, कृष्णप्रसाद उपाध्याय, रामनारायण मिश्र, परशुनारायण चौधरी, श्रीभद्र शर्मा, नेवबहादुर मल्ल, देवानसिंह राई, भूदेव राई, बोधप्रसाद उपाध्याय, सूर्यनाथ दास यादव, गणेशकुमार शर्मा, राजदास श्रेष्ठ, एनडी प्रकाश, मिनबहादुर गुरुङ, प्रेमराज आङदम्बे, काशीनाथ गौतम, सुन्दरराज चालिसे थिए ।
सातौँ महाधिवेन : सभापति बन्न बीपीसँग भूदेव राईको प्रतिस्पर्धा
सातौँ महाधिवेशनको बेला नेपाली कांग्रेस सरकारमा थियो । २०१५ सालको निर्वाचनमा दुईतिहाई मतसहित बीपी कोइरालाले सरकार सञ्चालन गरेका थिए । त्यही परिस्थितिमा काठमाडौँको महाराजगञ्जस्थित लक्ष्मी निवासमा २०१७ वैशाख २५ देखि ३१ सम्म महाधिवेशन भएको थियो । यो महाधिवेशनमा ६ सयभन्दा बढी प्रतिनिधि सहभागी थिए ।
महाधिवेशनको पहिलो दिन नै पार्टी सभापति चयनका लागि निर्वाचन भएको थियो । सभापतिका लागि प्रधानमन्त्रीसमेत रहेका बीपी कोइरालाले उम्मेदवारी थिए । भूदेव राई पनि प्रतिस्पर्धामा उत्रिएपछि बीपी सर्वसम्मत हुन सकेनन् । तर, बीपी अत्यधिक बहुमतका साथ विजयी भए ।
यो महाधिवेशनले श्रीभद्र शर्मा र त्रिपुरवरसिंह प्रधानलाई महामन्त्रीमा निर्वाचित गरेको थियो । कोषाध्यक्षमा सुवर्णशमशेर चुनिए ।
केन्द्रीय कार्यसमिति सदस्यहरूमा सूर्यप्रसाद उपाध्याय, गणेशमान सिंह, मातृकाप्रसाद कोइराला, विश्वबन्धु थापा, गिरिजाप्रसाद कोइराला, रुद्रप्रसाद गिरी, केबी भट्टराई, सरोजप्रसाद कोइराला, गणेशकुमार शर्मा, हेमराज शर्मा अधिकारी, चिन्ताहरण सिंह, भूदेव राई, बलबहादुर राई, तेजमान तुम्बाहाम्फे, चन्द्रलाल श्रेष्ठ, डिके शाही, टंकनाथ काफ्ले, रामेश्वर श्रेष्ठ, दलकृष्ण श्रेष्ठ, राधाकृष्ण थारु, राधादेवी कँडेल, कृष्णलाल लेखक, दिलबहादुर बुढा, डिकबहादुर गुरुङ, लोकेन्द्रबहादुर शाह, देवनाथदास यादव र गिरीप्रसाद बुढाथोकी चुनिए । वासुदेव रिसाल कार्यालय सचिव तोकिए ।
आठौँ महाधिवेशन : ३१ वर्षपछि फर्किएको लोकतन्त्र
नेपाली कांग्रेसको सातौँ महाधिवेशन भएको आठ महिनामै राजा महेन्द्रले ‘कू’ गरे । त्यसपछि प्रधानमन्त्री तथा पार्टी सभापति बीपी कोइरालासहित गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायत धेरै नेता जेल परे । दलमाथि प्रतिबन्ध लाग्यो ।
सुवर्णशमशेर भने उपचारका लागि भारत गएकाले गिरफ्तारीबाट बचे । उनले २०१७ माघ १२ देखि १४ सम्म पटनामा विशेष सम्मेलन बोलाए । यो सम्मेलनमा अन्य पार्टीका नेताले पनि भाग लिएर नेपाली कांग्रेसमा प्रवेश गरे । यसरी भाग लिनेमा विघटित संसदमा नेपाल राष्ट्रवादी गोरखा परिषद्का प्रमुख सचेतक सुरेन्द्रप्रसाद उपाध्याय, नेपाल प्रजापरिषद् (मिश्र) का अध्यक्ष भद्रकाली मिश्र, संयुक्त प्रजातन्त्र पार्टी नेपालका महामन्त्री काशीप्रसाद श्रीवास्तव, तराई कांग्रेसका महामन्त्री रामजनम तिवारीलगायत थिए ।
