कालक्रममा कांग्रेस-२

२००७ सालको क्रान्ति : सुवर्णको सशस्त्र संघर्षको नीतिमा बीपी सहमत, गिरिजाको विरोध

काठमाडौँ । बीपी कोइराला भारतीय स्वतन्त्रता सङ्ग्राममा भाग लिएर जेलसमेत परेका थिए । उनी अहिंसात्मक आन्दोलनको पक्षमा थिए । यता गणेशमान सिंह प्रजा परिषद्का सदस्य थिए । प्रजा परिषद् भने नेपालमा हिंसात्मक आन्दोलनको पक्षमा थियो । नेपाली राष्ट्रिय कांग्रेस स्थापना हुनुपूर्व यी दुई नेताबीच भेट भएको थियो । दुई फरक धारका नेता एउटै पार्टी स्थापना स्थापनको छलफलमा जुटेका थिए ।

पहिलो भेटको भोलिपल्ट नै बीपी भाइ तारिणीप्रसाद कोइरालालाई लिएर गणेशमानलाई भेट्न उनी बसेको कलकत्तास्थित खाल्सा होटेल पुगे । त्यहाँ पुनः नयाँ पार्टी गठनबारे छलफल भयो । यसअघि नै बनारसमा गठन भएको अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको कलकत्ता समितिले नयाँ पार्टी गठनका लागि सम्मेलनको तयारी गरिरहेको थियो । पार्टीको स्वरूप, नाम झण्डा र विधानबारे छलफल चलिरहेको थियो ।

उक्त भेटमा बीपीले गणेशमानलाई अब गठन हुने पार्टी अहिंसात्मक हुने बताए । त्यसो हुँदा भारत र नेपालमा संगठन विस्तारमा अप्ठ्यारो नपर्ने उनको तर्क थियो । अहिंसात्मक आन्दोलनबाटै एकतन्त्रीय शासनलाई परास्त गर्न सकिने उनले बताएका थिए । बीपीको भनाइको गणेशमानले प्रतिवाद गरेनन् ।

नेपाली राष्ट्रिय कांग्रेसको पहिलो सम्मेलन १२-१३ माघ २००३ मा हुँदा गणेशमान सिंहले पार्टीको नाम नेपाल प्रजा परिषद् राख्ने र पुरानै पार्टीलाई देशैभरि पुनः संगठित गराउने प्रस्ताव गरे । वास्तवमा उनी प्रजा परिषद्को सदस्यकै रूपमा उक्त सम्मेलनमा भाग लिएका थिए । तर, प्रजा परिषद् हिंसात्मक पार्टी भएको भन्दै उक्त नाम राख्न सम्मेलनमा अस्वीकार गरियो । त्यस नामको विरोध गर्नेमा डीएन प्रधान, गोपालप्रसाद भट्टराई लगायत थिए । यसबाट स्पष्ट हुन्छ कि नेपाली राष्ट्रिय कांग्रेस जन्मजात अहिंसात्मक पार्टी थियो । यो पार्टी भारतीय स्वतन्त्रता सङ्ग्राममा महात्मा गान्धीको आन्दोलनबाट प्रेरित थियो ।

नेपाली राष्ट्रिय कांग्रेस गठन हुनुअघि नै बीपीलगायत यसका नेता भारतीय स्वतन्त्रता सङ्ग्राममा सहभागी भएर जेलै पनि परेका थिए । जस्तो, ‘भारत छोडो’ आन्दोलनलाई सहयोग गर्ने डिल्लीरमण रेग्मी, गोपालप्रसाद भट्टराई, कृष्णप्रसाद भट्टराई लगायतलाई भारतको अङ्ग्रेज सरकारले पक्राउ गरेर केही समय थुनेको थियो । बीपी कोइराला भारतीय समाजवादी नेताहरू डा. राममनोहार लोहिया र जयप्रकाश नारायण, आचार्य नरेन्द्रदेव, अच्युत पटवर्धनहरुसँग नजिक थिए । ती नेताहरू महात्मा गान्धीको अहिंसात्मक आन्दोलनलाई समर्थन गर्थे ।

