काभ्रेमा एकीकृत-समाजवादीको संगठन विस्तार तीव्र
काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत-सामाजवादी)ले काभ्रेपलाञ्चोकमा संगठन विस्तारलाई तीव्रता दिएको छ । सो पार्टीले एकै दिन तीन वडासम्ममा कमिटी गठन गरेको हो । गत शनिबार मात्रै नमोबुद्ध नगरपालिका-२, रोशी गाउँपालिका-६ र तेमाल गाउँपालिका-२ मा वडा कमिटी गठन भएको पार्टीले जनाएको छ ।
रोशी-६ मा भने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको उपस्थितिमा वडा कमिटी गठन भएको हो । स्थानीय तहमा कमिटी निर्माणपछि पार्टीको हप्ताअघि बसेको बैठकले काभ्रेमा संगठन विस्तारको अभियानलाई थप तीव्रता पार्ने निर्णयअनुसार अघि बढिएको जनाइएको छ ।
काभ्रेमा धमाधम पार्टी वडा कमिटी तथा जनवर्गीय सङ्गठन निर्माण भइरहेको जिल्ला सचिव दिपक गौतमले जानकारी दिए । उनका अनुसार आउँदो पुस १५ गतेसम्म सबै वडामा कमिटी गठन भैसक्ने छन् । जिल्लाको छ नगर र सात गाउँपालिकामा १३५ वडा छन् । हालसम्म ६० वडामा कमिटी गठन भइसकेको गौतमले जानकारी दिए । “वडा कमिटी गठन गर्न जिल्ला तथा केन्द्रीय नेतालाई जिम्मेवारी तोकिएअनुसार तीव्ररुपमा भइरहेको छ, आउँदो पुस १५ सम्म सक्ने योजनाअनुसार गाउँस्तरमा लागेका छौँ”, उनले भनृ।
मण्डनदेउपुर नगरका सबै वडामा कमिटी निर्माण भइसकेको उक्त पार्टीका जिल्लाध्यक्ष टोकबहादुर वाइवाले बताए । वाइवा उक्त नगरको प्रमुखसमेत रहेका छन् । पार्टीले विशेष गरी वडास्तरमा पार्टी कमिटीसँगै युवा, महिला र किसान जनवर्गीय सङ्गठन घोषणा गरिरहेको छ । “हामी क्रमैसँग जनवर्गीय संगठनसमेत गठन गर्दै जाने योजना बनाएका छौँ”, वाइवाले भने।
नेकपा एमालेसँग विभाजन भएसँगै निर्माण भएको उक्त पार्टीमा गत भदौ अन्तिमसाता काभ्रेमा निर्वाचित ५६ जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालय धुलिखेलमा सनाखत गरेका थिए । तत्कालीन एमाले नेतृत्वले एकलौटी ढङ्गले पार्टी सञ्चालन र मनोमानीरुपमा एकल निर्णय गर्दै एकोहोरो अघि बढेकाले वरिष्ठ नेता माधवकुमार नेपालसँगै नयाँ कम्युनिष्ट पार्टी निर्माणको अभियानमा लाग्नुपरेको वाइवाले बताए।
उक्त पार्टीमा काभ्रेपबाट नेतृत्व गरेका एमालेबाट निर्वाचित पूर्वसांसदत्रय शिवबहादुर देउजा, कृष्णप्रसाद सापकोटा र विदुर सापकोटा रहेका छन् । देउजा हाल समाजवादीमा केन्द्रीय अनुशासन आयोग अध्यक्ष हुन् भने कृष्णप्रसाद पोलिटब्युरो सदस्य र सापकोटा केन्द्रीय सदस्य रहेका छ । जिल्लामा हालका दुई प्रदेश सांसद पनि समाजवादीका हुन् ।