उक्त सम्मेलनमा विघटित संसद्मा १०९ मध्ये ३९ जनाले भाग लिए, जसमा नेपाली कांग्रेसका निवर्तमान ३६ सांसद थिए ।
त्यस्तै केन्द्रीय कार्यसमितिका २१ मध्ये १३ जनाले भाग लिए । यो सम्मेलनले सुर्वणशमशेरलाई कार्यवाहक सभापति तोकेको थियो । यही सम्मेलनले पुस १ को शाही कदम फिर्ता लिएर राजबन्दी रिहा गर्नुपर्ने तथा विघटित संसद् पुनःस्थापना गर्नुपर्ने माग राखेर सशस्त्र आन्दोलनको घोषणा गरेको थियो । कांग्रेसको इतिहासमा यो दोस्रो सशस्त्र आन्दोलनको घोषणा थियो । तर, यो आन्दोलन सफल भएन ।
आठ वर्षपछि बीपी रिहा भएर भारत पुगे । सात वर्ष भारत बसेपछि २०३३ सालमा मेलमिलापको नीति लिएर नेपाल फर्किँदा पुनः पक्राउ परे । उनको उपचार गर्नुपर्ने भएपछि सरकारले रिहा गरिदियो । उनले २०३४ सालमा पटनामा कांग्रेस कार्यकर्ताहरूको सम्मेलन आयोजना गरे । सो सम्मेलन मार्फत बीपीले कार्यवाहक सभापतिको जिम्मेवारी कृष्णप्रसाद भट्टराईलाई सुम्पिए ।
सशस्त्र आन्दोलन असफल भएपछि त्यसको विपक्षमा रहेका भट्टराईलाई बीपीले कार्यवाहक सभापति बनाएका थिए । बीपीको निधनपछि २०३९ सालमा गणेशमान सिंहको निवासमा भट्टराई पुनः निर्विरोध कार्यवाहक सभापति चयन भए ।
पञ्चायत ढलेपछि २०४६ सालमा उनै भट्टराई प्रधानमन्त्री भए । तर, २०४८ सालको निर्वाचनमा उनको हार भएपछि महामन्त्री गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । त्यही वर्षको अन्त्यमा २०४८ फागुन १ देखि ३ सम्म आठौँ महाधिवेशन भयो । पञ्चायतकालमा पार्टीले महाधिवेशन गर्न सकेको थिएन । त्यसैले ३१ वर्षपछि बल्ल महाधिवेशन हुँदै थियो ।
योबीचमा नेपाली कांग्रेसका दुई महत्वपूर्ण संस्थापक नेता बीपी कोइराला र सुवर्णशमशेरको मृत्यु भइसकेको थियो । आठौँ महाधिवेशनबाट कृष्णप्रसाद भट्टराई निर्विरोध पार्टी सभापति निर्वाचित भए । यसरी उनी कार्यवाहक सभापति बनेको १४ वर्षपछि सभापति निर्वाचित भए ।
महाधिवेशनपछि गठित केन्द्रीय कार्यसमितिमा सर्वमान्य नेतामा गणेशमान सिंह भए । महामन्त्रीमा महेन्द्रनारायण निधि, सहमहामन्त्रीमा वासुदेव रिसाल, कोषाध्यक्षमा खनुप रुदे (रामबाबु) प्रसाईं, प्रवक्तामा तारानाथ रानाभाट, सदस्यहरुमा गिरिजाप्रसाद कोइराला, मंगलादेवी सिंह, नोना कोइराला, शेख इद्रिस, सुशील कोइराला, भूविक्रम नेम्वाङ, शैलजा आचार्य, ढुण्डिराज शास्त्री, भीमबहादुर तामाङ, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, चिरञ्जीवी वाग्ले, खुमबहादुर खड्का, सूर्यभक्त अधिकारी, महन्थ ठाकुर, मणि लामा थिए।
नवौँ महाधिवेशन : गिरिजाप्रसाद पहिलो पटक सभापति
नवौँ अधिवेशन २०५३ वैशाख २६–२८ मा काठमाडौँमा भएको थियो । यो महाधिवेशनका बेला नेपाली कांग्रेसभित्र कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला समूहबीच तीव्र प्रतिस्पर्धा थियो । कोइरालासँग रुष्ट रहेका गणेशमान सिंहले पार्टी छाडिसकेका थिए । तर, भट्टराई सभापतिका प्रत्यासी भने बनेनन् ।