नेपाली राष्ट्रिय कांग्रेसको पहिलो सम्मेलनमा चौथो प्रस्ताव पेस गर्ने क्रममा बीपीले पार्टीको चरित्र अहिंसात्मक हुने उल्लेख गरेका थिए । उनले उक्त प्रस्तावमा प्रजा परिषद् कार्यकर्तालाई यसरी आह्वान गरेका थिए, ‘नेपाली राष्ट्रिय कांग्रेसको योजनाअनुसार प्रकट रूपले अहिंसात्मक जनक्रान्ति गर्नमा हाम्रो सहायक बन्न आउन् । आशा छ, नेपाल प्रजा परिषद् नेपाली राष्ट्रिय कांग्रेसलाई आफ्नै संस्था ठानी आफ्नु बहुमूल्य सहयोग प्रदान गर्नेछ ।’

त्यसक्रममा उनले प्रजा परिषद्को आन्दोलनले राष्ट्रमा नवीन चेतना ल्याएर नवयुगतर्फ जान सहयोग गरेको भन्दै प्रशंसा पनि गरेका थिए । तर, समयानुकूल परिवर्तन गर्नुपरेकाले अब जनआन्दोलनबाट उद्देश्य प्राप्त गर्न प्रयास गर्ने बीपीको प्रस्तावमा उल्लेख थियो । नेपाली राष्ट्रिय कांग्रेसले आफ्नो दुई बुँदे उद्देश्यको पहिलो नम्बरमा पनि अहिंसात्मक साधनद्वारा जनताको सहयोगले जनउत्तरदायी सरकारको स्थापना गर्ने उल्लेख थियो ।

नेपाल प्रजातन्त्र कांग्रेसको हिंसात्मक नीति
बीपी कोइरालाले नयाँ पार्टी स्थापनाबारे सूर्यप्रसाद उपाध्यायमार्फत सुवर्णशमशेर जबरासँग पनि छलफल गरेका थिए । उनले पार्टीमा संलग्न हुन र आर्थिक सहयोग गर्न आग्रह गरेका थिए । बीपीले महावीरशमशेर जबरालाई समेत भेटेर पार्टी स्थापनाबारे जानकारी गराउँदै आर्थिक सहयोग मागेका थिए । दुवै जनाले २५ हजारका दरले जम्मा ५० हजार रुपैयाँ सहयोग पनि गरेका थिए। (आत्मवृत्तान्त, बीपी कोइराला)

तर, सुवर्ण र महावीर नेपाली राष्ट्रिय कांग्रेसमा भने आबद्ध भएनन् । वास्तवमा उनीहरुलाई अहिंसात्मक आन्दोलनबाट राणा शासनको अन्त्य गर्न सकिन्छ भन्ने विश्वास नै थिएन । राणा शासनको चरम अप्रजातान्त्रिक चरित्र र शासकहरूको क्रूर स्वभावका कारण अहिंसात्मक आन्दोलनलाई उनीहरूले कुनै पनि हालतमा दबाउँछन् भन्ने उनीहरूको धारणा थियो । त्यसकारण सुवर्ण र महावीरशमशेर तथा उनीहरू निकटका सूर्यप्रसाद उपाध्याय, महेन्द्रविक्रम शाह, राजेश्वरीप्रसाद उपाध्याय लगायतले नेपाली राष्ट्रिय कांग्रेसको सम्मेलनमा भागै लिएनन् ।

कालक्रममा कांग्रेस -१
नेपाली कांग्रेस : स्थापनाको ७५ वर्ष, १३ महाधिवेशन, आठ जनाको नेतृत्व