यसअघिका महाधिवेशनमा कांग्रेस सभापतिका लागि मात्र निर्वाचन हुने गरेकोमा प्रत्येक विकास क्षेत्रबाट एक–एक सदस्य निर्वाचित हुने व्यवस्था गरिएको थियो । अन्य पद भने मनोनित नै थिए ।
कांग्रेसको सभापतिका लागि तीन जना गिरिजाप्रसाद कोइराला, चिरञ्जीवी वाग्ले, र रामहरि जोशी उम्मेदवार थिए । कुल खसेको १४१० मतमध्ये गिरिजाप्रसादले ११४४, वाग्लेले २५४ र जोशीले १२ मत पाएका थिए । महाधिवेशनपछि उपसभापतिमा शैलजा आचार्य, महामन्त्री सुशील कोइराला र तारानाथ रानाभाट मनोनीत भए । सदस्यहरु कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि, शेख इद्रिस, मंगलादेवी सिंह, नोना कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, ढुण्डिराज शास्त्री, भीमबहादुर तामाङ, खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, भीमप्रसाद श्रेष्ठ, महन्थ ठाकुर, कुलबहादुर गुरुङ, विजयकुमार गच्छदार, ओमकारप्रसाद श्रेष्ठ, तारिणीदत्त चटौत, डा. रामवरण यादवलगायत थिए । गच्छदार पूर्वाञ्चलबाट, तामाङ मध्यमाञ्चलबाट, कोइराला मध्यपश्चिमाञ्चलबाट, पौडेल पश्चिमाञ्चलबाट र देउवा सुदूरपश्चिमाञ्चलबाट निर्वाचित भएका थिए ।
दशौँ महाधिवेशन : सभापतिमा गिरिजा, देउवा र जोशीको दाबी
कांग्रेसको दशौँ महाधिवेशन २०५७ माघ ६ गतेदेखि ९ गतेसम्म पोखरामा भएको थियो । यो महाधिवेशनबाट केन्द्रीय कार्यसमितिका ५० प्रतिशत सदस्य निर्वाचित गर्ने प्रावधान राखियो । जसअनुसार केन्द्रीय कार्यसमितिमा रहने १८ जना सदस्यको पनि निर्वाचन भयो ।
महाधिवेशनमा सभापतिका लागि गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र रामहरि जोशी प्रतिस्पर्धामा थिए । कोइराला र जोशी दोस्रो पटक प्रतिस्श्पर्धा गर्दै थिए भने देउवा पहिलो पटक उम्मेदवार बनेका थिए । गिरिजाप्रसाद ९३६ मतसहित विजयी भए । देउवाले ५०७ र जोशीले १० मत पाए । १८ जना केन्द्रीय सदस्यमा रामचन्द्र पौडेलले सर्वाधिक १०१५ मत पाए । त्यसैगरी शैलजा आचार्य, प्रकाशमान सिंह, खुमबहादुर खड्का, प्रकाश कोइराला, महेश आचार्य, सुशील कोइराला, प्रदीप गिरि, नरहरि आचार्य, अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला, बलदेव मजगैया, महन्थ ठाकुर, बलबहादुर राई, विजयकुमार गच्छदार, गोविन्दराज जोशी, विमलेन्द्र निधि, चिरञ्जीवी वाग्ले केन्द्रीय सदस्यमा निर्वाचित भए । सभापति कोइरालाले महामन्त्रीमा सुशील कोइराला र प्रवक्तामा नरहरि आचार्यलाई नियुक्त गरे।
११औँ महाधिवेशन : फुटको महाधिवेशन
२०५९ सालमा नेपाली कांग्रेस विभाजन भयो । शेरबहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) बन्यो । उप-सभापतिमा चिरञ्जीवी वाग्ले, महामन्त्रीमा खुमबहादुर खड्का, सहमहामन्त्री विजयकुमार गच्छदार र सदस्यहरुमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, प्रदीप गिरीलगायत थिए ।
यता गिरिजाप्रसाद कोइराला नेतृत्वको नेपाली कांग्रेसले २०६२ भदौ १४–१७ ललितपुरमा ११औँ महाधिवेशन गर्यो । उक्त महाधिवेशनबाट गिरिजा तेस्रोपटक सभापति बने । उनलाई नरहरि आचार्यले चुनौती दिएका थिए । तर, गिरिजाले एक हजार २१५ मत पाउँदा आचार्यले १६५ मत मात्र पाए । उपसभापति सुशील कोइराला र रामचन्द्र पौडेल मनोनित भए । यता नेपाली कांग्रेस प्रजातान्त्रिकले २०६२ पुस २१–२४ महाधिवेशन गरेर देउवालाई नै सभापति बनायो । उपसभापति प्रकाशनमान सिंह र गोपालमान श्रेष्ठ भए ।
कांग्रेसको दशौँ महाधिवेशनले सभापतिमा निरन्तर दुईपटकभन्दा बढी सभापतिको उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको थियो । तर, केन्द्रीय कार्यसमितिको बहुमतले दशौँ महाधिवेशनबाट मात्र विधान संशोधन भएकाले कोइराला तेस्रोपटक सभापति बन्न बाधा नपर्ने व्याख्या गरेर उनका लागि बाटो खुला गरिदिएको थियो ।
२०६४ आसोज ७ गते ललितपुरमा भएको सम्मेलनबाट दुई पार्टी मिले । गिरिजाप्रसाद कोइराला सभापति र शेरबहादुर देउवा वरिष्ठ नेता भए । कार्यवाहक सभापति सुशील कोइराला भए भने रामचन्द्र पौडेल उपसभापति भए ।
१२औँ महाधिवेशन : सुशील कोइरालाको निरन्तरता
१२औँ महाधिवेशन २०६७ असोज १–५ मा काठमाडौँमा भएको थियो । यो महाधिवेशनमा सभापतिका लागि सुशील कोइराला र शेरबहादुर देउवाबीच प्रतिस्पर्धा भएको थियो । यो महाधिवेशनबाट सभापतिमा सुशीला कोइराला १६५२ मतसहित निर्वाचित भए । देउवाले १३१७ मत पाए भने तेस्रो धारका भीमबहादुर तामाङले ७८ मत पाए । देउवा वरिष्ठ नेतामा मनोनीत भए ।
१३औँ महाधिवेशन : तेस्रो प्रयासमा देउवाको सफलता
२०७२ फागुन २०–२३ मा काठमाडौँमा भएको महाधिवेशनमा भने देउवा र रामचन्द्र पौडेल प्रतिस्पर्धी थिए । यो महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भए । देउवाले १८२२ मत पाए । पौडेलले भने १२९६ मत पाए । यसअघि पहिलो चरणको मतदानमा देउवाले १५६४, पौडेलले ११६० र कृष्णप्रसाद सिटौलाले ३२४ मत पाएका थिए ।
उनले २०५७ सालमा पहिलो पटक र २०६७ सालमा दोस्रो पटक सभापतिका लागि प्रयास गरेका थिए । दुवै पटक कोइराला परिवार (गिरिजा र सुशील)सँग उनी पराजित भएका थिए । १३औँ महाधिवेशनको २५ दिनअघि मात्र सुशील कोइरालाको निधन भएपछि संस्थापन पक्षबाट रामचन्द्र पौडेल उम्मेदवार बनेका थिए ।
(महाधिवेशनको सङ्घारमा रहेको कांग्रेसबारेका विभिन्न पक्षलाई समेटेर हामीले ‘कालक्रममा कांग्रेस’ श्रृङ्खला सुरु गरेका छौँ । तपाईँको अमूल्य सुझाव तथा सरसल्लाहको अपेक्षा गर्दछौँ । -सम्पादक)