बरु उनीहरू पाँच जनाको प्रयासमा १ साउन २००५ मा कलकत्तामा भएको भेलाले नयाँ प्रजातान्त्रिक पार्टी बनाउने निर्णय गर्‍याे । त्यसको स्टेरिङ कमिटीमा उनीहरू पाँच जना नै सदस्य थिए । पछि २००५ सालको कोजाग्रत पूर्णिमाको दिन स्टेरिकङ कमिटीको बैठकले पार्टी स्थापनाको निर्णय गरेर नाम ‘नेपाल प्रजातन्त्र कांग्रेस’ राख्यो ।

उक्त पार्टीको पहिलो अधिवेशन १५ पुस २००५ मा कलकत्तास्थित महावीरशमशेरको टाइगर सिनेमा हलमा भयो । त्यस अधिवेशनमा नेपालबाट गएकाहरूका साथै भारतीय ब्रिटिस सेनाका केही भूतपूर्व सैनिक तथा आजाद हिन्द फौजसित सम्बद्ध केही व्यक्ति पनि सहभागी थिए । त्यही अधिवेशनले पार्टी सभापतिमा महेन्द्रविक्रम शाह, महामन्त्रीमा सूर्यप्रसाद उपाध्याय, कोषाध्यक्षमा राजेश्वरीप्रसाद उपाध्याय र सहायक महामन्त्रीमा प्रेमबहादुर कंसाकारलाई चयन गर्‍याे । यसका सदस्यमा सुवर्णशमशेर, महावीरशमशेर, सुन्दरराज चालिसे, बाबुलाल मोक्तानलगायत थिए ।

यो पार्टीको पहिलो उद्देश्य थियो, ‘श्री ५ महाराजाधिराजको मुक्ति र नेपालमा जन राज्यको स्थापना गर्ने ।’ तर, यो उद्देश्य प्राप्त गर्ने प्रक्रिया भने नेपाली राष्ट्रिय कांग्रेसको भन्दा ठिक विपरीत थियो, सशस्त्र संघर्ष । त्यही अनुरूप यो पार्टीले सैन्य संगठन बनाउन सैनिक भर्ती थाल्यो । त्यसको जिम्मा जीबी याक्थुम्बा र पुरनसिंह खवासलाई दिइएको थियो ।

उनीहरूले आजाद हिन्द फौजसित सम्बद्ध व्यक्ति तथा बर्मा र भारतमा रहेका भूतपूर्व सैनिकहरूको संगठन गर्न विभिन्न ठाउँमा क्याम्प राखेका थिए । नेपालका बहालवाला सैनिकहरूलाई राणाहरूको विरोधमा भड्काउने जिम्मेवारी दिएर सुन्दरराज चालिसेलाई काठमाडौँ पठाइएको थियो । त्यसैगरी हतियार संकलनको जिम्मा सूर्यप्रसाद उपाध्यायलाई दिइयो । थिरबम मल्ल पनि हतियार संकलनमा लागेका थिए ।

उनीहरू हतियार संकलन गरी पाल्पा र बुटवल कब्जाको तयारी पनि गरिरहेका थिए । भूमिगत रूपमा काम गर्थे । यता उनीहरूका नेता सुवर्णशमशर, महावीरशमशेर, सूर्यप्रसाद उपाध्यायलगायत भने नेपाली राष्ट्रिय कांग्रेससँग पार्टी एकताको पहलमा लागेका थिए ।

नेपाली कांग्रेसको स्थापना, हिंसात्मक आन्दोलनको अवलम्बन
दुई कांग्रेस पार्टीको एकताको पहल सुरुमा बीपी कोइरालाबाटै भएको थियो । पार्टी एकताका लागि भारतीय समाजवादी दल र भारतीय राष्ट्रिय कांग्रेसका नेताले पनि सल्लाह दिएका थिए । तर, त्यसलाई नेपाल प्रजातन्त्र कांग्रेसका नेताले महत्त्व दिएका थिएनन् । पछि सुवर्णशमशेरले नै एकताका लागि चासो व्यक्त गरेपछि उनको प्रस्ताव लिएर सूर्यप्रसाद उपाध्याय बीपीसमक्ष पुगेका थिए ।

नेपाली राष्ट्रिय कांग्रेससँग बलियो संगठन थियो । नेपाल प्रजातन्त्र कांग्रेसँग प्रशस्त पैसा थियो । सुवर्णशमशेरलाई संगठनबिना क्रान्ति पार लाग्दैन भन्ने लागिसकेको थियो । उनीहरूले खर्च गरेको पैसाबाट उपलब्धि हासिल भइरहेको थिएन । यता, नेपाली राष्ट्रिय कांग्रेससँग आन्दोलनका लागि खर्च गर्ने पैसा थिएन ।

यस्तो अवस्थामा बीपी र सुवर्णले अनेकपटक वार्ता गरेर दुई पार्टी मिलाउने निर्णय गरे । २००६ फागुन २५ मा दुवै पार्टीका शीर्ष नेताको बैठकले पार्टी एकताको निर्णय गर्‍यो । भोलिपल्ट प्रजातन्त्र कांग्रेसका अध्यक्ष महेन्द्रविक्रम शाह र राष्ट्रिय कांग्रेसका अध्यक्ष मातृकाप्रसाद कोइरालाले संयुक्त विज्ञप्ति प्रकाशित गरी पार्टी एकता हुने जानकारी दिए । त्यसको १९ दिनपछि १४ चैतमा अर्को संयुक्त विज्ञप्ति जारी गरी एकताका लागि वृहत् सम्मेलन हुने जानकारी दिइएको थियो ।

दुवै पार्टीको संयुक्त अधिवेशन २७ चैत २००६ देखि कलकत्ताको टाइगर सिनेमा हलमा सुरु भयो । तीन दिन चलेको अधिवेशनको पहिलो दिन नै पार्टीको नाम ‘नेपाली कांग्रेस’ राखियो । त्यसै दिन यसको कार्यसमिति पनि बन्यो, जसमा अहिंसावादी नेता मातृकाप्रसाद कोइराला सभापति छानिए ।

तर, नेपाली कांग्रेसले पारित गरेको राजनीतिक प्रस्तावमा भने नेपाली राष्ट्रिय कांग्रेसले लिइराखेको अहिंसात्मक आन्दोलनको नीतिलाई हटाइयो । बीपीले प्रस्ताव गरेको ‘नेपाली कांग्रेसको घोषणापत्र’मा शान्तिपूर्ण उपायको सट्टा ‘जुनसुकै उपायद्वारा राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गर्ने’ उल्लेख थियो । यो वास्तवमा बीपीको भन्दा पनि सुवर्णशमशेरको लाइन थियो । नेपाली राष्ट्रिय कांग्रेसकै गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गोपालप्रसाद भट्टराई लगायत नेता राणा शासनविरुद्ध अब अहिंसात्मक आन्दोलनबाट पार नलाग्ने निष्कर्षमा पुगिसकेका थिए । यो कुरा उनीहरूले बीपीसँग गरिसकेका थिए । उता भारतीय समाजवादी नेता जयप्रकाश नारायणको पनि यसमा सहमति भएकाले बीपीलाई आफ्नो अहिंसात्मक आन्दोलनको नीति त्याग्न दबाब परेको थियो ।

सम्मेलनमा बीपीले ‘जुनसुकै उपायद्वारा’ आन्दोलनमा जान सक्ने गरी प्रस्ताव गरेपछि गिरिजाप्रसाद कोइरालाले विरोध गरे । जुनसुकै उपाय भन्नाले हिंसात्मक उपाय पनि आउने हुनाले त्यसलाई राख्न नहुने उनको तर्क थियो । केही व्यक्तिले गिरिजाको समर्थन पनि गरेका थिए । तर, बहुमतले बीपीको प्रस्ताव पारित गरे ।

बीपी यसरी अहिंसावादीबाट एकाएक परिवर्तन हुनुमा सुवर्णशमशेरको नै बढी हात थियो। पार्टी एकताअघि दुई नेताबीच बारम्बार भएको भेटमा नेपाली प्रजातन्त्र कांग्रेसले सशस्त्र संघर्षका लागि गरेको तयारीबारे सुवर्णशमशेरले जानकारी दिइसकेका थिए । उनीहरू हतियार संकलन, सैन्य तालिमदेखि ‘एक्सन’को सम्म तयारी गरेका थिए । त्यसमा बीपी सहमत भएर नै पार्टी एकता सम्भव भएको थियो ।

त्यसो त सुवर्णसँग एकताअघि नै नेपाली राष्ट्रिय कांग्रेसले पनि हतियार बटुलेको प्रमाण झरोखर काण्ड पनि हो । झरोखरमा गाउँलेलाई संगठित गरी बन्दुक चलाउने तालिम गर्न थालिएको थियो । तर, एक दिन प्रहरीले घेरा हाली रामबाबु प्रधानलाई समात्यो । रामबाबुलाई छुटाउन केदारमान व्यथितले गोली चलाए । उक्त गोली रामबाबुलाई समाउने प्रहरीको तिघ्रामा लागेको थियो । यसरी उनीहरूबाट सशस्त्र संघर्षको सुरुवात भएको थियो । तर, यसमा नेपाली राष्ट्रिय कांग्रेसका सबै नेताको सहमति थिएन ।

यस्तो थियो सशस्त्र आन्दोलनको तयारी
नेपाली कांग्रेसले २००७ साल असोज १० र ११ गते भारतको बैरगनिया रेलवे स्टेसनदेखि दक्षिणतर्फ रहेको एउटा राइस मिलको गोदामघरमा राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो । उक्त सम्मेलनमा नेपालका सबै क्षेत्रबाट करिब २०० जनाको सहभागिता थियो । सम्मेलन भारतीय भूमिमा भएकाले ‘नेपाली कांग्रेसले नेपालभित्रै काम गर्नेछ र सशस्त्र आन्दोलनको रूप लिनेछ’ भन्ने ऐतिहासिक महत्त्वको प्रस्ताव पारित गर्‍याे ।

तर, त्यो सम्मेलनअगाडि नै कांग्रेसले सशस्त्र आन्दोलनको तयारी थालिसकेको थियो । २००७ साल असार ७ गते नै सैन्य तालिम सुरु भएको थियो । साथै, थिरबम मल्ललाई हतियार संकलनको जिम्मा दिइएको थियो । उनले १० दिनमा नै केही हतियार जम्मा पारी बुझाएका पनि थिए । तर, त्यतिले मात्र पर्याप्त नहुने भएपछि अन्य उपाय खोज्न थालिएको थियो । पछि महावीर शमशेरको हवाईजहाज प्रयोग गरी बर्माबाट हतियार ल्याइएको थियो ।

यता बैरगनिया सम्मेलनले नेपाललाई चार मोर्चामा विभाजन गरी आन्दोलनको तयारी थालेको थियो । यो आन्दोलनमा धेरै भारतीयहरू पनि स्वयंसेवकको रूपमा सहभागी भए । आन्दोलनको कमान्डर ‘अहिंसावादी’ मातृकाप्रसाद कोइरालालाई बनाइयो । नेपाली कांग्रेस सभापति उनै भएकाले पनि त्यो बाध्यतामा पार्टी थियो । तर, आन्दोलनका वास्तविक कमान्डर भने बीपी नै थिए । त्यही आन्दोलनले राणा शासन बढारेको थियो ।

(महाधिवेशनको सङ्घारमा रहेको कांग्रेसबारेका विभिन्न पक्षलाई समेटेर हामीले ‘कालक्रममा कांग्रेस’ श्रृङ्खला सुरु गरेका छौँ । तपाईँको अमूल्य सुझाव तथा सरसल्लाहको अपेक्षा गर्दछौँ ।  -सम्पादक)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *